खसीबोकाको मासुमा प्रतिकेजी १० रुपैयाँ छुट, दैनिक ५ सय खसीबोका बिक्री हुने अनुमान

लोकपथ
468
Shares

काठमाडौं । दशैँ, तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल संचालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंका लागि खसी र बोकाको मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकेको छ ।

कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा प्रतिकेजी ६ सय ५० रुपैयाँ मूल्यमा विक्री गर्ने तय गरेको खसीबोकाको मूल्य दशैँका लागि प्रतिकेजी १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँमा बिक्री वितरण गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसीबोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकहरुलाई आग्रह गरे । उनले खसीबोकाको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाए ।

कम्पनीले हाल २ हजार खसीबोका बिक्रीका लागि ल्याएको छ । तर ग्राहकहरुको चाप बढेकाले आवश्यक्ता अनुसार फेरी पनि खसीबोका थप गरेर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयकी प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिए । उनले दैनिक ५ सय वटा खसीबोका बिक्री वितरण हुने अनुमान गरिएको समेत बताए ।

यता ग्राहकहरुले पनि बजारमा भन्दा सस्तोमा खसीबोका उपलब्ध भएको भन्दै खुशी व्यक्त गरेका छन । उनीहरुले खसीबोका स्वस्थ रहेको र बिक्री वितरणको व्यवस्था पनि गत वर्षको भन्दा सहज भएको प्रतिक्रिया दिएका छन ।

कम्पनीले विहान ७ बजेबाट अपरान्ह ५ बजेसम्म खसीबोका बिक्री वितरणको व्यवस्था मिलाएको छ । कम्पनीले यस वर्ष कोरोनाका कारण चीनबाट च्याङ्ग्रा भने भित्र्याउन नसकिएको स्पष्ट पारेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले ग्राहकहरुले उत्साही ढंगले खसीबोका खरिद गरिरहेको बताए । उनले बजारमा भन्दा सस्तोमा पाइने हुनाले ग्राहकहरु कम्पनीमा खरिद बिक्रीका लागि उत्साहका साथ आउने तर्क समेत गरे । कम्पनीले यस वर्ष दाङ र मकवानपुरबाट खरिद गरेर खसीबोका ल्याइएको पनि जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?