वाटरप्रुफ सौन्दर्य प्रसाधनः यसरी गर्नुस् मेकअप

वर्षामा सुन्दर भएर हिँड्ने इच्छा पूरा हुँदैन भन्ने चिन्ता धेरै महिलाहरुमा हुन्छ । पानी पर्ने मौसमा यस्तो सोच आउनु स्वाभाविक पनि हो । तर, संसारमा असम्भव भन्ने कुरा हराउँदै गएको देखिन्छ । 
अब चर्को घाम लागेको होस् वा ठूलो झरी परेको होस् कुनै विवाह, पार्टी, समारोहमा जाँदा मेकअप बिग्रन्छ भन्ने चिन्ता गरिरहनु पर्दैन ।

वर्षामा मात्र नभएर अन्य समयमा पनि वाटरप्रुफ सौन्दर्य प्रसाधनको माग बढ्दो छ । लामो समय टिक्ने एवं चित्ताकर्षक भएकाले यसको माग ह्वात्तै बढेको हो । वाटरपु्रफ मेकअप गरेकाहरू अत्यन्तै कन्फिडेन्ट देखिन्छन् । 

वाटरप्रुफ सौन्दर्य प्रसाधनलाई सौन्दर्य प्रसाधनका क्षेत्रमा आएको क्रान्तिकारी र पछिल्लो प्रविधियुक्त प्रसाधन भन्न रुचाउँछन् । वर्षा र गर्मी अर्थात् पसिना आउने समयमा यस्ता प्रसाधन वरदान साबित हुन्छ ।

प्राइमरः साधारण प्राइमर अर्थात् मेकअप गर्नुअघि स्किनको बेसमा लगाइने यो प्रसाधनले नेचुरल मेकअपमा ठूलो भूमिका खेल्छ । प्राइमर त्यसै पनि मेकअपलाई धेरै समय टिकाउन र अझ मनमोहक बनाउन प्रयोग गरिने प्रसाधन हो । लिक्विड फममा हुने प्राइमर अहिले वाटरप्रुफमा पनि उपलब्ध हुन थालेको छ । प्राइमर छनोट गर्दा जहिले पनि राम्रो ब्रान्डको उच्च गुणस्तरीय नै छनोट गर्नुपर्छ ।

मोइस्चराइजरः मोइस्चराइजरले सुख्खा छालालाई नरम एवं फ्रेस देखाउने काम गर्छ । मोइस्चराइजर ठ्याक्कै वाटरप्रुफ नै नभए पनि हिजोआज केही थिकमा आएको छ जसले छालालाई मोइस्चर प्रदान गर्ने मात्र नभई ग्लसी पनि देखाउँछ । मोइस्चराइजर बिनाको मेकअप पूर्ण हुँदैन । 

फाउन्डेसनः यो मेकअपको मूल प्रसाधन हो । यसले कन्टोरिङ गर्ने, फेसकट मिलाउने, दाग–धब्बाका साथै पिम्पल्स र ब्ल्याक हेड्स छोप्ने आदि काम गर्छ । यसले मेकअपमा पहिलो र महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । बजारमा वाटरप्रुफ फाउन्डेसनसमेत उपलब्ध छन् । यो फाउन्डेसन टिकाउ एवं मुहारमा चमक दिने खालको हुन्छ जुन साधारण फाउन्डेसनबाट प्राप्त गर्न सकिँदैन ।

कम्प्याक्टः मूलतः वाटरप्रुफमा ठूलो भोल्युममा आउने भनेकै कम्प्याक्ट हो । प्राइमरलगायतका स्किन बेसमा लगाइने प्रसाधन पछि अप्लाइ गरिने कम्प्याक्ट लुज र ग्लसी दुवै फममा उपलब्ध हुन्छ । साधारण कम्प्याक्ट २ देखि ४ घन्टासम्म टिक्छ भने वाटरप्रुफ कम्प्याक्ट १२ घन्टासम्म सहजै टिक्ने खालको हुन्छ । 

ब्लस एन्ड ब्लेन्डः ब्लेन्डले मेकअपलाई रिफाइन गर्ने काम गर्छ भने ब्लसले रोज सेडेडको काम गर्छ । यी दुवै मेकअप हाइलाइट्सका प्रसाधन हुन् जसले मेकअपमा फाइन ट्युनिङको भूमिका खेल्छन् । पछिल्लो समयमा यी दुवै प्रसाधन वाटरप्रुफमा उपलब्ध हुन थालेका छन् । रिमेल, ल्याक्मे तथा लोरियलले पनि यस्ता ब्लस र ब्लेन्ड दुवै ठूलो भोल्युममा वाटरप्रुफमै उत्पादन गर्ने गरेका छन् । 

मस्काराः हिजोआज वाटरप्रुफ भोल्युम मस्कारा नै बढी चलेको पाइन्छ । आँखा जस्तो संवेदनशील अंगमा लगाइने हुनाले स्वास्थ्यका हिसाबले पनि वाटरपु्रफ मस्कारा नै उपयुक्त छ । यो मस्कारा बढी टिकाउ हुनुका साथै यसले परेला नझार्ने, नबिगार्ने तथा आँखालाई धूलोका कणबाट जोगाउने कामसमेत गर्छ । 

गाजलः गाजललाई आँखाको सुन्दरता थप्ने मात्र नभई प्राकृतिक रूपमा आँखाको स्वास्थ्यसँग पनि जोडेर हेरिन्छ । घरमा बनाइएको गाजलले आँखालाई राम्रो गर्ने विश्वास गरिन्छ । हिजोआज बजारमा वाटरप्रुफ गाजलको बढी माग छ । 

लिपिस्टिकः वाटरप्रुफ लिपिस्टिक लगाइसकेपछि पानी पिउँदा पोखियोस् वा खानेकुरा खाँदा त्यति होसियार भइरहनु पर्दैन । वाटरप्रुफ लिपिस्टिक विभिन्न ब्रान्डमा सयौं कलरमा उपलब्ध छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?