गलत औषधि बेचे जन्मकैद, डाक्टर पनि फन्दामा पर्ने !

काठमाडौँ-  औषधि पसलेले चिकित्सकको प्रेस्क्रिप्सन (पुर्जा) मा उल्लेख भएअनुसारको नभई अर्कै औषधि दिएर बिरामीलाई हानि पुगे के हुन्छ ? ‘औषधि ऐनअनुसार यस्ता पसलेलाई जन्मकैद वा १० वर्षसम्म कैद र जरिवाना हुन सक्छ,’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल भन्छन् ।

नेपाल मेडिकल काउन्सिलले पनि मान्यताप्राप्त बिक्रेताले मात्र स्पष्ट बुझिने प्रेस्क्रिप्सनका आधारमा औषधि बिक्रीवितरण गर्नुपर्ने जनाउँदै आएको छ, आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । औषधि प्रस्तावित गर्ने अर्थात् पुर्जा लेख्ने डाक्टर, चिकित्साकर्मीको पहिचान आवश्यक भएझैं औषधि बिक्रीवितरण गर्ने पसलको समेत पहिचान उल्लेख हुनुपर्ने जनाउँदै काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारी भन्छन्, ‘यसका लागि औषधि बेच्ने पसलेले आफ्नो छापलगायतका पहिचान बिरामीको पुर्जामा उल्लेख गर्नुपर्छ ।’

औषधिको नाम, सेवन गर्ने समय र अवधि आदि विस्तृत जानकारी स्पष्ट नभई अनुमानका भरमा र चिकित्सक वा स्वास्थ्यकर्मीको सहमति वा सिफारिसबिना पसलेले औषधि बिक्रीवितरण गर्न नहुने उल्लेख गर्दै डा. अधिकारी भन्छन्, ‘यसविपरीत काम गर्ने औषधि बिक्रेतालाई औषधि ऐनअनुसार कारबाही हुन्छ ।’

औषधि ऐनमा औषधिको अनुचित प्रयोग वा दुरुपयोग गरे, म्याद नाघेको औषधि बिक्रीवितरण गरे, औषधिमा मिसावट गरे र मिसावट भएको औषधि बिक्री गरे, कुनै अरू थोकलाई औषधि भनी बिक्री गरे, लागू र विषालु औषधि सुरक्षित राख्नुपर्नेमा बर्खिलाफ हुने गरी कुनै कामकारबाही गरेसमेत कडा दण्डजरिवाना हुने व्यवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?