काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट विभाजनको संघारमा पुगेको राष्ट्रिय जनमोर्चा पार्टीको भातृ संस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटाैँ) को २२औँ राष्ट्रिय सम्मेलन विवादमा तानिएको छ ।
केन्द्रीयसमितिका महासचिव महेशराज जोशीको नेतृत्वमा कैलालीको धनगढीमा राष्ट्रिय सम्मेलन सकिएसँगै केन्द्रीय अध्यक्ष विमल पोख्रेलको नेतृत्वमा बुटवलमा सम्मेलन भइरहेको छ ।
निवर्तमान महासचिव जोशीको नेतृत्वमा धनगढीमा भएको राष्ट्रिय सम्मेलनले महेशराज जोशीको अध्यक्षतामा उमेश कँडेल महासचिव रहेको ३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ भने उता निवर्तमान अध्यक्ष पोख्रेलको नेतृत्वको बुटवलको सम्मेलनले देवेन्द्र कुँवरको अध्यक्षतामा सुवाश जिसी महासचिव रहेको ३५ सदस्यीय समिति चयन गरेको बताइएको छ ।
अखिल छैटाैँ केन्द्रीय समितिका नवनिर्वाचित अध्यक्ष जोशीले आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा ३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको घोषणा गरेका थिए ।
‘हामीले २३ गते धनगढीमा गरेको राष्ट्रिय सम्मेलनमा देशभरका १ सय २ जना प्रतिनिधिको उपस्थितिमा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गर्यौँ,’ अध्यक्ष जोशीले भने,‘देशभरका साथीहरुको उपस्थितिमा धनगढीमा गरिएको २२औँ सम्मेलन नै आधिकारिक हो । हाम्रोमा अध्यक्ष पोख्रेल उपस्थित हुनुभएन ।’
यसअघि गत साउन १९ गते केन्द्रीय समितिको बैठकले पाल्पामा २२औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको बताउँदै जोशीले भने,‘अध्यक्ष पोख्रेलले गुटगत राजनीति गर्न खोजेर केन्द्रीय कमिटीलाई थाहै नदिई स्थान परिवर्तन गर्ने, जिल्ला सम्मेलनबाट निर्वाचित समितिलाई छलेर सम्मेलनमा अवैधानिक व्यक्तिहरुलाई सम्मेलनको प्रतिनिधि बनाएको विषयलाई हामीले विरोध गरेर धनगढीमा सम्मेलन गरेका हौँ ।’
उता बुटवलमा अहिले अखिल छैटाैँको राष्ट्रिय सम्मेलन भइरहेको निवर्तमान अध्यक्ष पोख्रेलले बताए । उनले भने, ‘बुटवलमा २२औँ राष्ट्रिय सम्मेलन भइरहेको छ । पदाधिकारी पनि चयन भइसकेका छन्, घोषणा गर्न मात्रै बाँकी छ । तर, धनगढीमा के भएको छ त्यो थाहा भएन, हाम्रो महासचिव बुटवलको कार्यक्रममा अनुउपस्थित हुनुहुन्छ।’
धनगढीमा भएको २२ औँ राष्ट्रिय सम्मेलनमा जोशीको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा मनोज शर्मा (बाग्लुङ), महासचिव उमेश कँडेल (कैलाली), सचिव आशिष जबेगु (इलाम), कोषाध्यक्ष प्रतिभा शर्मा (काठमाडौं), सचिवालय सदस्यहरुमा शिव चालिसे (बाग्लुङ), महेश भट्ट (कञ्चनपुर), हेमविक्रम चन्द (डोटी), एकेन्द्र कँडेल (कैलाली), सुमन भण्डारी (रुपन्देही), समर शाही (भक्तपुर) र सदस्यहरुमा नरेश झुकाल (डडेल्धुरा), कपिल जोशी (चितवन), संसार कार्की (बाँके), प्रेमप्रसाद भुषाल (प्यूठान), आरती न्यौपाने (सुर्खेत), रोशनी चौधरी (कपिलवस्तु), मिलन लम्साल (काठमाडौं), पुष्कर भट्ट (कञ्चनपुर), बिराट चन्द (बाँके), जनक आचार्य (कैलाली), महेश बिक (ललितपुर), प्रकाश जोशी (बैतडी), लोकराज अवस्थी (डोटी), सनकुमार राई (झापा), निरज थापा (बारा), सरिता सुवेदी (सुनसरी), जिवी कुँवर (अर्घाखाँची) र गणेश चन्द (काठमाडौं) लाई चयन गरिएको छ भने बाँकी दुई जनालाई पछि मनोनित गरिने अध्यक्ष जोशीले बताए । यस्तै सोही समितिको सल्लाहकारमा सागर कुँवर (काँस्की) र दिवश पौडेल (काठमाडौं) लाई चयन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया