जान्नुहोस् टीका लगाउँदा वाचन गरिने मन्त्रको अर्थ

लोकपथ
637
Shares

काठमाडाैं । विजयादशमीको दिन मान्यजनबाट टीका र जमरा लगाउने चलन छ । टीका लगाउँदा मान्यजनहरूले संस्कृतको मन्त्र पढेर आशीर्वाद पनि दिनुहुन्छ । तर तपाईँहामी धेरैलाई के भनेको होला भनेर सधैँ कुतूहलता लागिरहेको हुन्छ । कतिपयले सोधेका हौँला भने कतिपयले यत्तिकै मनमा बोकेर बसेका हौँला ।

के रहेछ त यी श्लोकको अर्थ र महत्व ? आज हामीले यही कुरा बुझ्ने र बुझाउन कोसिस गरेका छौँ ।

दशैँमा टीका लगाउँदा आशीर्वादको रूपमा वाचन गरिने यस्ता श्लोकहरू दुई खालका हामीले सुन्न पाउँछौँ । तीमध्ये एउटा पुरुषका लागि वाचन गरिन्छ भने एउटा महिलाका लागि ।

ती आशीर्वादमा पौराणिक चरित्रहरूसँग दाँजेर तिनै चरित्रअनुसारका गुणहरू टीका ग्रहण गर्ने व्यक्तिमा प्राप्त होस् भनि आशीर्वाद दिइन्छ ।

पुरुषहरूका लागि ‘आयुद्रोणसूते’ श्लोक वाचन गरिन्छ भने महिलाहरूका लागि ‘जयन्ती मंगला काली’ वाचन गरिन्छ ।

पुरुषहरूका लागि

आयुर्द्रोणसूते श्रीयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ॥
शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञान बिदुरे भवति भावताम किर्तिश्च नारायण ॥

अर्थः द्रोणका छोरा अश्वत्थामाको जस्तो लामो आयु, भगवान् रामका पिता दशरथको जस्तो श्रीसम्पत्ति, भगवान् रामको जस्तो शत्रूपराजय, राजा नहुषको जस्तो ऐश्वर्य, पवन देवताको जस्तो तीव्र गति, दुर्योधनको जस्तो अभिमान, सूर्यका छोरा कर्णको जस्तो दानवीरता, हलधर भगवान् (कृष्णका दाइ बलराम)को जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यनिष्ठा, धृतराष्ट्रका मन्त्री विदुरको जस्तो ज्ञान, भगवान् नारायणको जस्तो यशकीर्ति तपाईंले प्राप्त गर्नुहोस् ।

महिलाको लागि

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ॥
जयत्वं देवी चामुण्डे जय भूतार्तिहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ॥
यस मन्त्रलाई आरोग्य मन्त्र पनि भनिन्छ ।
मंगलगुणकी देवी अनि सदासर्वदा विजयी जयन्तीप्रति हार्दिक नमन ।

अर्थः जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, धात्री, स्वाहा र स्वधा यी नामले प्रसिद्ध हे जगदम्बिके ! हजुरलाई मेरो नमस्कार छ ।

जयन्ती भन्नाले विजयशालिनी, मंगला भन्नाले भक्तहरूको जन्ममरणरूपी बन्धनलाई नष्ट गर्ने, काली भन्नाले प्रलयकालमा सबैलाई खाने, भद्रकाली भन्नाले भक्तहरूलाई सुख प्रदान गर्ने, कपालिनी भन्नाले हातमा नरमुण्ड धारण गर्ने, दुर्गा भन्नाले कठोर तपबाट बल्लबल्ल प्राप्त हुने, क्षमा भन्नाले करुणामय हुनाले भक्तहरूको अपराध क्षमा गर्ने, शिवा भन्नाले सबैको कल्याण गर्ने, धात्री भन्नाले सम्पूर्ण प्रपञ्चलाई धारण गर्ने, स्वाहा भन्नाले यज्ञभाग ग्रहण गरेर देवताहरूलाई पोषण गर्ने अनि स्वधा भन्नाले श्राद्ध र तर्पण स्वीकारेर पितृहरूलाई पोषण गर्ने देवी भनी बुझिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?