काठमाडौं । अछाम, स्याङ्जा, चितवन, बारा र धनुषाको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।
अछाम, पन्चदेवल विनायक नगरपालिका-१ जाल्पेश्वरी माध्यमिक विद्यालयको प्राङगणमा ब्याक गर्ने क्रममा से.१च १७६३ नम्बरको विवाहको गाडी करिब २ सय ५० मिटर तल खेतमा खसेर आइतबार राति दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा जिपमा सवार सोही नगरपालिका-२ बस्नेहरु १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा, १७ वर्षीय हिमाल नेपाली र सोही नगरपालिका-३ बस्ने १८ वर्षीय जिवन जैशी रहेका छन् ।
उनीहरुमध्ये जिवनको घटनास्थलमै र अन्य ३ जनालाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य १४ जनामध्ये ३ जनालाई थप उपचारको लागि नेपालगंजतर्फ रिफर गरिएको, २ जनाको बयलपाटा अस्पताल अछाममा र ९ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी स्याङजा, वालिङ नगरपालिका-१० मोदीखोलास्थित सडकमा ग.१ ज ४९१८ नम्बरको जिप सडकदेखि करिब ५० मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा जिपमा सवार गल्याङ नगरपालिका-१० बस्ने ७७ वर्षीय दल बहादुर पल्ली सहित ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दल बहादुर सहित २ जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा र १ जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका १५ जनामध्ये ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भन्ने अन्य १३ जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी चितवन, भरतपुर महानगरपालिका-७ विकास चोकमा बा.१ प १२८४ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८ वर्षीय मिलन भण्डरीको आइतबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि सरकारी अस्पताल भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै बसको ठक्करबाट घाइते भएका सोही ठाउँ बस्ने ४६ वर्षीया सुमी कुमारी लामिछानेको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी बारा, कलैया उपमहानगरपालिका(२३ सिसहनिया चोकमा ग.७ प ४६१९ नम्बरको मोटरसाइकलले पैदलयात्री महागढीमाई नगरपालिका-४ मल्हनी टोल बस्ने १६ वर्षीय सुनिल यादवलाई ठक्कर दिई गएराति दुर्घटनामा हुँदा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका(२ उत्तर झिटकैया बस्ने १६ वर्षीय कृष्ण मण्डलको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कृष्णको कलैया अस्पताल हुँधै न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका सुनिल र मोटरसाइकलमा सवार १ जनाको न्यूरो अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।
त्यसैगरी धनुषा, जनकपुर उपमहानगरपालिका-२४ सोनापारास्थित सडकमा ज.२ प ९९०६ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको मोटरसाइकलले आइतबार राति ठक्कर दिंदा ज.२ प ९९०६ नम्बरको मोटरसाइकलमा सवार महोत्तरी मठियानी नगरपालिका-४ बस्ने ४५ वर्षीया सगिना खातुनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने १८ वर्षीय जगिर साह सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकलको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया