मोदीलार्इ स्वागत गर्न जरूरी छैन : मसाल

काठमाडौं : मोहनविक्रम शिंह नेतृत्वको नेकपा (मसाल) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणप्रति आपत्ती जनाएको छ । 

पार्टी महामन्त्री शिंहले कडा शब्दसहितको विज्ञप्ति निकाल्दै मोदीको नेपाल भ्रमणप्रति मसालको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । 

मोदीलार्इ नेपालमा स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमान र सम्मानका विरुद्धको कुरा हुनेु मसालले विज्ञप्तिमा जनाएको छ । 

नेपालको संविधानको निर्माणको बेलामा त्यसको निर्माण र जारी हुन नदिन मोदी सरकारले धेरै नै दवाव दिएको बताउँदै मसालले संविधानलाई खारेज गराउन वा त्यसमा राष्ट्रघाती प्रकारका संशोधनहरु गराउन उनले नेपालका विरुद्ध नाकाबन्दी लगाउने काम गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘नेपालमा तराईमा आफ्ना मुट्ठीभर पृथकतावादीहरुलाई उक्साएर तराईलाई नेपालबाट अलग गराउन वा राष्ट्रिय विखण्डनका लागि उक्साउने काम गरेका थिए । नेपालको संविधानका विरुद्ध अन्तर्राष्ट्रिय अभियान नै चलाएका थिए ।’ भारतले नेपालाई पूरै नै आफ्नो नियन्त्रणमा राख्नका लागि भारतीय शासक वर्गहरुले चीनसितको सम्बन्ध विस्तारका सबै प्रयत्नहरुलाई रोक्नका लागि पूरै प्रयत्न गर्दै आएको पार्टीले जनाएको छ । 

नेपालको अन्य देशहरुसितको व्यापारलाई नियन्त्रण गर्न र नेपालमा आफ्नो एकलौटी बजार कायम गर्न भारतले अहिलेसम्म पारवहन सन्धिलाई अनुमोदन नगरेकोमा पनि मसालले असन्तुष्टि जनाएको छ । यसबाहेक कट्टर हिन्दूवादी चरित्रका कारणले मोदी सरकारले नेपाललाई हिन्दूराष्ट्र बनाउनका लागि कैयौं प्रकारका षडयन्त्रहरु गर्दै आएको मसालले विज्ञप्तिमा उल्लेख गरेको छ ।  

महामन्त्री सिंहले मोदी कुनै पनि अवस्थामा नेपालका मित्र नभएकाले उनको स्वागत गर्नु स्वाभिमान र सम्मानका विरुद्ध हुने बताउँदै उनको सरकारी वा गैरसरकारी स्तरमा स्वागत गर्ने कुनै पनि कार्यको कडा शब्दमा विरोध गर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?