काठमाडौँ। शाकार अग्रवाल धरानका स्थायी बासिन्दा हुन् । उनको बाल्यकाल धरानमै बित्यो । सानैदेखि उनी पढ्नमा भने खासै रुचि राख्दैनथे । १० कक्षा पढ्ने बेलासम्म उनी पढाइमा अल्छी नै थिए । तर एसएलसी आउने बेलामा भने शाकारले राम्रोसँग पढे । यसको परिणाम उनी विशिष्ट श्रेणीमा उत्तीर्ण भए ।
त्यो क्षण सम्झँदै शाकार भन्छन्, ‘एसएलसीमा विशिष्ट श्रेणी आएपछि बल्ल पढ्नुपर्छ भन्ने बुझेँ ।’एसएलसीमा राम्रो नतिजा आएपछि परिवार र छरछिमेक सबैले सम्मान गरे, इज्जत गरे अनि धेरै माया पनि । त्यसपछि उनको पढाइप्रति रुचि बढ्यो । उनले धरानमै व्यवस्थापनमा १२ कक्षासम्म पढे । उनको रुचि इन्जिनियरिङमा भए पनि उनलाई परिस्थितिले व्यवस्थापन पढ्नुपर्ने भयो ।
रुचि एकातिर काम अर्काेतिर
शाकारलाई आफ्नो रुचिको क्षेत्र इन्जिनियरिङ छोडेर अन्य क्षेत्रमा लाग्ने मन थिएन । तर घरको आर्थिक अवस्थाका कारण व्यवसायमा आउन बाध्य भए । परिवार व्यावसायिक पृष्ठमूमिको भए पनि उनले अध्ययन गर्ने बेलामा भने परिवारको आर्थिक अवस्थाले साथ दिएन । त्यसैले अग्रवालले व्यवसायमा लाग्ने निधो गरे ।

८ कक्षादेखि नै उनले बुबा (अशोककुमार अग्रवाल)को व्यवसायमा सघाउँथे । बुबा पसलका लागि सामान लिन भारत जाँदा शाकारले नै व्यवसाय धान्थे । त्यसले पनि उनमा व्यवसायको छाप बसिसकेको थियो ।त्यो क्षण सम्झँदै शाकार भन्छन्, ‘म बुबाको व्यवसायमा उहाँपछिको सेकेन्ड म नै थिएँ ।’ उनलाई त्यही व्यवासयको छापले व्यवसाय क्षेत्रमा सफल बन्न मदत ग¥यो ।
व्यवसायमा आउन काकाको प्रेरणा
शाकारको परिवार आर्थिक रूपमा कमजोर भएकाले व्यवसायमा लगानी गर्ने ठूलो रकम थिएन । तर परिवार धान्न व्यवसाय गर्नै पर्ने अवस्था थियो । ठूलो लगानी गर्नसक्ने अवस्था थिएन । काठमाडौँमा व्यवसाय गर्दै आएका काका राजेश अग्रवालको प्रेरणाले उनलाई यस क्षेत्रमा लाग्न हौसला दियो ।
‘काकाले सधैँ म छु नि, चिन्ता नलिनू भन्नुहुन्थ्यो’, शाकार भन्छन्, ‘काका परिवारमा एकमात्र त्यस्ता व्यक्ति थिए, जसले आफ्नो परिवारका जो–कोहीलाई पनि व्यवसायमा माथि उठाउन हदैसम्मको सहयोग गर्नुहुन्थ्यो ।
१३ वर्षे व्यावसायिक यात्रा
सानैदेखि बुबाको व्यवसायमा सघाउँदै आए पनि उनी पूर्णरूपमा व्यवसायमा प्रवेश गरेको १३ वर्ष भयो । सुरुमा काका तथा अन्य सहयोगीहरूको सहयोगले ५० लाख रुपैयाँ लगानी गरेर आफ्नो छुट्टै कार्पेट तथा पर्दाको व्यवसाय सुरु गरे । उनको पुख्र्यौली व्यवसाय पनि त्यही नै थियो ।

काका व्यवसायमा केही राम्रो गरेका र छरछिमेकले चिनेजानेका व्यक्ति थिए । काकासँगै अन्य आफन्तले पनि व्यावसायिक क्षेत्रमा लाग्न सुझाएपछि शाकार काकालाई पच्छ्याउँदै व्यवसायमा लागे । व्यवसाय विस्तार गर्न उनले दिनरात मिहिनेत गरे । पूर्ण उत्साहका साथ काम गरे । उनले व्यवसायलाई विस्तारै उचाइमा लगे । काममा सफता पाउन पूर्ण ऊर्जाका साथ काम गर्नुपर्ने बुझेका छन् उनले ।
हिन्दी कथानक चलचित्र ‘थ्री इडिएट’को भनाइ स्मरण गर्दै भन्छन्, ‘हामीले जे काम गरिन्छ इन्जोएका साथ गर्नुपर्छ, त्यसले चाँडै सफलता दिलाउँछ ।’ सो चलचित्रमा आफूलाई जे गर्नु छ, त्यो उत्साहका साथ गर, सफल हुन्छौँ भन्ने सन्देश समेटिएको छ । यसैलाई मूल मन्त्र मानेर व्यवसायमा अघि बढेका युवा व्यवसायी अग्रवाल आज सफल व्यवसायीका रूपमा चिनिन्छन् ।
उनको ५० लाखको व्यवसाय विस्तार भएर अहिले ३ करोड रुपैयाँको हाराहारीमा पुगेको छ ।
उनको ‘म्यापल फर्निसिङ’ र ‘विधी ट्रेडर्स’ले काठमाडौँभरि व्यवसाय विस्तार गरिरहेका छन् ।कम्पनीको कार्यकारी निर्देशक भएकाले यी व्यवसायलाई कसरी अझै सफल बनाउन सकिन्छ भन्ने कुरामै उनी दिनरात लागिपरेका छन् । यी कम्पनीहरूले पर्दा, कार्पेट, विभिन्न खालका फर्निचरका सामानहरू, एसी, टिभी, ल्यापटप, होटलहरूका लागि आवश्यक म्याट्रेस, कर्टनलगायतका विभिन्न सामानहरूको व्यापार गर्दै आएका छन् ।

हाल बालुटार, क्षेत्रपाटी, तीनकुने र मैतीदेवीमा मात्र शाखा कार्यलय रहे पनि मागअनुसार उपत्यकाबाहिर समेत सामान पठाउने गरेको अग्रवालले बताए । सबै शाखामा गरी २२ जना कर्मचारीले रोजगारी पाएका छन् ।
आगामी योजना
शाकारको मुख्य योजना भनेको भविष्यामा ठूलो डिपार्टमेन्ट स्टोर बनाउने छ ।‘बिग मार्ट र भाटभाटेनीजस्तै फर्निचर र फर्निसिङका सबै सामानहरू एकै ठाउँमा पाउने स्टोर बनाउने लक्ष्य छ ।’ उनी भन्छन्, ‘जब कुनै पनि सेवाग्राही डिपार्टमेन्ट स्टोरमा प्रवेश गर्छ, तब उनसलाई आवश्यक पर्ने फर्निसिङका सबै सामान उपलब्ध होस् । कुनै सेवाग्राहीलाई पनि खाली हात जान नपरोस् ।’
व्यावसायिक टिप्स
व्यवसायमा सफल हुन मिहिनेतले मात्र नपुग्ने बुझाइ छ, युवा व्यवसायी शाकारको । व्यवसायमा सफल हुन केही महत्वपूर्ण तरिकाहरू पनि अनुसरण गर्नुपर्ने उनले बताए । सफल व्यवसायी बन्ने तीन सूत्र ‘धैर्यता, लगनशीलता र निष्ठा’ रहेको उनले बताए । त्यति मात्र होइन, व्यवसाय गर्दा व्यवस्थापन पनि निकै चुस्त हुनुपर्ने उनको बुझाइ छ ।
कर्मचारीहरूलाई साथीभाइजस्तो व्यवहार गरेर काममा लगानुपर्छ । रिसाउनु हुँदैन । रिसाउँदा कर्मचारीबाट गुणस्तरीय काम लिन नसक्ने उनको अनुभव छ । ‘यदि व्यवसायमा होस् या अन्य कुनै पनि क्षेत्रमा होस् कर्मचारीलाई काम लगाउँदा धैर्य र शान्तिपूर्ण तरिकाले काम गर्ने वातावरण मिलाउनुुपर्छ’, उनले भने ।

युवालाई सन्देश
रोजीरोटीका लागि नेपालबाट वर्षेनी हजारौँ युवाहरू विदेश जाने गर्छन् । उनीहरूले त्यसका लागि १ लाख ५० हजारसम्म खर्च गर्छन् । त्यही खर्चले नेपालमै व्यवसाय गर्न सकिने र राम्रो आम्दानी गर्न सकिने उनको बुझाइ छ ।
वैदेशिक रोजगारीका लागि खाडी मुलुकहरूमा जाने नेपाली युवालाई उनी नेपालमै केही गर्न आग्रह गर्छन् । ‘हामी युवाले स्वदेशमै पसिना बगाएर सुन फलाउन सकिन्छ’, उनले भने । पछिल्लो समय धेरै उद्योग कलकारखाना खुलिरहेकाले पनि धेरैले स्वदेशमै रोजगारी पाउने भन्दै आफ्नै देशको विकासमा इँटा थप्न आग्रह गर्छन्, उनी ।
करको समस्या
व्यवसायमा मुख्य गरेर करको समस्या रहेको अग्रवालको अनुभव छ । ५ सय रुपैयाँमा किनेर ल्याएको सामानको राजस्व तिर्नुपर्दा नेपालले २ सय रुपैयाँ मूल्यांकन गरेर राजस्व काट्छ । ‘यसो गर्दा व्यवसायीलाई समस्या पर्छ । घाटाको व्यवसाय कसले गर्ने ? उनले भने, ‘यस्तो समस्या हटाएर सहज व्यवस्था गर्न उनी सरकारलाई आग्रह छ ।’
सरकारले व्यवसायीहरूलाई ऋणको व्यवस्था गरे पनि युवामाझ त्यस्तो ऋण नपुगेको उनी गुनासो छ उनको । ऋणको सहज पहुँच नहुँदा व्यवसायमा आउन चाहेका युवा पनि आउन नसकेको उनको बुझाइ छ । ऋणसम्बन्धी व्यवस्थालाई केही सहज बनाउनुपर्नेमा उनले जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया