शिक्षामन्त्रीज्यू यो विद्यालय हो कि गोठ ?

महोत्तरी-   न भवन छ, न विद्यार्थी बस्ने डेस्क बेन्च नै ! हिउँद होस् या गर्मी, बोरा ओच्छ्याएर पढ्न बस्छन् विद्यार्थी । यो दृश्य शिशुदेखि कक्षा दुईसम्म पढाइ हुने महोत्तरी गौशाला नगरपालिका—६ फूलकाहास्थित दलित बस्तीमा रहेको
जनता आधारभूत विद्यालयको हो । अन्नपूर्ण पोस्टमा खबर छ |
यो विद्यालय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल निर्वाचित भएको क्षेत्रमा पर्छ । यस्तै दुई पटक संविधानसभा सदस्य र अहिले प्रदेश सांसदमा निर्वाचित माओवादी केन्द्रका नेता भरतप्रसाद साहको पनि गाउँ हो यो । प्रतिनिधिसभा सांसद दिलकुमारी साहको गाउँ पनि यही हो ।

गाईभैंसी, बाख्रा बाँध्ने गोठनजिकै एकै ठाउँमा बसेर कखरा पढ्छन् विद्यार्थी । झट्ट हेर्दा गोईभैंसीको गोठ हो कि विद्यालय खुुट्ट्याउनै मुस्किल पर्छ ।

फूलकाहाको दलित मुसहर बस्तीमा ०६६ सालमा जनता आधारभूत विद्यालय खोलिएको हो । मुसहर बस्तीको सामुदायिक भवनलाई देखाएर विद्यालय दर्ता गरिएको थियो ।

विद्यालयको नाममा एक धुर पनि जग्गा छैन । कक्षाकोठा पनि छैन । भौतिक संरचनाबिनै जिल्ला शिक्षा कार्यालय महोत्तरीले विद्यालय सञ्चालन अनुमति दियो ।

विद्यालय खुलेको ९ वर्ष बितेको छ । एउटा टेबल, दुई थान कुर्सी र एउटा ब्ल्याक बोर्ड मात्रै छ विद्यालयको सम्पत्ति । ब्ल्याकबोर्ड पनि फुटेर प्लाई उक्किसकेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?