त्याे धुन, जुन सुनेपछि मात्र दशैँ आएकाे आभास हुन्छ

दशैँमा बिहानबेलुका गाइने दुर्गादेवीको स्तुति भएको गीतलाई मालश्री भनिन्छ । पहिले नौरथा सुरु भएदेखि नै गाउने चलन भए पनि अहिले अष्टमी र नवमीमा मात्र गाउने गरिएको आएको बताउँछन् संस्कृतिविद् जगमान गुरुङ । तर पहिले लोग्नेमान्छेले मात्र गाउने मालश्री अहिले महिलाहरुले समेत गाउने गरेको उनले बताए ।

मालश्री भनेको एउटा रागको नाम हो । नेपालको पहाड खण्डमा गाइने यो गीत ७५ प्रतिशत हिन्दी र २५ प्रतिशत नेपालीमा रचना गरिएको छ । गुरुङका अनुसार यो किल्ला काँगडाको लडाइँमा रचना गरिएको हो ।

‘हामीले गाउने गरेको मालश्रीमा रणबहादुर शाह र गिर्वाणयुद्ध शाह अनि उनहरुले लडेका किल्ला काँगडाको लडाइँका कुरा आएकाले त्यही बेला रचना भएको हो’, उनले भने, ‘त्यहीँ युद्ध लड्न गएकाहरुले गाउन थालेपछि यो बिस्तारै सबैतिर प्रचलनमा आयो ।’

यसरी विकास भएको मालश्री अनि अझ यसको धुन नै दशैँको महत्वपूर्ण विशेषता भएको छ ।

रेडियो र टेलिभिजनमा भने यसको धुन दशैँभरि बज्ने भएकाले हाम्रो मस्तिष्कमा सधैँ ताजा भएर बसिरहेको छ ।

ओखलढुंगा घर भई १५ वर्षदेखि काठमाडौँमा संगीतकर्म गर्दै आएका गीतकार/गायक लेखु सहयात्रीलाई दशैँ र मालश्री धुन पर्यायवाचीझैँ लाग्छ । रेडियो टीभीमा मालश्री धुन नबजेसम्म उनलाई दशैँ आएजस्तो नै लाग्दैन ।

‘सानैदेखि रेडियोमा मालश्री धुन सुन्दै आएको, दशैँ भन्नेबित्तिकै त्यही धुनको याद आउँछ’, उनी भन्छन्, ‘मलाई त दशैँ र मालश्री धुन एकअर्काबिना अधुरो नै हुन्छ जस्तो लाग्छ ।’

मालश्री धुन सुन्नेबित्तिकै बालपनदेखिका दशैँका सारा याद ताजा भएर उनले लोकपथलाई बताए । मालश्री धुन नै दशैँको सबैभन्दा मीठो र अविस्मरणीय याद रहेको उनी बताउँछन् ।

‘मलाई त पुस महिनामा मालश्री धुन सनेँ भने पनि दशैँ आएजस्तो लाग्छ’, उनले रमाइलो पारामा हाँस्दै भने ।

धुलिखेलका दिपक अधिकारी मालश्री धुनले नै दशैँको दशैँकाे  आभास दिने र दशैँ आएजस्ताे लाग्ने बताउँछन् ।

‘हुन त बाल्यकालमा दशैँसँग सम्बन्धित धेरै कुरा रमाइला र यादगार छन् तर ती सबैलाई हरेक वर्ष ताजा बनाउने भनेको मालश्री धुन नै हो’, उनी भन्छन्, ‘दशैँ भनेको सबै कुरा भुलेर रमाइलो र आनन्द लिने पर्व हो, बाल्यकालका यादले झन् उमङ्ग थपिदिन्छ, मालश्री धुनले नै त्यो उमङ्ग भरिदिन्छ ।’

मालश्री धुन दशैँसँगै खुशी, उमङ्ग र सद्भावको प्रतिक भएको उनको बुझाइ छ ।

मालश्री धुनबारे

दशैँमा देशभर गुञ्जिने मालश्री धुन माथि प्रस्तुत व्यक्तिलाई जस्तै हरेक नेपालीलाई आनन्द दिन्छ । मौलिक नेपाली लोक धुन मानिने मालश्रीको सम्बन्ध शरद ऋतुसँंग पनि छ ।

समय र संगीतको गहिरो सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको नेपाली संगीत क्षेत्रमा बाह्रै मासअनुसारका संगीत पाइन्छन् । तिनैमध्ये मालश्री धुनचाहिँ दशैँको समयमा देशभर गुञ्जिने गर्दछ ।

करिब साढे चार सय वर्षअघि नेवार समुदायबाट यो धुनको उत्पत्ति भएको मानिन्छ । राजा सिद्धिनरसिंह मल्लको पालादेखि यस धुनको प्रचार हुन थालेको बताइन्छ । १६औँ शताब्दीमा राजा महेन्द्र मल्लको पालादेखि १२ मासका धुनको सिर्जना भइसकेको थियो ।

हनुमान ढोकामा अवस्थित नृत्यनाथको मन्दिरमा पहिले पहिले दशैँभरि नै मालश्री धुन बजाउने गरिन्थ्यो । पृथ्वीनारायण शाहपछि शाहवंशका राजाहरुले पनि यसलाई निरन्तरता दिए ।
मालश्रीको धार्मिक महत्व त छँदै छ यसको सम्बन्ध मनोरञ्जनसँग पनि जोडिएको छ ।

पहिले पहिले मनोरञ्जनका अन्य साधन नहुँदा दशैँ सुरु भएदेखि नै घर–घरमा वा भेला भएर बिहानबेलुका मालश्री गाउने गरिए पनि रेडियो, टीभी र मोबाइलका जमाना आएपछि सबै मान्छे त्यतैतिर व्यस्त हुँदा यसको प्रचलन घट्दै गएको बताउँछन् धाधिङका ७७ वर्षीय सिवप्रसाद घिमिरे ।

तर पछिल्लो समय भने विभिन्न सांस्कृतिक कार्यक्रमको प्रभाव वा भनौँ मालश्री धुनको मिठासले तानेर हो विभिन्न बाजाका माध्यमबाट यो धुन बजाउनेहरुको संख्या बढेको छ ।

दशैँको अवसरमा हुने विभिन्न कार्यक्रमहरुमा मालश्री धुनहरु बजाउनेहरु र यसको आनन्द लिनेहरु पनि बढेको उनी बताउँछन् ।

 

उनी भन्छन्, ‘पछिल्लो समय यसलाई गाउनेभन्दा बढी बजाउने प्रचलन बढेको छ ।’
मालश्री धुन निकाल्न ठीक यही बाजा आवश्यक पर्छ भन्ने छैन । पहिले–पहिले बढी मात्रामा नौमती बाजा बजाउने गरिन्थ्यो । यसबाहेक बाँसुरी, ठमरु, गीतार, हार्मोनियमलगायतका बाजासहित यो धुन निकालिन्छ ।

दशैँको घटस्थापनादेखि पूर्णिमासम्म नै मालश्री धुन सुन्न सकिन्छ । साढे चार सय वर्षदेखि सुनिदै र बजाइँदै आएको यो धुनले अहिलेसम्म निरन्तरता पाइरहेको छ । यो धुनको आफ्नै मौलिकता छ । यो धुन पूर्ण रुपमा नेपालमै सिर्जना भएको संगीतज्ञहरुको दाबी छ । यो धुनमा सप्त मात्रिकाको गुणगान छ । मालश्री धुनले नवदुर्गाको आराधना गरेर सबै नेपालीले संयुक्त रुपमा मानिने चाडलाई संकेत गर्छ ।

मालश्री धुन ,माल अर्थात् वस्तु या सामान अनि श्री भन्नाले लक्ष्मीको आशिष् श्रीसम्पत्ति, धनधान्य आदि बुझिन्छ । कृषिप्रधान नेपाली समाजमा शरद ऋतुको सुरुवातसँगै आउने चाड दशैँ अनि यसै लहरसँग फुल्न तयार धानका बालाहरू, स्याउका दानाहरू, फुलहरू, सुन्तलाका दानाहरूलगायतका आगमनको खुसी पनि हो, मालश्री धुन ।

कृषि प्रधान नेपाली समाजमा प्रकति नै सबैभन्दा ठूलो सम्पत्ति हो । यसअर्थमा मालश्री धुनलाई केवल दशैँसँग मात्र नजोडी सम्पूर्ण शरदको सुरुवातका रूपमा लिइन जरुरी देखिन्छ । हरेक ऋतुका लागि विशेष धुन हुने र शरद ऋतुको कौशलताका लागि मालश्री एउटा धुन भएको भनेर बुझ्न सकिन्छ ।

मालश्री धुनलाई मंगल धुन पनि भनिन्छ । पछिल्लो समयमा हरेक मंगल कार्यमा यो धुनको प्रयोग गर्ने गरिन्छ । यसले मालश्री धुनको महत्व झनै बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?