हल खुल्दै गर्दा स्टार कलाकारको बेवास्ता, तत्काल रिलिज हुने फिल्मलाई ७ लाख सहयोग

लोकपथ
299
Shares

काठमाडाैं ।असोज २१ अर्थात् बिहीबारबाट देशभरका हल सञ्चालनमा ल्याउने तयारी प्रदर्शकहरूको छ । तर, हल खुल्न लागेको विषयमा जानकारी दिन कुनै पनि कलाकारले एक पनि शब्द बोलेका छैनन् ।

फिल्म लाग्दा ठूला ब्यानरमा कलाकारकै तस्बिर आउँछन् । सेलिब्रेटीको यो चालाले फिल्म क्षेत्र चलायमान नै नहोस् भन्ने चाहना भएको त होइन ? भन्ने प्रश्न उब्जेको छ ।

मंगलबार चलचित्र विकास बोर्डमा आयोजना भएको ‘सिनेमा हल सञ्चालन तथा प्रदर्शन हुने चलचित्रको मिति घोषणा’ कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्षदेखि चलचित्र कलाकार संघका अध्यक्षसम्मले अधिकांश फिल्मकर्मीलाई कार्यक्रममा आउनका लागि आग्रह गरे ।

तर, कलाकारको रूपमा नायक भुवन केसी मात्र सहभागी भए त्यो पनि निकै ढिला । उनी पुग्नु अगावै चलचित्र संघका महासचिव अशोक शर्माले कलाकारको बेवास्ताप्रति चर्को आलोचना गरिसकेका थिए ।

संघका अध्यक्ष मधुसुदन प्रधानले पनि सो विष्यायमा असन्तुष्टि जनाए । उनले भने, ‘हामी यहाँ एक रथका दुई पांग्राको कुरा गर्छौँ । नङ र मासुको सम्बन्धको कुरा गर्छौँ । तर, हल खुल्दा खै त कलाकारहरूको साथ ? किन बोलेका छैनन् कलाकार ?’

हलमा चलचित्र चलेको आधारमा नै कलाकारको स्टारडम र क्रेजको मापन हुन्छ । हल नै नहुने हो भने कलाकारको कलाकारिता देखाउने कहाँ ? तर, निषेधाज्ञापछि हल खोल्ने प्रशासनको निर्णय होस् या हल खोल्ने चलचित्रसँग सम्बन्धित संघसंस्थाको निर्णय नै किन नहोस्, कलाकारले चुइँक्क बोल्न पनि आवश्यक ठानेका छैनन् । यस्तो लाग्छ उनीहरूलाई हल खोल्नुसँग कुनै साइनो नै छैन ।

कलाकारको बेवास्ताले विकास बोर्डका अध्यक्ष दयाराम दाहालको मन नै अमिलो भयो । उनले भने, ‘आज यो हलमा भुवन केसीबाहेक कोही पनि कलाकार उपस्थित छैनन् । यसले मेरो मन अमिलो बनाएको छ । धेरै चलचित्रकर्मी एकसाथ जम्मा हुन पाएको भए यसले आवाज बुलन्द बनाउन मदत पुग्ने थियो । हामी चलचित्रकर्मीको आवाज नै सबैको आवाज हो । तर, यो विषयमा कलाकारहरू बोलेको सुनिएको छैन ।’

तत्काल रिलिज हुने फिल्मलाई ७ लाखबराबरको सहयोग

बोर्डले हल खुलेको तीन महिनाको अवधिभित्र रिलिज हुने फिल्मलाई सर्भर इनकोडिङ, पब्लिसिटी, प्रचार सामग्री छपाइलगायतको शीर्षकमा ७ लाखबराबरको सहयोग गर्न लागेको छ ।

बोर्ड अध्यक्ष दयाराम दाहाल भन्छन्, ‘तत्काल रिलिज हुने नेपाली फिल्ममा हामीले जति पनि सहयोग गर्न लागेको छौँ त्यो बोर्डको आन्तरिक स्रोतबाट हो । विदेशी फिल्म प्रदर्शनबापत प्राप्त हुने शुल्कले बोर्ड चल्ने गर्छ । जुन २० महिनादेखि शून्य अवस्थामा छ । यसका बाबजुद पनि फिल्म क्षेत्रलाई चलायमान बनाउन बोर्डले आन्तरिक स्रोतबाट सक्ने सहयोग गर्दै आएको छ ।’

निर्माणमा जाने फिल्ममा सहयोग गर्न पनि बोर्डले सूचना तथा सञ्चार मन्त्रालयसँग माग गरेको र यो मागलाई मन्त्रालयको योजना शाखाले राहत प्याकेज शीर्षकमा राखेर अर्थ मन्त्रालय पठाएको अध्यक्ष दाहालले जानकारी दिए । प्रोजेक्ट लोनको विषयमा पनि कुरा अगाडि बढेको बताउँदै उनले छायांकनमा जाने फिल्मलाई बोर्डले डेढ लाखसम्मको ‘प्रोजेक्ट बीमा’ उपलब्ध गराएको बताए ।

गठबन्धन सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको ‘राहत प्याकेज’ अन्तर्गत कोरोनाका कारण फिल्म क्षेत्रमा भएको क्षतिको वितरण माग भएकाले यसबाट केही माग सम्बोधन हुनेमा उनको विश्वास छ । ठूला फिल्मको लगानी सुरक्षित गरेर प्रदर्शन गर्ने विषयमा पनि बोर्ड गम्भीर रहेको बताउँदै दाहालले फिल्म क्षेत्रलाई चलायमान बनाउन सबै एकजुट हुन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?