काठमाडौं- शंख, घण्ट, डमरु बजाउँदै सोमबार बिहान सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी र मुख्य रजिस्ट्रार राजन भट्टराईसहित ५ जना वटुक मुख्य रजिस्ट्रारको कक्षभित्रबाट श्रीयन्त्र बोकेर निस्किए।
अन्नपूर्ण पोस्ट दैनिकका अनुसार – ८ जना वटुकले पशुपतिबाट ल्याएको चन्दनको टीका लगाइदिँदै सबैतिर जल छर्किए र स्वस्ती वाचन गरेपछि तामझामसहित सोझै उत्तरपट्टी रहेको पुरानो भवनको भुइँतलाको कोठामा गए। फूल, दुनाटपरी, रंगीबिरंगी लिंगा, अग्राखका समिधा, ध्वजापताका, तोरण, चँदुवा, वरपिपलका पातले भरिएका कलशले सजाएर कोठालाई पूजास्थल बनाइएको थियो।
मण्डपनजिकै बसेर कामु प्रधानन्यायाधीश जोशी र मुख्य रजिस्ट्रार भट्टराईले हात जोडेर चरु होम्दै दिनभर होम र पूजाआराधनामा व्यस्त रहे। धुप, बत्ती बालेर श्रीयन्त्रमा ध्वजा बाँधे। भट्टराई कछाडै बाँधेर गेरु वस्त्रमा दिनभरजसो पूजामा बसे। यता, जोशी भने दौरासुरुवालमा पत्नीसहित मण्डपमा उपस्थित थिए।
बुद्धजयन्तीको बिदाका दिन करिब ८ घण्टा न्याय र शान्तिको कामना गर्दै यज्ञ, होम र श्रीयन्त्रको पूजाआराधना गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया