एमाले सचिव योगेश भट्टराईको दशैँ : ‘बुबाको हातको टीकाको सम्झना छैन’ (भिडियाे सहित)

सानोमा चेलीबेटीले दक्षिणा पाउँदा डाहा हुन्थ्यो

लोकपथ
1.8k
Shares

ताप्लेजुङ जिल्लाबाट प्रतिनिधिसभामा सांसद रहेका योगेश भट्टराई नेकपा एमालेका सचिव हुन् । यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारमा भट्टराई पर्यटनमन्त्री थिए ।

विद्यार्थीजीवनबाटै राजनीतिमा लागेका उनी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको अध्यक्ष समेत भइसकेका छन् । भट्टराईको जन्म २०२३ भदौ २१ गते ताप्लेजुङको साँघुमा भएको हो ।

दशैँ, तिहारलगायतका चाडपर्वले यतिबेला छपक्कै छोपे पनि आमाको निधन भएकाले यसपालि उनको दशैँ छैन । आमा महेन्द्रा देवी भट्टराईको गत साउनमा निधन भएका कारण उनी मातृशोकमा छन् ।

तैपनि दशैँको कुरा गर्दा बाल्यकालमा नै बढी रमाइलो हुनेगरेको भट्टराई बताउँछन् । ‘काम व्यवहारले गर्दा अहिले दशैँको खास अनुभूति गर्न पाइँदैन तर दशैँको चहलपहलले भने आफ्नो बाल्यावस्थाका सारा कुरा एकफेर ताजा बनाइदिन्छ’, उनले भने ।

२ वर्षको हुँदा नै बुबाको निधन भएकाले उनलाई बुबाको हातबाट टीका लगाएको सम्झना छैन । उनलाई टीका भन्नेबित्तिकै आमा र आमाको हातबाट टीका लगाउँदै गरेको याद आउँछ ।

भट्टराईका अनुसार दशैँ नेपालीहरूको विशेष चाड हो । यो राष्ट्रिय पर्व र संस्कृति भएकाले पारिवारिक पुनर्मिलन र जमघटको रूपमा पनि यसलाई लिइनु पर्छ ।

गाउँमा उनको परिवार जेठो भएकाले दशैँका टीकाको दिन टीका लगाउनेहरूको भीड हुन्थ्यो । दिनभरमा झण्डै एक सयदेखि तीन सय जनासम्म टीका लगाउने हुन्थे । त्यो पल सम्झिँदा उनलाई अझै रमाइलो लाग्छ ।

‘गाउँमै हाइस्कुल नहुँदा कक्षा ७ बाट पढ्नको लागि निकै टाढा जानुपर्ने स्थिति थियो । त्यतिबेला झण्डै डेढ दिन हिँडेर जानुपर्ने भएपछि विद्यालय नजिकै डेरा लिएर बस्नु पथ्र्याै’, उनले लोकपथसँग भने, ‘अनि घर फर्किने भनेको दशैँकै बेला हो । दशैँका बेला डेराबाट घर फर्किँदा छुट्टै फुर्ती र उमंग हुन्थ्यो । घर फर्किएपछि साथीभाइसँग खेल्ने दौडिने, पीङ खेल्ने, घरका सबै परिवासँग भेटघाट हुनेजस्ता अवसर हुन्थ्यो, त्यसको बेग्लै आनन्द हुन्थ्यो ।’

उनी आमाको हातबाट टीका लगाइसकेपछि आफन्त र छरछिमेकमा टीका लगाउन जान्थे ।

‘टीका लगाउन जाँदा मीठो खान पाइन्थ्यो, आफ्नो घरमा पनि खाइन्थ्यो । त्यतिबेला जति खाँदा पनि पच्थ्यो तर अहिले त्यस्तो छैन । बाल्यकालमा टीका लगाउँदा आफूले नपाएर दिदीबहिनीले मात्र दक्षिणा पाउँदा आफूलाई डाहा हुनेगरेको कुरा उनले हाँस्दै सुनाए ।

उनको घरमा आमा र दाइ भएकाले चाडपर्वका बेला टार्ने, पु¥याउने भन्ने कुरा उनको जिम्मेवारीमा पर्दैन थियो ।

उनी केन्द्रीय राजनीतिमा रहेका कारण काठमाडौंमा बसोबास गरेकाले अहिले भने घरमा आउने चेलीबेटी, भान्जाभान्जी, आफन्तलगायतलाई प्रबन्ध गर्ने काम उनी र उनकी श्रीमतीले गर्ने गरेका छन् ।

तर त्यसमा उनको भन्दा पनि उनकी श्रीमती बिन्दा घिमिरेको भूमिका धेरै छ । भट्टराईसँग दशैँका बारेमा गरिएको बाँकी कुराकानी सुन्न तलको भिडियो क्लिक गर्नुहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?