कांग्रेस नेतालाई कार्यकर्ताको प्रश्न : अधिवेशन कहिले हुन्छ ?

शेरबहादुर ऐर / धनगढी । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का क्षेत्रीय सदस्य हुन् पुरनसिंह कठायत । कांग्रेसले १४ औँ महाधिवेशनको वडा अधिवेशन भदौ १८ गते तोक्दा उनी उत्साहित थिए । तर, कैलालीमा क्रियाशिल सदस्यको विवरण नआउँदा वडा अधिवेशन हुन सकेन् । उनले दोस्रो पटक असोज ५ गते अधिवेशनको मिति तोक्दा उत्साहित भएको प्रतिक्रिया दिए । वडा अधिवेशन सो मितिमा पनि शुरु नभएपछि अहिले उनी निराश छन् ।

उनले भने– ‘वडा अधिवेशन हुन्छ, हुन्छ भनिरहेका छन् । तर, कहिले हुने हो अहिलेसम्म टुङ्गो लागेको छैन ।’ उनले वडा अधिवेशन हुन नसक्दा कार्यकर्तामा निराशासंगै कार्यकर्ता भडकाउन काम बढीरहेको बताए । ‘हामीले यो वडामा अधिवेशनको मिति तय गर्दा वडा सभापतिसहित अन्य कार्यसमिति सर्वसम्मत ढंगले चयन गर्ने टुङ्गो लगाइसकेको थिए’ उनले भने –‘अहिले पार्टीभित्रैका केही नेताहरु सो अनुसार हुन नदिन कार्यकर्ता भडकाइरहेका छन ।’

सोही वडाका कांग्रेस वडा सचिव हेमन्तराज जोशीले समयमै वडा अधिवेशन हुन नसक्दा वडाभित्र बाह्य हष्तक्षेप बढेको बताए । उनले भने –‘तोकिएकै समयमा अधिवेशन भएको भए अहिले सहमतिमा बनाइएको कार्य समितिलाई सबैले सम्मानजनक रुपमा स्वीकार गर्थे । तर, अहिले केही नेताहरुले नयाँ अनुहार ल्याउन विभिन्न चलखेल गरिरहेका छन् ।’

नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ले सर्वसम्मत रुपमा तयार पारिएका जिल्लाका विभिन्न वडाका वडा कार्यसमितिलाई चुनावतर्फ धकेल्ने प्रयास भइरहेको बताए । ‘भर्खरै क्रियाशिल सदस्यता पाएका युवाहरुलाई नगर, जिल्ला, क्षेत्र, प्रदेश कार्यसमितिमा ल्याइदिन्छु भन्दै प्रलोभन पारिहेका छन । यसले सर्वसम्मत रुपमा चयन हुन लागेका वडाहरु प्रभावित भएका छन ।’ उनले जिल्लामा वडा तहमा सर्वसम्मत ढंगलेनै कार्यसमिति चयन गर्ने प्रयास जारी राखेको बताए । सभापति नरनारायण शाहले भने –‘जिल्लाका थोरै मात्र वडामा चुनाव गर्नुपर्ने अवस्था रहेको छ । धेरै वडामा सर्वसम्मत ढंगले चयन हुने अवस्थामा केही नेताहरु आफनो स्वार्थमा युवाहरुलाई भडकाइरहेका छन् ।’

उनले युवाहरुलाई कसैको प्रलोभन र झुटको खेतीमा नपर्न आग्रह गरे । उनले जिल्लाको वडा अधिवेशन सम्भवत कार्तिकको पहिलो सातादेखिनै शुरु गर्ने तयारी भएको बताए । उनले भने –‘अहिलेसम्म वडा अधिवेशनको टुङ्गो लागेको छैन तरपनि हामीले सम्भवत कार्तिकको पहिलो सातामै गर्ने छौं । यसका लागि साथीहरुसंग छलफल भइरहेको छ ।’

जिल्लामा गुटउपगुट अन्त्य गर्ने प्रयास

नेपाली कांग्रेस कैलालीको १४ औं महाधिवेशन नजिकिएसंगै जिल्लामा नयाँ अभ्यास सुरु गरिएको छ ।

केन्द्रको गुट उपगुट वडातहसम्मै देखिन थालेपछि जिल्लाका कुनै पनि तहमा गुटउपगुटलाई बढावा नदिने गरी अभ्यास थालिएको हो ।

कैलाली सभापति नरनारायण शाह मनुसहित क्षेत्रीय सभापति, प्रदेश सभापति, नगर र वडाका सभापति सबै जिल्लामा गुटउपगुटको राजनीति अन्त्यका लागि जिल्ला डौडाहमा छन् ।

सोमबार गौरिगंगा वडा नम्बर कार्यसमितिले आयोजना गरेको दशैंतिहार लक्षित शुभकामना आदान–प्रदान कार्यक्रममा सभापति शाह, पार्टी उपसभापति प्रकाश बम, क्षेत्री सभापति दीनेशराज जोशी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

पार्टी सभापति नरनारायण शाह ‘मनु’ ले भने –‘केन्द्रको गुटउपगुट जिल्लामा ल्याउनु हु“दैन । गुटबन्दी र विचारका कुरा महाधिवेशन प्रतिनिधी चयन गर्दा लागु हुन्छ । तल्लो तहमा यो हुँदैन । त्यसैले हामीले अहिले सबै गुटका साथीहरुलाई लिएर कार्यकर्ता भेटघाट अघि बढाएका छौं ।’ उनले अहिले सो अभियानमा पाँच वटा क्षेत्रीय सभापतिमध्ये चार जना, दशवटा सभापतिमध्ये आठ, १३ वटा स्थानीय तहका सभापतिमध्ये दश र एक सय २६ वडा सभापतिमध्ये ८२ जना सो अभियानमा सहभागि रहेका छन । उनले भने –‘हामी हरेक वडा, नगर र जिल्लामा गुट उपगुट नभई सर्वसम्मत ढंगले योग्य व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ भनिरहेका छौं । हामीले केन्द्रको झगडा चाहदैनौं ।’

कैलाली सभापतिको प्रश्न : म पार्टी किन कमजोर बनाउन लागौँला ?

नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले पार्टीकै हितमा काम गरिरहेको बताएका छन् ।

केही अग्रज नेताहरुले अहिले पार्टी सभापति शाहले पार्टीलाई फूटतर्फ लग्ने गरी काम गरिरहेको आरोप लगाएपछि सो प्रतिक्रिया दिएका हुन ।

‘मेरो बाजे, बुवा कांग्रेसको जिल्ला सभापति भएर पार्टीभित्रै योग्दान दिए । पार्टीभित्र सबैभन्दा युवावस्थामै म पनि जिल्ला सभापति बने’ सोमबार एक समारोहलाई सम्बोधन गर्दै भने –‘अहिले केही अग्रज नेताहरुले मैले पार्टीलाई फूटतर्फ लगेको भन्ने आरोप लगाएको सुनेको छु । मेरो बाजे, बुवा र मेरो नामलाई कायम गर्न पनि मैले पार्टीको अहित गर्नुहु“दैन र गरेको पनि छैन ।’

सभापति शाहले पार्टीको महाधिवेशन नजिकिएसंगै पार्टीभित्र गुटउपगुटको नारा लगाई कार्यकर्ता फुटाउने प्रयास भएको बताए । ‘यो वडा बनाउने मानिस तपाईहरुनै हो ।
यहाँ बाहिरिया मानिस आएर तपाईका लागि काम गर्ने होइनन । यदि तपाईहरु बाहिरिया हष्तक्षेप यहाँ निम्त्याउनुहुन्छ । अरुको कुरा सुनेर काम गर्नुहुन्छ भने यो संगठनलाई हानी पुर्याउँछ’ उनले भने –‘हजुरहरुको आफनो विवेकले के भन्छ । निर्णय गर्नुहोस । केन्द्रको झगडा यहा“ ल्याउनु हुन्न । यसले पार्टीलाई प्रदेश, स्थानीय तह र संघिय निर्वाचनमा असर पुर्याउ“छ । हामीले पार्टी बलियो बनाउनु छ र हरेक तहमा पार्टीकै नेतृत्व चाहनुहुन्छ भने गुटउपगुट नभनी सबै तहको सम्मानजन प्रतिनिधित्व संगठनमा ल्याउनुहोस ।’

उनले सबै वर्ग, समुदायलाई संगठनमा ल्याउन सबैलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?