बडा दशैँ र यसको बहुआयामिक महत्व

लोकपथ
140
Shares

दानवमाथि देवीको र असत्यमाथि सत्यको जित भएको उत्सवको रूपमा मनाइने नेपालीहरूको महान पर्व हो दशैँ । यसको आफ्नै विशिष्ट किसिमको महत्व छ । सबैभन्दा महत्वपूर्ण कुरा त यो आपसी सद्भाव र भाइचाराको पर्व हो । धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक विभिन्न कोणबाट दशैँको महत्व रहेको छ ।

धार्मिक तथा सांस्कृतिक महत्व 

सत्य युगमा महिषासुर नाम गरेको दैत्य सम्राटले देवताहरूको राजा इन्द्रलाई जितेर स्वर्गमा राज्य गरेपछि देवताहरूमाथि आतङ्क मच्चिन थाल्यो । देवताहरू डराएर ब्रम्हाको शरणमा गए । ब्रम्हाको सल्लाहअनुसार विष्णुसहित देवताहरू महादेवको शरणमा पुगे ।

सबै देवताहरूको छलफलपछि सबैका शक्तिपुञ्जहरू एकतृत भई शक्तिस्वरूपा नवदुर्गा भगवतीको रूप धारण गर्‍यो । दैत्यसँग नवौँ दिनसम्म भएको युद्धमा नवदुर्गा भगवतीले सण्ड, मुण्ड र रक्तबीजसहित महिषासुरको बध गरिन् । अनि दशौँ दिनमा विजय उत्सव मनाए । त्यो समय आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म परेको थियो भन्ने कुरा देवी पुराणमा उल्लेख छ ।

त्यतैगरी अर्को किंवदन्तीअनुसार राम र रावणको युद्धमा रामले १० टाउके रावणको बध गरेपछि सहस्र टाउके अहिरावण र महिरावणको समेत बध गर्ने प्रतिज्ञाअनुसार भएको घमासान युद्धमा रामसमेत उनका भाइहरू मुर्छित भए । यस्तो अवस्थामा नवदुर्गा भगवतीको रूप धारण गरी सहस्र टाउके रावणहरूको बध गरिन् । त्यो दिन पनि आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नवमीको दिन नै परेको थियो । अनि दशमीको दिनलाई विजय उत्सवको रूपमा मनाएका थिए ।

सामाजिक महत्व

विशेष गरेर हिन्दु नेपालीहरूको राष्ट्रिय चाड हो दशैँ । पारिवारिक र सामाजिक रूपमै यसलाई महत्वका साथ मनाइन्छ । आफन्त र मान्यजनका हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिइन्छ ।

परदेश गएका छोराछोरी र बिहे गरेर घर गएका छोरीहरू समेत दशैँमा घर फर्किने र आफन्तजनहरू सबै भेला भएर मनाउने गरिन्छ । दशैँ आश्विन शुक्लपक्ष प्रतिपदा घटस्थापना देखि सुरु भएर कोजगात पूर्णिमासम्म १५ दिनलाई दशैँ भनिन्छ ।

मीठो खाने, खुवाउने, राम्रो लाउने, घरआँगन, बाटोघाटो, गाउँ टोल सफा सुग्गर राख्नेजस्ता कार्य दशैँमा गरिन्छ । बर्खाभरि काम गरेर थाकेको शरीरमा समेत दशैँले खुसियाली ल्याउँछ ।

गाउँघरका सबै जना मिलेर पिङ खेल्दै नाचगान समेत गर्ने गरिन्छ । कर्मको खोजीमा देश तथा विदेशमा रहेका धेरै जना जम्मा भई बाल्यकालका रमाइला घटनाहरू साटासाट गर्नुका साथै एकअर्काको हालखबर बुझिन्छ । यसले एकआपसमा भाइचारा र अपनत्वको विकास गराउँछ ।

वर्षमा केही दिन भए पनि आफन्त, इष्टमित्रसँग भेटघाट गरी आत्मीय सम्बन्ध स्थापित गर्ने पर्व हो यो । दशैँले ठूलाबडा, मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सिकाउँछ ।

हामीकहाँ तिहारमा लक्ष्मी अर्थात् धनकी देवी, सरस्वती पूजा अर्थात् विद्याकी देवी र दशैँमा दुर्गाको पूजा गरिन्छ । वास्तवमा, यी तीन कुरा अर्थात् शक्ति, विद्या र धन हाम्रो जीवनका लागि महत्वपूर्ण हुन्छन् ।

आर्थिक महत्व

दशैँको धार्मिक, सांस्कृति महत्व भएजस्तै आर्थिक हिसाबमा पनि उत्तिकै महत्व रहेको छ । विशेष गरेर हिन्दु नेपालीहरूले दशैँ मनाउने भए पनि अन्य समुदायमा समेत यसको प्रभाव पर्ने गरेको छ ।

टीका र जमरा नलगाए पनि दशैँको बेलामा छुट्टी हुने भएकाले अरु बेलाभन्दा बढी खानपान र भेटघाट हुने गर्छ । यसले उनीहरूको पनि आर्थिक चहलपहल बढी हुने गर्छ ।

यसरी दुःखसुख जसरी भए पनि दशैँको बेलामा मीठो खाने र राम्रो लगाउने परिपाटी भएकाले सानादेखि ठूला व्यवसाय गरेर बसेका व्यवसायीलाई आर्थिक रूपमा फाइदा हुनेगरेको छ । लत्ताकपडा, खाद्यान्न, सवारीसाधनदेखि हरेक कुराको व्यापार दशैँमा बढी हुनेगरेको छ ।

कोरोना महामारीका समयमा केही कम भए पनि अघिल्ला वर्षहरूमा दशैँको व्यापारले नै वर्षभरिको घाटालाई पनि उकास्ने गरेको बताउँछन् ५ वर्षदेखि जोरपाटीमा कपडा व्यापार गर्दै आएका दिनेश राउत ।

‘दशैँमा त होलसेलबाट पसलमा ल्याएर दिन समेत भ्याइँदैन’ उनी भन्छन्, ‘अरुबेला व्यापार नभए पनि दशैँको व्यापारले वर्षभरिको लागि आड दिन्छ ।’

यसैगरी जागिर खानेलाई पनि दशैँमा एक महिनाको बोनस आउने हुँदा उनीहरूलाई पनि आर्थिक रूपले फाइदा हुने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?