व्यापारी मन्त्री श्रेष्ठको सम्पत्ति विवरणः काठमाडौँमा मनग्य घरजग्गा, दाइजोभन्दा धेरै खरिद गरेको सुन

काठमाडौ । नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था भएपनि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले मन्त्री भएको चार दिनमा नै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । श्रेष्ठले सार्वजनिक गरेको जग्गा विवरणमा काठमाडौँका तीन स्थानमा आफ्नो जग्गा रहेको उल्लेख गरेका छन् । जसमा काठमाडौँ महानगरपालिका–९ मा कित्ता नम्बर ११४, ०–८–०–० क्षेत्रमा र खरिद मूल्य ७४ लाख ७५ हजार २५६ रुपैयाँ ९९ पैसा रहेको उल्लेख छ ।भने कामनपा ३ मा कित्ता नम्बर १०८, ४२९।१४ क्षेत्रमा र खरिद मूल्य ३९ लाख रुपैयाँ रहेको छ भने काठमाडौँ–१ मा कित्ता नम्बर २१५१, २१५२, २२२७ र २४९४, ०–८–३–३ क्षेत्रमा र खरिद मूल्य ६९ लाख रहेको उल्लेख गरेका छन् । साथै उनले काठमाडौँ महानगरपालिका–३ मा साढे दुई तलाको घर र काठमाडौँ–९ धापासीमा सात तलाको व्यावसायिक घर रहेको जनाएका छन् । उनले सार्वजनिक गरेको विवरण अनुसार दुई करोड १७ लाख २४ हजार ४०० रुपैया मूल्य बराबरको सेयर लगानी विभिन्न कम्पनी रहेको उल्लेख छ ।

साथै उनले २० वटा व्यावसायिक कम्पनीहरुमा रु १४ करोड ५६ लाख २६ हजार मूल्य बराबरको लगानी गरेको उल्लेख गरेका छन् । हाल मौज्दातमा रहेको घर तथा जग्गा विवरणमा जम्मा नौ करोड ६९ लाख ७३ हजार ५० मूल्य बराबरको रहेको उल्लेख छ । गरगहनामा मन्त्री श्रेष्ठले विवाह दाइजोमा पाएको २० तोला सुन र खरिद गरेको ५० तोला सुन भएको बताएका छन्। उनले बैंक खाता विवरणमा आठ वटा बैंकमा आफ्नो पैसा रहेको खुलाएका छन् । श्रेष्ठ नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?