मुख्य प्रशिक्षक अल्मुताइरीले गरे पद त्यागको घोषणा

लोकपथ
10.1k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनलपछि राजीनामा दिने घोषणा गरेका छन् ।

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्धको खेलपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै अल्मुताइरीले पद त्यागको घोषणा गरेका हुन् ।

अल्मुताइरीले नेपाललाई साफको फाइनलमा पुर्राएर इतिहास रचेको र फाइनल आफ्नो अन्तिम खेल भएको बताएका छन् ।

“मैले साफमा इतिहास बनाए । मैले एसिया कपमा छनोट गराए । आज नेपालले मात्र हैन दक्षिण एसियाली क्षेत्रले नेपाली टिमसँग गर्व गर्छ,” प्रशिक्षक अल्मुताइरीले भने, “फाइनल खेल नेपाली राष्ट्रिय टिमसँग मेरो अन्तिम खेल हुनेछ । म त्यसपछि नेपाल फर्किन्न ।”

नेपाल माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रुगेको छ । आज बुधबार भएको खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।

योसँगै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

अब नेपालले फाइनलमा भारत र माल्दिभ्स मध्येको विजेतासँग भिड्नेछ । बंगलादेश भने च्याम्पियनसिपबाट बाहिरिएको छ।

भारत र माल्दिभ्सबीच आजै प्रतिस्पर्धा हुनेछ । फाइनल पुग्न माल्दिभ्सलाई बराबरीले पुग्नेछ । भारतलाई भने जितको बिकल्प छैन ।

मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा एक गोलको अग्रता उल्टाउदै नेपालले बराबरी खेलेको हो ।

खेलको नवौं मिनेटमा सुमन रेजाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ८८ औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई हारबाट जोगाए।

बंगलादेशसँगको बराबरीसँगै नेपालले ४ खेलमा ७ अंक जोड्यो । नेपाल शीर्ष स्थानमा यथावत रहेको छ ।

बंगलादेश ४ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । यस्तै माल्दिभ्स ३ खेलमा ६ अंक जोडेर दोस्रो र भारत ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?