रातो र सेतो टीका : भ्रम र यथार्थ

दशैँ भन्नेबित्तिकै हामी सबैले सम्झिने भनेको रातो टीका, जमरा अनि पिङ नै हो । त्यसमा पनि टीका पहिलो नम्बरमा आउँछ । तर नेपालमा समुदायअनुसार दशैँमा लगाइने टीकाको रङ्ग भने फरक–फरक हुने गर्छन् ।

खसआर्यले रातो टीका लगाउँछन् भने मगर, गुरुङ, राई, लिम्बू, तामाङ, नेवारलगायत जनजातिले सेतो टीका लगाउँछन् । यसबारेमा आ–आफ्नै मान्यता र बुझाइ रहेका छन् ।

किन भयो त टीकाको रङ्ग दुई खालको ?

अहिले रातो र सेतो दुईखाले टीकाको चलन भए पनि पहिला सबैले सेतो टीका लगाउने गरेको संस्कृतिविद् जगमान गुरुङ बताउँछन् ।

‘पहिले रङ र अबिर नेपाल भारत कहीँ पनि नपाइने भएकाले सबैले दहीमा मुछेर सेतो टीका नै लगाउँथे तर पछि अरबबाट मुसलमानले भारतमा ल्याएका हुन्’, उनले भने, ‘यही सिलसिलामा व्यापारी नेवारहरुले भारतबाट अबिर ल्याएर टीकामा प्रयोग गर्न थालेपछि ठकुरी, राणा हुँदै अन्यले पनि त्यसको सिको गर्दै प्रचलनमा ल्याएका हुन् ।

रातो र सेतो टीकाका बारेमा भएको आम बुझाइ गलत भएको उनले बताए ।

‘कतिपय जनजातिहरुले यो हाम्रो होइन हिन्दुहरुको हो भनेर विरोध गर्छन् तर त्यो भ्रम हो’, उनले भने, ‘देवीदेवतालाई बलि दिएपछि त्यही रगतमा अक्षता मुछेर लगाउन हुने, रातो टीकाचाहिँ लगाउन नहुने ?’

रगतको टीका लगाएर रातो रङ्गको टीकाचाहिँ हाम्रो होइन भन्नुमा कुनै तर्क नभएर भ्रम मात्र भएको गुरुङको बुझाइ छ ।

सबै बाहुनहरुले पनि रातो टीका नलगाएर कतिपय ठाउँमा पहेँलो टीका लगाउने उनले बताए । दैलेखका अधिकारीलगायत कतिपय बाहुनहरुले कुल देवताको पूजामा समेत रातो रङ्ग प्रयोग नगरेर बेसार वा केसरीको प्रयोग गर्ने उनले बताए ।

रातो हाम्रो होइन, हाम्रो टीका त सेतो हो भन्नु जनजातिले गरेको अपव्याख्याबाहेक अरु केही नभएको उनको तर्क छ । गुरुङ, मगर, राई, लिम्बू, तामाङहरूले हाम्रो रातो होइन भन्नुभन्दा पहिले आफ्नो चलन हेर्नुपर्ने उनको भनाइ छ ।

किन लगाइन्छ त दशैँमा टीका ?

टीकाकोे महत्व समृद्धि, शक्ति र युद्धसँग जोडिएको छ । क्षत भनेको नाश हो, अक्षत भनेको नाश नहुने, यही नाश नहुने अन्नका रूपमा चामललाई अक्षता भनेर टीका लगाउन थालिएको हो ।

अक्षता धानको चामलको हुन्छ । संस्कृतमा धन्य र नेपाली भनिने धान अन्नमध्येको उच्चकोटीको अन्नको रूपमा मानिने भएकाले चामलको भात भोजन गर्नुभन्दा पहिले निधारमा लगाउने चलन सुरु भएको सुनिँदै आइएको छ ।

दशैँलाई नेवार समुदायले ‘मोहनी’ भन्छन् । नेवारहरूले दशैँमा लगाउने कालो मोहनीकै आधारमा दशैँलाई मोहनी भनिएको हो । नेवारहरूले दशैँमा निधारको मध्यभागमा भुइँ सिन अर्थात् फुस्रो सिन्दुर लगाएर तल वा माथि कालो मोहनी लगाउँछन् । त्यही नै नेवारहरूको दशैँको टीका मानिन्छ ।

नेवार समुदायमा नवमीको दिनमा आगम घरमा पूजा गर्दा बोका, हाँसलगायत पशुहरूको बलि दिँदा उनीहरूको रगतको टीका पनि लगाउने मौलिक चलन छ ।

नवमीकै दिन घरको आगमघरमा पूजा गर्दा बलि दिने क्रममा माटोको पालामा तेल राखेर दियो बालिन्छ । यसरी बालेको दियोको केही माथि अर्काे पालाले छोपिन्छ । दिनभरि नै यसरी छोप्दा माथिबाट छोपिएको पालामा कालो ध्वाँसो जम्मा हुन्छ ।

बैद्धिक एवं तान्त्रिक विधिबाट निकालेर यसलाई नेवारहरूले दशमीको दिनमा यही मोहनीलाई टीकाका रूपमा लगाउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?