भड्किलो बन्दै दशैँ : कोरोनाअघिका दशैँमा कति खर्चिन्थे नेपाली ?

लोकपथ
147
Shares

काठमाडौं । दशैँ नेपालीहरूको महान् पर्व हो । तर दशैँ आयो, दशा आयो भन्ने नेपालीको जमात सानो छैन । कोरोनाको कहरपछि तातो घाममा लावालस्कर लागेर काठमाडौंदेखि आफ्ना थातथलो हिँडेरै पुग्नेहरू हुन् या अन्य विभिन्न सहरहरूबाट गाउँ फर्किनेहरू । यो दृश्यले नेपालीहरूको आर्थिक स्थितिको नाडी पक्कै छामेको हो ।

पहिले पहिले मानिसहरूले दशैँमा परिवारको सबै सदस्यको लागि नयाँ लुगा सिलाउने नयाँ सामान जोड्ने मीठोमसिनो खाने गर्दथे । संयुक्त परिवारका भएको कारण स साना उपभोग्य वस्तु खरिदको लागि पनि हम्मेहम्मे पर्ने समय भएकोले त्यसतिबेला नै भनिएको थियो घाँटी हेरी हाड निल्नू अर्थात् आफ्नो गच्छेअनुसार मात्रै दशैँ तिहार र चाडबाड मान्नु भनेर ।

अहिले समय फेरिएको छ । वर्षमा एकपटक नयाँ लुगा सिलाउने, पेटभरि मासु भात खाने, लामो समयमको फुर्सद, लिंगे पिङ गाउँघरमा भीड नै हुने किसिमका तन्नेरी यी सबैका लागि अब दशैँ नै कुरिरहनु पर्छ भन्ने छैन । किनकि अब एकाध मानिसहरूबाहेक सबैजसो मानिसहरू सामाजिक सञ्जालमा जोडिएका छन् । समय मिलाएर भेटघाट गरिरहन्छन् । अनि आफ्नो कमाइले दुईछाक खान र एकजोर लुगा लगाउन पाउनुलाई त्यति ठूलो कुरा मान्दैनन् तर यति हुँदाहुँदै पनि अब समय बदलिएको छ अर्थात् पहिलेजस्तो स साना खुसीहरू मानिसहरूलाई अपूर्ण लाग्छ । स–साना कुराहरूले मानिसहरूलाई हँसाउनै छाडिसकेको छ ।

हो, उनीहरू घुमघामको लागि विदेश जान चाहन्छन् । नेपालका पनि पहाडी र उच्च हिमाली भेगमा हप्तौँ हराउन चाहन्छन् । यसै कारणले पनि मानिसहरूलाई थोरै रुपैयाँ या खर्चले दशैँ धान्ने अवस्था रहँदैन । लोकपथ डटकमले यहाँ तयार पारेको यो सामग्रीमा पनि नेपालीहरूले औसतमा कति खर्च गर्ने रहेछन् भन्ने कुरालाई उल्लेख गरिएको छ । देखासिकीका कारण चाडबाड भड्किलो बन्दै गएको छ । तर यसपटक कोरोनाको कहरले थिलोथिलो भएका कारण पनि मानिसहरूले अघिल्लो वर्षमाजस्तो खर्च गर्दैनन् कि भन्ने अनुमान लगाउन सकिन्छ ।

यो यथार्थ हो कि चाडपर्वको नाउमा धेरै नेपालीहरूले थाप्लोमा ऋणको बोझ थपिँदै जान्छ ।

कति खर्च गर्छन् त नेपालीले दशैँमा :

अघिल्लो आर्थिक वर्षमा घरायसी खर्चको लागि नेपालीहरूको २२ खर्ब ९८ अर्ब रुपैयाँ सकिएको सरकारी तथ्याङ्क छ । दशैंको समयमा नेपालीहरूको वार्षिक खर्चको एक तिहाइ रहने गरेको पाइएको छ । साथै यसभन्दा अघिल्लो दशैँमा नेपालीहरूको सामान्य खर्च २४ खर्ब रहने अनुमान अर्थशास्त्रीहरूले गरेका थिए । यसैलाई आधार मान्ने हो भने दशैँको समयमा मात्र नेपालीहरूको ८ खर्ब खर्च हुने अनुमान रहेको छ ।

त्यसमध्ये करिब ४० प्रतिशत आफ्नै उत्पादनले पुग्दछ भने ६० प्रतिशत नगद नै आवश्यक पर्दछ । दशैँ र अन्य समयमा घरायसी प्रयोजनको लागि आवश्यक हुने स्थानीय उत्पादनले धान्दछ भने ६० प्रतिशत भने नगद नै आवश्यक हुने गर्दछ । त्यहीआधारमा मुल्याङ्कन गर्दा दशैँको समयमा ५ खर्ब रुपैयाँ नै खर्च हुने अनुमान छ ।

अर्थशास्त्री केशव आचार्यका अनुसार यसको अर्थ बजारमा नगदमै कारोबार हुने भन्ने होइन। घरायसी उत्पादनका खाद्यवस्तु, तरकारी, माछामासु समेत बुझिन्छ । कुल उपभोग खर्चको ६० प्रतिशत बजारमा कारोबार हुने अनुमान गर्न सकिन्छ ।

२०७७ सालको दशैँको रौनक नेपालीहरूको घरआँगनमा आएसँगै बजारमा चहलपहल बढ्न थालेको छ । कोरोनाको कारण यसपटक लामो समय बन्दाबन्दी भएका कारण निकै ढिलो गरी किनमेल सुरु भयो । कोरोनाको जोखिमका कारण बजारमा त्यस्तो भीडभाड पनि देखिएन ।

यसभन्दा अघिल्ला दशैँको समयमा किराना सामानदेखि लुगा–कपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, सफ्टड्रिङ्स, ग्याजेट, टेलिभिजन, वासिङमेसिन, फ्रिजलगायत सरसामान अरुबेलाभन्दा बढी नै खपत हुने गर्दथे तर यसपटक त्यसो भएन । लामो समय कार्यालय जान नपाएकाहरूले धक फुकाएर खर्च गर्न पाउनेछैनन् । करिब ५० लाख जनशक्ति बेरोजगार भएको छ । यस्तो विषम परिस्थितिमा पक्कै पनि दशैँ अघिल्ला वर्षहरूजस्तो हुनेछैन ।

दशैँको समयलाई लक्षित गर्दै विभिन्न कम्पनीहरूले चाडपर्वकेन्द्रित बिक्रेता तथा सेवा प्रदायकले विभिन्न अफर ल्याउने गरेका छन् । साथै मानिसहरू घुमघामको लागि धेरै निस्किने भएकाले सार्वजनिक सवारीसाधन, होटल रेस्टुरेन्ट, एयरलाइन्सको व्यापारपनि बढि नै हुने गर्दछ ।

त्यति मात्र नभएर दशैँको समयमा सम्पूर्ण वस्तुहरूको व्यापार पनि बढी नै हुनेगरेको छ । कति व्यापारिक केन्द्रले त यही मौका छोपेर उपभोक्ताहरूलाई ठग्ने गरेको पाइन्छ । र, अन्य समयमाभन्दा सहुलियतमा पाइन्छ भन्ने हिसाबले टिकाउ वस्तुहरू फर्निचर, इलेक्ट्रोनिक्स, ग्याजेटलगायतका खरिदकर्तामा दशैँ अफर पर्खने बानी परेको छ ।

इन्टरनेट सेवा प्रदायक, ट्राभल एजेन्सी, दूरसञ्चार सेवा प्रदायक तथा होटल रेस्टुरेन्टले पनि दशैँ लक्षित प्याकेज ल्याएका छन् । त्यही कारणले गर्दा पनि अघिलला दशैँहरू हरेक वर्षपिच्छे खर्चिलो बन्न थालेको थियो । कोरोनाले यसपटक यी सबै कुरामा छिर्की लगाएको छ ।

केही वर्षअघिसम्म दशैँमा सपिङको नाममा ठूला र सम्भ्रान्त परिवारले मात्र बढी खर्च गर्ने गर्दथे भने अहिले आम मानिसहरूको पनि क्रयशक्ति बढेसँगै सबैको खर्चको दायरामा समेत वृद्धि भएको जानकारहरूको विश्लेषण छ । तर यसपटक कसरी पुर्याउने भन्ने वर्गको संख्या बढी छ ।

ज्वलरी व्यवसायीहरूका अनुसार पछिल्ला दशैँहरूमा सर्वसाधारणदेखि सम्भ्रान्त परिवारले गरगहनाजन्य वस्तुहरूको खरिद बढी गर्ने गर्दछन् । र स्वभावैैले पनि नेपालीहरू पछिल्लो समय पश्चिमा संस्कृतिको अनुशरण गर्दैछन् ।
त्यहीअनुसार आफन्त इष्टमित्रहरूलाई लत्ताकपडा एवं गरगहना उपहार दिने भएकाले पनि खर्चको दायरा बढी हुँदै गएको छ । अर्काे मुख्य समस्या भनेको त टिका लगाउँदा दक्षिणा दिने प्रचलन पनि नेपालीहरूको मुख्य खर्चको माध्यम बन्दै गएको छ ।

टिकासँगै आफन्तहरूलाई दक्षिणा दिने प्रचलन छ । हुनेहरूले त जतिपनि दक्षिणा दिन सक्छन् । तर त्यहीअनुसार आर्थिक अवस्था कमजोर हुनेले पनि दिनैपर्ने बाध्यताजस्तै बनेको छ त्यसैले पनि गरिबहरूका लागि दशैँ दशा बन्ने गरेको छ ।

राष्ट्रबैंकले अघिल्ला वर्षहरूमा खाद्य, पेयपदार्थ, गैरखाद्य वस्तु र सेवाको समेत मूल्य बढेकाले मुद्रास्फिति लक्ष्यभन्दा माथि गएको जानकारी दिने गरेको थियो । तर यसपटक कारोबार सोचेजस्तो नहुने निश्चित छ । दसैँमा ग्रामीण क्षेत्रमा समेत घरायसी उत्पादित सामग्री मात्र नभएर बजारमा उपलब्ध वस्तुको खरिद बढी हुने भएकाले महँगीले सबैलाई असर पार्नेछ । गैरखाद्यवस्तुको समेत मूल्यवृद्धिले सबैलाई महँगीको असर पारेको छ। त्यसैले अब सभ्य र भव्य रुपमा महान् पर्व दशैँ मनाऔँ । कोरोनको कहरबाट जोगिन फजुल खर्चको ठाउँमा रोग प्रतिरोधात्मक क्षमता बढाउने विभिन्न खानेकुरामा जोड दिऔँ ।

बडादशैँको सबैलाई शुभकामना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?