ईश्वर पोखरेलले गरे ओलीलाई निरन्तरता दिने संकेत

लोकपथ
234
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा केपी ओलीलाई नै निरन्तरता दिने संकेत गरेका छन् ।

महासचिव पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै एमालेले नेतृत्व गरेको त्यो ध्रुवलाई सुदृढ बनाउनुपर्ने भन्दै पार्टीको आगामी महाधिवेशनमा पनि केपी ओलीलाई नै पार्टीको अध्यक्ष बनाउने संकेत गरेका हुन् । वडा दशैँ, तिहार, नेपाल संवत् र छठको अवसर पारेर आईतबार सञ्चारकर्मीसँग आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धन दलले नेतृत्व गरेको अर्को धु्रवलाई बलशाली हुन नदिन पनि एमाले नेतृत्वको सो पोललाई बलियो बनाउन जरुरी रहेको तर्क समेत गरे । महासचिव पोखरेलले आफूले अब पार्टीको महासचिवमा उम्मेदवारी नदिने घोषणा समेत गरे । विधानमा पनि २ पटक भन्दाबढि एउटै पदमा उठन नपाउने व्यवस्था गरेको र आफ्नो चाहना पनि तेस्रो पटक महासचिव बन्ने नरहेको उनको भनाई थियो ।

महासचिव पोखरेलले आफूलगायतका पार्टीको लिडिङ रोलमा रहेका नेताहरु इतिहास, निष्ठा, निरन्तरता र क्षमता सबै हिसावले पार्टी नेतृत्वका लागि स्वभाविक दावेदार भएको पनि दोहार्‍याए । उनले भने, ‘नेशनल पोलिटिक्स दुईटा पोलमा पोलराइज भएको छ । एउटा पोलको लिड एमालेले गरेको छ । जुन एमालेलाई केपी ओलीले नेतृत्व गर्नु भएको छ । त्यो पोल मजबुत हुन जरुरी छ । सुदृढ हुन जरुरी छ । ताकि यो अर्को पोल जो अवाञ्छित ढंगले गतिविधि गरिराखेको छ । त्यो पोल चाँही बलशाली बन्नु हुँदैन भन्ने हाम्रो मान्यता छ । त्यसकारणले हामी राष्ट्रिय राजनीतिको यो परिप्रेक्ष्यमा कुन ठाउँमा उभिनुपर्छ, त्यसका लागि मानसिक रुपमा तयार छौं । जहाँसम्म म २ चोटी महासचिव भए, अव के हुन्छु ? तेस्रो चोटी महासचिव हुन्न । विधानले पनि दिँदैन । मेरा व्यक्तिगत चाहनाले पनि दिँदैन । तर हामीहरु कुन खालको जिम्मेवारी लिने हो, त्यो जिम्मेवारीका लागि म मात्रै होईन् मेरो पार्टीका लिडिङ टिममा रहेका हरेक साथीहरु त्यसका लागि तयार हुनुहुन्छ । जुनसुकै जिम्मेवारी लिनुपर्दा खेरी त्यसको लागि तयार हुनुहुन्छ । यो राष्ट्रिय राजनीतिको स्थिति हो । त्यसलाई सबल बनाउनका लागि हामी लाग्छौं ।’

महासचिव पोखरेलले आगामी मंसीरको दोस्रो साता पार्टीको दशौं राष्ट्रिय महाधिवेशन हुने र त्यसले पार्टी नेतृत्व चयन गर्ने बताए । उनले आफ्नो पार्टी छिटोभन्दा छिटो निर्वाचनमा जाने पक्षमा रहेको स्पष्ट पारे । तर त्यसका लागि कांग्रेस वा अन्य दलसँग मिलेर गठबन्धन बनाउने पक्षमा भने आफूहरु नरहेको महासचिव पोखरेलको दाबी रहेको थियो । उनले भने, ‘यो संसद, संसदलाई नेतृत्व गर्ने व्यक्तिका यी सबै कुराहरु हामी देख्दैछौं । त्यिसकारणले ताजा जनादेशमा जानु जरुरी छ । त्यो मुलुकको हितमा छ भन्ने हाम्रो भनाई हो । यो ताजा जनादेशमा जानका लागि अव शेरबहादुर देउवाजीसित वा अरुकोही सित मिलेर सरकारका जाने कुरा हुन्छ रे भन्ने पनि सुनियो हाँस पनि उठ्यो मलाई । म सबै साथीहरुलाई भन्न चाहन्छु–हामी यो बीचमा सरकार गएर आत्मबल प्राप्त गर्ने योजनामा छैनौं । हामी त्यो ठान्दैनौ । तर हामी के भन्छौ भने जतिधेरै यो गन्जागोल रहन्छ, मुलुकले त्यति धेरै दुःख पाउछ । त्यसकारणले जति चाँडो ताजा जनादेशमा जाने कुरा हुन्छ भने त्यो बेटर अपशन हो भन्ने हामीलाई लाग्छ । तर यो बेटर अपशन प्राप्त गर्नका लागि अश्वभाविक लाग्ने गठबन्धन गर्ने पक्षमा होईनौं, यसो गर्ने पक्षमा छैनौं ।’

महासचिव पोखरेलले अदालतलाई राजनीति नगर्न चेतावनी दिए । अदालत संविधान अनुरुप नहिँडेको दाबी गर्दै उनले आपत्ति समेत जनाए । उनले भने, ‘जहासम्म अदालतको कुरा हो । अदालतले पोलिटिक्स गर्ने होईन । अलादत अदालत जस्तो हुुनुपर्‍यो । अदालत संविधान अनुरुप राजनीतिक दलसम्बन्धि कानुन छ, त्यो कानुनलाई हेक्का राखेर चल्नुपर्ने हो । तर त्यस्तो भईराखेको छैन ।’

महासचिव पोखरेलले आफ्नो पार्टीले देश र जनताको पक्षमा काम गर्न सरकारलाई निरन्तर दवाव दिईरहने प्रतिवद्धता समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?