दशैँ बिदा : फुर्सदको समयमा सेयर बजारको अध्ययन गर्ने कि !

काठमाडौं । नेपालीहरूको महान् चाड दशैँले प्रत्येक नेपालीको घर–आँगन टेकिसकेको छ । दशैँ भन्नेबित्तिकै वर्षदिनमा आउने हिन्दु धर्मावलम्बीहरूको महान पर्व हो । वर्ष दिनमा बल्ल आउने चाड दशैँ उत्साह बोकेर आउने गर्छ । दशैँको समयमा कार्यालय, स्कुल कलेज सबैतिर छुट्टी हुन्छ ।

वर्षदिनमा बल्लतल्ल छुट्टी मिल्ने हुँदा दशैँको उत्साह नै छुट्टै हुने गर्छ । सबै परिवार एकै ठाउँमा जम्मा भएर मीठो खाने, राम्रो लगाउने अनि रमाइलो गर्ने पर्व हो दशैँ । अस्तव्यस्त जनजीवनलाई केही समय थाती राख्दै बोझको भारी बिसाउने चौतारी हो दशैँ ।

दशैँमा अघिकांश मानिसहरू फुर्सदिला हुने गर्छन् । त्यसैले सबैजना एकै ठाउँमा भेला भएर तास खेल्ने अनावश्यक खर्च गर्ने प्रवृत्ति पनि व्यापक हुने गर्छ । धेरै मानिसहरू दशैँलाई देखासिकीको रूपमा लिने गर्छन् । जुवातास र जाँडरक्सीमा आवश्यकता भन्दै फजुल खर्च गरिरहेका हुन्छन् । त्योभन्दा म के कम भन्ने इगोका कारण पनि मान्छेहरू चाडपर्वको बेला आवश्यकताभन्दा बढी खर्च गरिरहेको हुन्छन् ।

तर फुर्सदको समयलाई सदुपयोग गर्ने हो भने यो जीवनकै लागि राम्रो अवसर पनि बन्न सक्छ । पछिल्लो समय सेयर बजारको चर्चा परिचर्चा नसुन्ने सायदै होलान् । चियाघर, कलेज अनि गल्ली–गल्लीमा युवाहरू भेट हुँदा सेयर बजारको चर्चा चल्ने गरेको हुन्छ ।

सेयर बजार यस्तो माध्यम हो, जहाँ घरमै बसीबसी गरेको लगानीलाई हजारबाट लाख र लाखबाट करोड बनाउन सकिन्छ । तर यसको लागि सेयर बजारको बारेमा भरपुर अध्ययन भने गर्नुपर्ने हुन्छ ।

दशैँमा सेयर बजारको अध्ययन गर्नुहोस्

हामी फुर्सदको समय यतिकै खेर फालिरहेका हुन्छौँ । रमाइलो र मोजमस्तीमै फुर्सदको समय गुजारिरहेका हुन्छौँ । यो महत्वपूर्ण समयलाई अध्ययनतर्फ समय खर्चने हो भने जीवनलाई अस्तव्यस्त र अव्यवस्थित बनाउनै पर्दैन ।

त्यसैले दशैँ बिदामा सेयर बजारको बारेमा पनि जानकारी लिनु असाध्यै राम्रो हुन्छ । सेयर बजारको अध्ययन गर्नको लागि विभिन्न माध्यमहरू छन् । सेयर बजारका बारेमा विभिन्न पुस्तक, मुभिहरू त्यसैगरी सेयर बजारसम्बन्धी अन्तर्वार्ता हेर्न सकिन्छ ।

पछिल्लो युवापुस्ताहरू सेयर बजारतर्फ आकर्षित हुन थालेका छन् । हाल सेयर बजारमा ४५ लाखभन्दा बढी व्यक्तिले हितग्राही खाता (डिम्याट एकाउन्ट) खोलिसकेका छन् । जसमा प्राथमिक सेयर (आईपीओ) भर्ने करिब २२ लाख सक्रिय लगानीकर्ता छन् । करिब २२ लाख लगानीकर्ताहरूले विभिन्न कम्पनीले जारी गर्ने आईपीओमा आवेदन दिने गरेका छन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार अनलाइन ट्रेडिङ सिस्टम (टीएमएस) लिनेको संख्या ९ लाख ३७ हजार हाराहारी पुगेको छ । हाल नेपाली सेयर बजारमा दैनिक रूपमा औसत एक लाख सक्रिय लगानीकर्ताहरूले धितोपत्र दोस्रो बजारमा लगानी गरिरहेका छन् । बजार बढ्दा एकैदिन एक लाख ५० हजारसम्म लगानीकर्ताहरूले लगानी गर्नेगरेका छन् भने बजार घटेको बेला दैनिक ६०÷७० हजार लगानीकर्ताहरूले सेयर बजारमा कारोबार गर्नेगरेका छन् ।

फुर्सदको समयमा तपाईँ पनि सेयर बजारको अध्ययन गरेर सक्रिय रूपमा लगानी गर्न सक्नुहुन्छ । बुझेर गरिएको लगानीले अवश्य राम्रो प्रतिफल दिन्छ ।

दक्षिणाको सदुपयोग गर्नुहोस्
दशैँ भन्नेबित्तिकै दक्षिणाको कुरो आइहाल्छ । दशैँमा ठूलाबडाले आफूभन्दा सानालाई दुर्गा भवानीको प्रसाद लगाइदिएर दक्षिणा दिने सदियौँदेखिको प्रचलन छ । विशेषगरी छोरीचेलीहरूलाई अग्रजहरूले दक्षिणा स्वरूप टीका लगाएर पैसा दिने प्रचलन रहेको छ । कतिपय व्यक्तिहरू दक्षिणालाई यतिकै अनावश्यक खर्च गरेर सिध्याउने गर्छन् ।

दक्षिणाको सदुपयोग गर्ने उपयुत माध्यम सेयर बजार हुनसक्छ । विभिन्न कम्पनीहरूले आईपीओ जारी गरिरहेका हुन्छन् । आईपीओ भर्नको लागि त्यति ठूलो रकमको आवश्यकता पर्दैन । तपाईँले मात्र एक हजार रुपैयाँमा आईपीओ भर्न सक्नुहुन्छ । त्यसको लागि मात्र डिम्याट एकाउन्ट खोले पुग्छ । आफ्नो खाता रहेको बैंकको शाखामा गएर तपाईँले सजिलै डिम्याट खाता खोल्न सक्नुहुनेछ ।

अहिलेसम्म आईपीओ भर्नुभएको छैन भने आईपीओ भर्न थालिहाल्नुस् । अझ दशैँको दक्षिणालाई आईपीओमा लगानी गर्ने हो भने एक हजारको लगानीले ५० हजारसम्म कमाइ हुनसक्छ । तपाईँको हजारको लगानी केही नभए पनि ५ हजार त बन्छ नै । त्यसकारण दशैँमा जम्मा भएको दक्षिणालाई लगानी गर्नुहोस् ।

अनावश्यक खर्चलाई घटाएर सेयर बजारमा लगानी गर्नुहोस्

चाडपर्व भन्नेबित्तिकै मीठोमसिनो खाने पर्व हो । त्यसैले तामझाम गर्ने नेपालीहरूको बानी हो । त्यसैले फजुल खर्च गर्न पछि पर्दैनन् । कतिपयको देखासिकी गर्ने बानी पनि हुन्छ ।
चाडपर्व भन्नेबित्तिकै जुवातास र जाडरक्सीमा पनि अत्यधिक खर्च गर्ने गर्दछन् ।
फजुल खर्चलाई बचत गरेर सेयर बजारमा लगानी गर्ने हो भने निकट भविष्यमै राम्रो आम्दानी गर्न सकिन्छ । तर सेयर बजारमा लगानी गर्नुपूर्व भने विभिन्न कुराको ख्याल राख्नुपर्ने हुन्छ । अध्ययन गरी सुझबुझपूर्ण लगानी गर्नुपर्छ ।

के–के कुरामा ध्यान दिने ? यसो भन्छन् जानकार

सेयर बजारमा प्रवेश गर्नुपूर्व अध्ययन गर्नु अति आवश्यक हुन्छ । सेयर बजार अति संवेदनशील ठाउँ हो । सेयर बजारमा हल्लाले ठूलो प्रभाव पार्छ ।

सेयर बजारमा प्रवेश गर्नुपूर्व लगानीकर्ताले कम्पनीको वित्तीय अवस्थाको बारेमा अध्ययन गरेर मात्र प्रवेश गर्नुपर्ने लगानीकर्ता केशव कोइराला (काका) बताउँछन् ।
‘जो भर्खरै सेयर बजारमा प्रवेश गर्न चाहिरहेका छन् भने उनीहरूले कम्पनीको वित्तीय अवस्थाको बारेमा अध्ययन गर्नुपर्ने हुन्छ । कम्पनीको प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ, नाफालगायत कुराहरूको अध्ययन गर्नुपर्ने हुन्छ’, उनले भने ।

सेयर बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताहरूलाई अहिले स्वर्ण अवसर भएको पनि उनले बताए । उनी भन्छन्, ‘सेयर बजारमा लगानी गर्न चाहने कोही छन् भने अहिले स्वर्ण अवसर रहेको छ । किनभने ३२ सय पुगेको बजार अहिले घटेर २६ सयमा छ । यो सेयर बजारमा लगानी गर्ने उपयुक्त अवसर हो ।’

बजारमा नयाँ लगानीकर्ताहरू भित्रिने क्रम बढ्दो छ । कतिपय नयाँ लगानीकर्ताहरूलाई बजारमा कसरी लगानी गर्ने, कसरी प्रोफिट बुक गर्ने, कसरी सेयर बजारबाट मन्यग्य कमाउने, घाटा हुनबाट कसरी बच्ने ? यसबारे थाहा नहुन नि सक्छ । किनभने उनीहरू हल्लाको भरमा बजारमा लगानी गरिरहेका हुन्छन् । पछिल्लो समय बजार हल्लाको भरमा चलिरहेको छ । जसले गर्दा बजारमा जोखिम पनि बढिरहेको छ । त्यसैले सेयर बजारमा लगानी गर्नुपूर्व धेरै कुरामा विचार पु¥याउनुपर्ने हुन्छ ।
–हल्लाको पछि नलाग्नुहोस्।

–आफूले लगानी गर्न लागेको कम्पनी कस्तो छ ? यसको व्यवस्थापन समूह कस्तो छ ? कम्पनीको वित्तीय अवस्था कस्तो छ ? यी सबैको बारेमा अध्ययन गर्नुहोस् ।

– सेयर बजारमा सधैँ नाफा भइरहन्छ भन्ने छैन त्यसैले आफ्नो जोखिम बहन गर्ने सक्ने क्षमतालाई मुल्याकन गरेर मात्र लगानी गर्नुपर्छ ।

लगानी गर्नुपूर्व जहिले पनि सेयर बजारको पछिल्लो अवस्था, आफूले लगानी गर्ने कम्पनीको अवस्थालगायत सम्पूर्ण अवस्थाको अध्ययन गर्नुपर्छ । बजार सधैँ एकनास हुँदैन । बढ्ने र घट्ने बजारको नियम नै हो । त्यसैले लगानी गर्नुपूर्व यी कुराहरूमा सधैँ चनाखो बन्नुपर्छ ।
यद्यपि बजारमा लगानी गर्दा स्वविवेक प्रयोग गर्नु नै उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?