दुर्व्यवहार गर्दै वृद्धामाथि कुटपिट, एक पक्राउ

झापा । इलामको रोङ गाउँपालिका–१ कटहरेकी एक वृद्धामाथि मरणासन्न हुनेगरी कुटपिट गरिएको छ । 

आइतबार राति करीब ११ बजे उनलाई आफ्नै घरमा केही युवाले दुर्व्यवहार गरी मरणासन्न हुनेगरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक गणेश बस्नेतले जानकारी दिए । उनका अनुसार पीडक युवाले ती वृद्धाको जिब्रोसमेत थुतिदिएका छन् । 

“बलात्कार भएको हो भन्ने कुरा पनि आइरहेको छ,” उनले भने– “हामी अनुसन्धानमा छौँ । बलात्कार हो वा होइन भन्ने अस्पतालको रिपोर्ट आएपछि मात्र थाहा हुन्छ ।” 

पीडित वृद्धाको झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । उनको शल्यक्रिया गरी चुँडिन लागेको जिब्रो जोडिएको प्रहरीले जनाएको छ । 

उनकी छोरी शान्ति राईले घटना एकदमै दुःखदायी भएको भन्दै न्यायका लागि अपिल गर्नुभएको छ । अपरिचित व्यक्तिले वृद्धा आमालाई घरमै बलात्कार गरेको उहाँको आरोप छ । 

यता, घटनामा संलग्न भएको आरोपमा प्रहरीले रोङ गाउँपालिका–४ का २३ वर्षीय सुदीप गुरुङलाई पक्राउ गरेको छ । 

“घटनामा संलग्नको खोजी भइरहेको बताउँदै उनले भने, “एकजना पक्राउ गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको छ । दोषीलाई छाड्दैनौँ ।” 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?