कस्तो छ नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्नेहरूको विगत ?

गठबन्धन सरकारमा नेकपा एमाले फुटेर बनेको एकीकृत समाजवादीले ४ मन्त्री र १ जना राज्य मन्त्री पाएको छ । गत असार २९ मा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले ८८ दिनपछि सरकारलाई पूर्णता दिएका हुन् । एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरू यसअघि एमालेमा रहँदा अवसर नपाएका सांसदहरू छन् ।

विरोध खतिवडा

वर्तमान सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका विरोध खतिवडा मन्त्रीमा नयाँ अनुहार हुन् । उनी २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुर जिल्ला क्षेत्र नम्बर २ बाट एमालेको तर्फबाट विजयी भएका थिए । एमालेमा विवाद बढ्दै जाँदा उनी माधव नेपालको पक्षमा लागे ।

अहिले उनी नेकपा एकीकृत समाजवादीमा छन् । २०१७ सालमा हेटौंडामा जन्मिएका खतिवडाले कानुनमा स्नातक अध्ययन गरेका छन् । उनलाई कानुनविद् पनि हुन् । खतिवडाको परिवारमा श्रीमती मुनु सिग्देल, एक छोरा र एक छोरी छन् । उनकी छोरी श्रृंखला खतिवडा पूर्वमिस नेपाल हुन् । उनकी श्रीमती मुनु पनि समावादीको बागमती प्रदेशसभा सदस्य छिन् । खतिवडा २०४८, २०५१ र २०५६ मा पनि प्रतिनिधिसभामा निर्वाचित भएका थिए । प्रतिनिधिसभामा राम्रो बोल्ने सांसदको छवि बनाएका खतिवडाले राजनीतिक जीवन भने २०२८ सालमा विद्यार्थी जीवनबाट सुरु गरेका हुन् । खतिवडा २०३५ सालमा अनेरास्ववियु काठमाडौँ जिल्ला अध्यक्ष, २०३७ देखि २०४० सम्म अनेरास्ववियुको केन्द्रीय सदस्य रहेका थिए । पञ्चायतविरुद्धको आन्दोलन र राजतन्त्रविरुद्धको आन्दोलनका क्रममा पटक–पटक जेल परेका थिए ।

हाल एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य रहेका उनी एमालेको लेखा आयोगको सदस्य, उद्योग विभागको सदस्य भएर भएका थिए । उनले नेपाललाई समृद्ध बनाउनका लागि गाँजा खेतीलाई मान्यता दिनुपर्ने पक्षमा छन् ।

रामकुमारी झाँक्री

सहरी विकास मन्त्री बनेकी रामकुमारी झाक्री पछिल्लो समय निकै चर्चामा रहेकी छिन् । एमाले विभाजन हुँदा माधव नेपाललाई साथ दिएकी झाँक्री आफ्नो अडानका कारण चर्चामा रहिन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको खरो आलोचकका रुपमा चर्चा कमाइन् । झाँक्री पनि पहिलो पटक मन्त्री बनेकी हुन् । उनी २०७४ मा समानुपातिक कोटाबाट एमालेको सांसद बनेकी थिइन् ।

अहिले भने उनी एकीकृत समाजवादीमा छिन् । २०३५ जेठ १० गते गुल्मीको मदाने गाउँपालिकामा जन्मिएकी झाँक्री पनि विद्यार्थी राजनीतिबाटै यहासम्म आइपुगेकी हुन् । उनले अनेरास्ववियुबाट राजनीतिक यात्रा तय गरेकी हुन् ।

२०४७ बाट उनले विद्यार्थी राजनीति सुरु गरेकी हुन् । अनेरास्ववियुको १९औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा निर्वाचित झाँक्रीले एमालेको विभिन्न तहमा रहेर काम गरेकी थिइन् । एमालेको नवौँ राष्ट्रिय अधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

अहिले उनी एकीकृत समाजवादीको सचिव छिन् । झाँक्रीले कानुन र मानविकीमा स्नातकोत्तर पास गरेकी छिन् । झाँक्रीको परिवारमा श्रीमान् र एक छोरा छन् ।

कृष्णकुमार श्रेष्ठ ( किसान)

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका कृष्णकुमार श्रेष्ठ (किसन) २०७४ को निर्वाचनमा तनहुबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएर नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

उनको जन्म २०२४ पुस ७ गते तनहुँमा भएको हो । उनलाई केपी शर्मा ओली सरकारलाई टिकाउन एमाले सांसद महेश बस्नेत र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग मिलेर जनता समाजवादी पार्टी (जसपा)का सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गर्न खोजेको आरोप लागेको थियो ।

२०५२ सालमा एमालेको सदस्यता लिएका श्रेष्ठ २०३८ सालमा अनेरास्ववियुको जिल्ला कमिटीमा आबद्ध थिए । हाल एकीकृत समाजवादीको केन्द्रीय सदस्य रहेका श्रेष्ठ मन्त्रीमा नयाँ अनुहार हुन् । एमाले विभाजनमा उनले माधव नेपाललाई साथ दिएर समाजवादीमा आएका हुन् । उनी व्यापार व्यवसायमा पनि संलग्न छन् ।

प्रेमबहादुर आले

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका प्रेम आले पनि एमाले विभाजनमा माधव नेपाललाई सघाउने नेता हुन् । आले एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादीमा लागेका हुन् । २०२८ वैशाख १५ मा डोटीको जरायल गाउँपालिमा जन्मिएका आले २०७४ मा प्रतिनिधिसभा निर्वाचनमा डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । त्यसअघि उनी दोस्रो संविधानसभा निर्वाचनमा पनि डोटी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

आले केपी शर्मा ओली नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री रहेका थिए । आले २०६२/०६३ सालको जनआन्दोलका क्रममा १३ दिन धुनामा परेका थिए । उनी २०५४ मा एमाले डोटी जिल्ला कमिटी सदस्य भएका थिए । आले एमालेको नवौँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

आईएसम्मको अध्ययन गरेका आलेको परिवारमा श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

भवानीप्रसाद खापुङ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका भवानीप्रसाद खापुङ एमालेका तर्फबाट २०७४ को निर्वाचनमा तेह्रथुमबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी पनि एमालेबाट विद्रोह गरेर माधव नेपालको एकीकृत समाजवपादी पार्टीमा लागेका सांसद हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?