काठमाडौं । आज विजयादशमी । सद्भावको चाड । एकताको चाड । हरेक नेपालीलाई एक ठाउँमा ल्याउने चाड । अर्थात, दशैँ । नेपालीहरूको ठूलो चाड हो दशैँ । यतिबेला घर–घरमा दशैँ आएको छ । एक वर्षको प्रतीक्षा आज समाप्त भएको छ । हरेक नेपालीको घरमा खुसी छाएको छ ।
शरद ऋतुको यो मनमोहक मौसममा बेग्लै रौनक छाएको छ । नीलो आकाशमा कोही चंगा उडाइरहेका छन्, कोही पिङमा मच्चिइरहेका छन्, सहरमा अस्थायी बसोबास गर्नेहरू घर–गाउँ फर्किएका छन् । सर्वत्र उल्लास छाएको छ । त्यसैले त, दशैँ आएको छ । त्यसैले त यसको महत्व अत्याधिक छ । नीलो आकाशमा रंगिचङ्गी चंगा, पिङमा मच्चिइरहेका केटाकेटी, गाउँ फर्केका जागीरे, लामो विछोडपछि भेटिएका परदेशी मायालु, गफिँदै गरेका अधबैँसे ।
हो, साँच्चै दशैँ खास छ । यो महत्वपूर्ण चाडमा यसपटक कोरोनाको कारण उल्लसमय नभएपनि मानिसहरूमा बेग्लै आनन्द छ ।
आज विजया दशमी । असोज शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन नौ देवीको पूजापाठ गरी आज विजया दशमी मनाइँदै छ ।घटस्थापनामा जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रुपमा टीका र जमरा ग्रहण गरिन्छ ।
असत्यमाथि सत्यको जित हुन्छ भन्ने मनो–सामाजिक सन्देश बोकेको यो चाडको आफ्नै विशिष्ट महत्व छ । धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक जुनसुकै कोणबाट दशैँको महिमा गाउन सकिन्छ ।
यसपालीको टीकाको साइत १० बजेर २ मिनेटबाट सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
वर्षदिनमा आफन्त, इष्टमित्रबीच सौहाद्रपूर्ण सम्बन्ध स्थापित गर्ने मेलो हो यो । दशैँले ठूलाबडा, मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सिकाउँछ । यतिबेला दुर्गा पूजा गरिन्छ । दुर्गा शक्तिकी प्रतिक ।
हामीकहाँ तिहारमा लक्ष्मी अर्थात धनकी देवी, सरस्वती पूजा अर्थात् विद्याकी देवी र दशैँमा दुर्गाको पूजा गरिन्छ । वास्तवमा, यी तीन कुरा अर्थात् शक्ति, विद्या र धन हाम्रो जीवनका लागि महत्वपूर्ण हुन्छन् ।
माता दुर्गाको उपासना र पूजा अर्चना गरी यो पर्व मनाउने गरिन्छ । घटस्थापनादेखि सुरु हुने दशैँ कोजाग्रत पूणिर्माका दिनमा समापन हुन्छ । घटस्थापनादेखि पहिलो नौ दिनसम्म नवरात्री पूजा गरिन्छ ।
दशमी अर्थात् विजयादशमीको दिन आफन्त, इष्टमित्र भेला भएर दुर्गा पूजा गर्ने । मान्यजन तथा आफूभन्दा ठूलाबाट टीका थाप्ने, आशीर्वाद लिने गरिन्छ ।
दशैँमा टीका लगाउँदा आशीर्वाद दिइन्छ, संस्कृतका ऋचा उच्चारण गर्दै । चार हरफको ऋचाले गहिरो अर्थ बोकेको छ । यसले विभिन्न पौराणिक पात्रलाई आदर्शका रुपमा उल्लेख गर्दै जीवनलाई सुन्दर बनाउने सूत्र दिएको छ ।
दशैँमा घरमा आफूभन्दा ठूला सदस्यबाट आशीर्वाद लिने चलन छ । अनि मान्यजनका घरमा गएर टीका थापिन्छ । वर्षदिनमा एकपल्ट लामो छुट्टीमा परिवारका साथ मामाघर जान पाउने भएर हुनसक्छ । केटाकेटी दंग देखिन्छन् ।
दशैँको विशेषता :
दशैँ दश दिनसम्म विभिन्न तरिकाले रमाइलो गरी मनाइने हुनाले यसलाई दशैँको नामले परिचित गरिएको भन्ने बुझिन्छ ।
घटस्थापनाको दिनमा विभिन्न थरीको बीउबिजनहरू उमारी नौ दिनसम्म विविधत रुपमा पूजापाठ गरी उमारिएको जमरा दशैँ दिनमा ग्रहण गरिने हुनाले पनि दशैँलाई खास महत्वपूर्ण चाडको रुपमा लिइन्छ ।
दशैँ दिनमा घरपरिवार आफन्तजनहरूसँगै बसी टीका र जमराका साथसाथै आर्शीवाद आदानप्रदान गर्ने चलन छ । दशैँ दिनमा लगाउन सुरु गरिएको टीका पूर्णिमाको दिनसम्म लगाइन्छ । टाढा टाढा भएका आफन्तजन कहाँ जानको लागि मौका मिल्नेछ ।
दशैँ परापूर्व कालदेखि नै मनाउँदै आएको धार्मिक एवम् सांस्कृतिक परम्परा हो । यस पर्वसँग विभिन्न देवी देउताको नामहरू पनि जोडिएको छ । राम र रावणको युद्ध, देवी र महिषासुर आदिसँग जोडिएको पाइन्छ । दशैँमा महालक्ष्मी, सरस्वतीको पूजा गरी शक्ति आर्जन गर्न सकिने विश्वासकै कारण दशैँलाई खासगरी शक्ति र साधनाको रुपमा पनि मनाउन थालिएको हो ।
दशैँमा नयाँ कपडा लगाउने, मासु चिउरा खाने परम्परा नयाँ नभएपनि आधुनिकताले जरो गाडेको वर्तमानमा भिन्न किसिमले सदिऔँको परम्परामा निखरता प्रदान गरेको अनुभूति दिलाउँछ । आफ्ना आवश्यकतालाई ध्यानमा राखेर मात्र औसत खर्च गर्नु उपयुक्त होला । नत्र दशैँको नाममा ‘दशा’ भित्रिन सक्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ ।
आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिक रुपमा समेत पुष्टि भइसकेको छ ।
घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।
वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूर्णिमासम्म गरिन्छ । आफ्ना नाता कुटुम्ब ठूलाबडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ–नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मीठो खाना खाने खुवाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्नेजस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ । दशैँ वर्षका तीन अत्यन्त शुभ तिथिहरूमा पर्छन् दशैँ पर्वले दश प्रकारका पापहरू– काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी त्याग्ने छोड्ने प्रेरणा दिन्छन्।
दक्षिण एसियाका धेरै देशमा नेपाल भारत तथा बर्मा भुटानलगायत कृषिप्रधान देशमा जब कृषकले आफ्नो खेतबारीमा अन्न फलाउँछन् र उनीहरूलाई सुखानुभूति हुन्छ । अन्न रूपी सम्पत्ति घरमा ल्याएपछि परिवारसँगै बसेर मीठोमसिनो खाँदा सम्बन्ध बढ्ने विश्वासका साथ यसको महत्व व्यापक बन्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया