धनकुटा, १८ बैशाख – फेसबुकमार्फत प्रेमसम्बन्ध र विवाहसम्म भएका उदाहरण थुप्रै छन् । फेसबुककै चिनजानमार्फत बिहेसम्म पुगेको यहाँको एक जोडी भने प्रहरी फन्दामा परेको छ, कान्तिपुरमा खबर छ ।
भोजपुरको रामप्रसाद राई गाउँपालिकाका २५ वर्षीय राजकुमार राईले लैंगिक पहिचान लुकाएर धनकुटाको सहिदभूमि गाउँपालिका छिन्ताङका २७ वर्षीय विपिन राईसँग बिहे गरेको पाइएको छ । उनीहरूबीच दुई महिनाअघि बिहे भएको थियो । राजकुमारले फेसबुकमा केटी बनेर विपिनसँग सम्बन्ध अघि बढाएका थिए । लामो कपाल पालेको, बाटुलो अनुहार र महिलाको पोसाकमा सजिएकाले राजकुमारलाई देख्दा आफू झुक्किएको विपिनले बताए ।
विपिन रोजगारीका लागि भारतमा थिए । उनका अनुसार टेलिफोनमा समेत राजकुमारको स्वर महिलाकै जस्तो सुनिन्थ्यो । गत माघमा नेपाल आएर भेटघाट गरेपछि पनि विपिनले राजकुमार केटी नै रहेको ठानेका थिए । पहिलो भेटमै उनीहरूले योजना बनाई भागी विवाह गरे । विवाहपछि भने राजकुमार पुरुष रहेको खुलेपछि विपिन छाँगाबाट खसेझैँ भए । यसैकारण आफू मानसिक तनावमा पुगेको उनले बताए । ‘अनुहार र स्वरसमेत केटीजस्तै लाग्ने भएकाले झुक्किएँ,’ उनले भने, ‘तर, समाजले आफूलाई नराम्रो सोच्ला भनेर चुप लागेर बसेँ ।’ सापटी मागेर नतिरेको भन्दै स्थानीयले विपिनविरुद्ध प्रहरीमा उजुरी दिएपछि भने घटना बाहिर आएको हो ।
यससँगै राजकुमारले बिहेका नाममा ठगीधन्दा चलाउँदै आएको खुलेको छ । उनीविरुद्ध छिन्ताङका अन्य १२ जनाले उजुरी दिएका छन् । स्थानीयले नै उनलाई समातेर प्रहरीमा बुझाइसकेका छन् । ठगी गरेको आरोपमा राजकुमारलाई स्थानीयले नै प्रहरीमा बुझाएको धनकुटाका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया