एउटै जग्गा दुई संस्थालाई भाडामा

काठमाडौँ-  नेपाल बाल संगठनले आफ्नो भोगचलनमा रहेको सरकारी जग्गा कानुनविपरीत एकै समय दुई संस्थालाई भाडामा दिएपछि सुरु भएको विवाद फेरि बल्झिएको छ ।

 

संगठनले १५ वर्षअघि नक्सालस्थित कार्यालय परिसरको १३ रोपनी १२ आना एक पैसा जग्गा प्रचलित नियम मिचेर कौडीको भाउमा बृहस्पति विद्या सदन नामक स्कुललाई ३० वर्षका लागि भाडामा दिएको थियो ।

उक्त विषयमा विवाद बढेपछि संगठनले एकतर्फी रूपमा सम्झौता भंग गरी सोही जग्गा २०६६ फागुन १३ गते मनोज मिश्रको तरुण निर्माण सेवा प्रालिलाई ३५ वर्षका लागि भाडामा लगाएको थियो । त्यसबापत संगठनले तरुणबाट एक करोड रुपैयाँ बुझेको थियो । लगत्तै स्कुल त्यसविरुद्ध कानुनी उपचारमा गएको थियो ।

लामो अदालती दौडधुपबाट दुवै पक्षलाई फाइदा नहुने निष्कर्षमा २०७२ साउन ४ गते संगठन र बृहस्पतिबीच पूरक सम्झौता भयो । १५ वर्षअघिको सोही जग्गाको भाडादर बढाई पुन: सम्झौता गरिएपछि नयाँ विवाद सतहमा आएको हो ।

तरुणले २०७४ चैत १९ गते आफूले एक करोड रुपैयाँ बुझाएर भाडामा लिएको जग्गा अझै भोगचलन गर्न नपाएको भन्दै संगठनसमक्ष पत्राचार गरेको छ, कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?