पोखरा विश्वविद्यलायमा अन्तर्राष्टिय अनुसन्धान केन्द्र तथा आवास गृह बन्ने

RSS
195
Shares

कास्की । पोखरा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र तथा आवास गृह बन्ने भएको छ । ओपन इन्टरनेशनल रिसर्च सेन्टर एण्ड गेष्ट हाउसका रुपमा बन्न लागेको उक्त भवन पोखरा विश्वविद्यालयका शिक्षण संस्थाहरूको सङ्घ नेपाल (ओपन) द्वारा विश्वविद्यालयको रजतजयन्तीको अवसरमा पोखरा विश्वविद्यालयसँग सहकार्य गरी निर्माण गर्न लागिएको हो ।

करिब १२ करोड रुपैयाँको लागतमा निर्माण हुने उक्त भवन पोखरा महानगरपालिका वडा नं ३० स्थित विश्वविद्यालयको प्राङ्गण लेखनाथमा अवस्थित ११४ रोपनी प्लटको डि ब्लकमा निर्माण हुनेछ । दुई वर्षमा निर्माण सम्पन्न गरी हस्तान्तरणको योजना बनाइएको भवन करिब चार हजार वर्गफिट प्रतितलाका दरले सम्पूर्ण पूर्वाधारसहित चार तला र सुविधा सम्पन्न ३३ ओटा कोठा र हल रहने जनाइएको छ ।

पोखरा विश्वविद्यालयको समग्र उन्नयन एवम् शैक्षिक तथा अनुसन्धानात्मक वातावरणलाई विश्वस्तरीय बनाइ विश्वविद्यालयको छवि उच्च बनाउने उद्देश्यस्वरूप विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ५८ वटा कलेजहरूले अन्तर्राष्टियस्तरको अनुसन्धान केन्द्र तथा आवास गृह निर्माण गर्न लागेका हुन ।

निर्माणाधिन भवनको आज एक कार्यक्रमकाबीच पोखरा विश्वविद्यालयका उपकुलपतिप्रा.डा. प्रेमनारायण अर्यालले शिलान्यास गरे । उपकुलपति अर्यालले विश्वविद्यालयलाई सबैले पवित्रस्थलको रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै यसको विकास भएमा मात्र समाजको उन्नति हुने बताए । विश्वविद्यालयमा नयाँनयाँ अनुसन्धान र परिवर्तनको अझ खाँचो रहेको बताउँदै उनले ओपनले निर्माण गर्न लागेको अन्तर्राष्टिय अनुसन्धान केन्द्र तथा आवास गृहले विश्वविद्यालयलाई थप उचाईमा लैजाने विश्वास व्यक्त गरे ।

विश्वविद्यालयका रजिष्ट्रार डा. दिपकबहादुर भण्डारीले विश्वविद्यालय सबैको साझा संस्था भएकोले यसको विकासमा सबै एकै ठाउँ र समूहमा बसेर काम गर्नुपर्नेमा जोड दिए । विश्वविद्यालयको व्यवस्थापन सङ्कायका डीन डा दयाराज ढकाल, ओपनका अध्यक्ष एवं नोबेल कलेजका संस्थापक÷प्राचार्य नवराज पाण्डे, अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टका संस्थापक÷प्राचार्य तथा भवन निर्माण समितिका संयोजक हरि भण्डारी, लेखनाथ नगरपालिकाका पूर्व प्रमुख विष्णु पोखरेल, पोखरा महानगरपालिका वडा नं. ३० का वडाअध्यक्ष श्रीराम पोखरेल, कामु उपप्रशासक रोशन पाण्डे लगायतले निर्माणाधीन अनुसन्धान केन्द्र तथा आवास गृहले विश्वविद्यालयको समग्र उन्ननयनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?