ह्वाट्सएपमार्फत ठगी गर्ने गिरोह सक्रिय  : प्रहरीमा परे ५० भन्दा बढी उजुरी

काठमाडौं । पछिल्लो समय ह्वाट्सएपमार्फत ठगी गर्ने गिरोह सक्रिय देखिएको छ ।

केही समययता विभिन्न व्यक्तिहरूलाई ह्वाट्सएपमार्फत फोन गर्दै तपाईँलाई यति रकमको चिट्ठा परेको छ भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको छ ।

केही समयदेखि विभिन्न व्यक्तिहरूको नेपाल टेलिकम (एनटीसी) नम्बरका ह्वाट्सएप प्रयोगकर्तालाई विभिन्न नम्बरमार्फत फोन गरेर ‘नमस्कार तपाईँलाई २०-२५-३०-५० लाख रुपैयाँ चिट्ठा परेको छ भन्दै फोन आउने गरेको छ ।

कसरी हुन्छ ठगी ?

एनटीसीका प्रयोगकर्ताहरूले प्रयोग गरेको ह्वाट्सएपमा भारतका विभिन्न स्थान बुम्बई, विहार, दिल्लीलगायतबाट भन्दै फोन गर्नेगरेका छन् । तर ती फोन नम्बरहरूमा फोन गर्दा नेपालमै फोन उठाएको देखिन्छ ।

ठगी गर्ने गिरोहहरूले फोन गरेर विभिन्न व्यक्तिहरूको नागरिकताको फोटोकपी र बैंक खाता समेत पठाइदिन अनुरोध गर्नेगरेका छन् । ती कागजात पठाएपछि तपाईँलाई परेको रकम प्राप्त गर्नका लागि ट्याक्सबापत यति रकम तिर्नुपर्ने हुन्छ भन्दै पैसा माग्ने गरेका छन् । सोझासाझा कयौँ व्यक्तिहरू यस्तो ठगीबाट पीडित भएका छन् ।

यस्तो खालको ठगीसँग नेपाल राष्ट्र बैंकको खासै ठूलो सम्बन्ध हुँदैन । तर राष्ट्र बैंकले यस विषयमा चासो राखेको छ । राष्ट्र बैंकले यस्तो ठगीका बारेमा आम सर्वसाधारणलाई पैसाको सुरक्षा गर्न विभिन्न सञ्चार माध्यमहरूमार्फत जनचेतनासम्बन्धी सूचना दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

‘हामीले जनचेतनासम्बन्धी क्याम्पियन चलाउन सक्छौँ’, राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले भने । उनका अनुसार त्यस्तो ठगी गिरोहमा संलग्नहरूले प्रयोग गरेको ‘नम्बर लोकेसन’ ट्रयाक गर्दा कापाल काट्ने व्यवसाय गर्ने (नाउ) भएको फेला परेको थियो । यस्ता व्यक्तिहरू नेपालमै बसेर यस्तो ठगी गर्ने गरेको उनको बुझाइ छ ।

यस्तो छ फोन आउनेहरूको प्रतिक्रिया

सामाजिक सञ्जालमा राखिएको यस्तो ठगीसम्बन्धी सूचनामाथि विभिन व्यक्तिहरूले प्रतिक्रिया दिएका छन् । जो आफैँलाई त्यस्तो चिट्ठा परेको भन्दै फोन आएको थियो ।

नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका उपनिर्देशक टेकराज भण्डारी आफूलाई पनि त्यस्तै फोन आएको बताए । ‘मलाई पनि फोन आएको थियो, मैँ कौँन बनेगा करोडपतिसे बोल रहाहुँ, आपको पच्चीस लाखका लौट्री लग गया है’ भन्दै फोन गरेको उनले उल्लेख गरेका छन् ।

त्यस्तै, चितवन भरतपुर २३ की देवी अर्याल, जो काठमाडौँमा बस्दै आएकी छन् । उनलाई पनि    मुम्बईबाट बोलेको, २५ लाख चिट्ठा परेको भन्दै फोन आएको थियो । साथै उनलाई नागरिकताको फोटोकपी र बैंक खाता नम्बर पठाइदिन समेत अनुरोध गरेको थियो ।

त्यस्तै, वायु सेवा निगमका कार्यरत गीताकुमारी चन्द शाह (हाल जापान) लाई पनि २५ लाख रुपैयाँ परेको भन्दै फोन आएको र २५ सय काटेर अरु रकम पठाइदिनु भनेको उल्लेख गरेकी छन् ।

गृह मन्त्रालयको तयारी

ह्वाट्सएपमार्फत पछिल्लो समय लगातार ठगी गर्ने गिरोह सक्रिय भएपछि गृह मन्त्रालयले त्यस्तो ठगी रोक्न पहल थालेको छ । त्यसका लागि नेपाल प्रहरी साइबर ब्युरोलाई जिम्मा दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले बताए ।

साइबर ब्युरो प्रमुख रामकृपाल शाहका अनुसार ह्वाट्सएपमार्फत ठगी गरेको ५० वटाको हाराहारीमा उजुरी परेको बताए । साइबर ब्युरोले यस्तो ठगी रोक्न विभिन्न सूचना जारी गर्नुका साथै वेबसाइटमा पनि राखेको उनले बताए ।

यस विषयमा गृह मन्त्रालय, नेपाल प्रहरी र नेपाल दूरसञ्चार कम्पनीबीच छलफल भएको छ । प्रमुख शाहको भनाइ थियो ।

त्यस्तै, नेपाल टेलिकमका म्यानेजर सरोजकुमार शाक्यका अनुसार नेपाल टेलिकमले ह्वाट्सएपमार्फत हुने ठगी रोक्ने तयारी गरेको छ ।

‘ठगी नहोस् भनेर सन्देशमूलक ‘रिङटोन’ बजाउने तयारी गरेका छौँ’, उनले भने ।

गृह मन्त्रालय तथा नेपाल प्रहरीसँगको छलफलपछि ठगी रोक्न रिङटोन बजाउने गरी तयारी भएको म्यानेजर शाक्यले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?