साफ च्याम्पियनसिप : नयाँ इतिहाँस रच्ने लक्ष्यमा नेपाल

लोकपथ
4.6k
Shares

काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल नयाँ इतिहाँस रच्ने लक्ष्यमा रहेको छ । सुरुआती दुई खेलमा रोमाञ्चक जित निकालेको नेपाल तेस्रो खेलमा भने भारतसँग अन्तिम ८ मिनेट सम्हालिन नसक्दा स्तब्ध हुन पुग्यो । भारतसँग आइतवार पराजित भएसँगै साफ च्याम्पियनसिपमा शीर्ष दुईमा उक्लिने चार राष्ट्रबीचको प्रतिस्पर्धा थप रोचक बन्न पुगेको छ ।

साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतसँग नेपाल अन्तिम ८ मिनेट सम्हालिन नसक्दा एक खेल अगावै फाइनल पुग्ने लक्ष्य आइतबार अधुरै रह्यो । नेपाली मुलका खेलाडी सुनिल क्षेत्रीले नेपालको पोस्टमा निर्णायक गोल गरेपछि नेपाल स्तब्ध हुन पुगेको थियो । साफ च्याम्पियनसिपमा २८ वर्ष लामो संघर्ष गरेको नेपालको फाइनल पुग्ने यात्रा भारतसँगको पराजयसँगै एक खेल पर धकेलिएको थियो । यसले नेपाललाई फाइनल पुग्नबाट रोक्दा शीर्ष दुईमा अटाउने होडबाजी निकै रोमाञ्चक भएको छ । प्रतिस्पर्धा गर्ने चारै टोलीलाई सुखद नतिजाले अघिल्लो चरण सम्भावन छ । बुधबार बंगलादेशसँगको खेलमा नेपाली टोली फाइनल पुग्ने लक्ष्य भएको भन्दै जितका लागि खेल्ने नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले बताए ।

अब लिगको अन्तिम खेलको नतिजाले आयोजक माल्दिभ्ससँगै नेपाल, भारत, बंगलादेशको टुङ्गो लाग्ने छ । सोही कारण जारी साफ निकै रोमाञ्चक बन्न पुगेको छ । श्रीलंकाले ४ खेल खेल्दा अन्य टोलीले ३-३ खेल खेलेका छन् । लिग तालिकामा समान ६ अंक भए पनि गोल अन्तरको आधारमा आयोजक माल्दिभ्स शीर्ष स्थानमा उक्लिँदा भारतसँगको पराजयले नेपाल दोस्रो स्थानमा झरेको छ । साफ च्याम्पियनसिपमा नयाँ इतिहास रच्ने संघारमा नेपाली टोली छ । नेपाली टोलीका दोस्रो रोजाईका गोलकिपर विशाल श्रेष्ठले नयाँ इतिहास रच्नका लागि नेपाली टोली आतुर भएको भन्दै उच्च मनोबल बनाएर स्पष्ट जितका लागि खेल्ने बताए ।

अहिले नेपाल तालिकाको दोस्रो स्थानमा छ । बंगलादेशसँगको खेलमा नेपाल हारेमा टोली प्रतियोगिताबाटै बाहिरिनेछ । यदि खेल बराबरी भएमा भने नेपाल ७ अंकका जोड्दै उपाधि प्रतिस्पर्धामा पुग्नेछ भने जित्ने टोली ९ अंक जोडेर शीर्ष टोली बन्ने छ । पराजित भए ४ अंक जोडेको बंगलादेश प्रतियोगिताबाट बाहिरिनेछ भने जित निकाले बंगलादेश फाइनल पुग्ने छ ।

यस्तै यता आयोजक माल्दिभ्स र भारतबीच हुने खेलमा पराजित हुने टोली प्रतियोगिताबाट विदाई हुनेछ । ५ अंक जोडेको भारतले बराबरी भए पनि प्रतियोगिताबाट बाहिरिनेछ । सोही अवस्था आयोजक माल्दिभ्सलाई पनि हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?