काठमाडौँ- भारतका तीन पूर्वराजदूत १८ दिनदेखि नेपालमा छन् । उनीहरू कुनै राजनीतिक भेटघाटका लागि आएका भने होइनन् । पर्यटकका रूपमा आए पनि राजदूत भएर गइसकेकाले आफ्ना निकटस्थलाई मात्र भेट्दा पनि राजनीतिक भेटघाट नै हुने अधिकारीहरू बताउँछन् । उनीहरू अहिले राजनीतिज्ञ, पूर्वप्रशासक, पूर्वराजदूतहरूलाई भेट गरिरहेका छन् । उनीहरूले व्यापारिक समुदायलाई पनि भेटेको बताइएको छ ।
पूर्वराजदूतहरू देव मुखर्जी, श्यामशरण र रञ्जित रे यतिबेला काठमाडौंको द्वारिका होटलमा बसेर भेटघाटमा व्यस्त छन् । उनीहरू शनिबार स्वदेश फर्कंदै छन् । निजी भ्रमणमा आएकाले अनौपचारिक छलफल भएको भेटेर फर्कनेहरू बताउँछन् । संविधानपछिको अवस्था, वर्तमान सरकार र नेपाल–भारत सम्बन्ध लगायतको विषयमा उनीहरू गफिरहेका थिए, कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
नेपालको हिमाली क्षेत्रका प्रशंसक हुन्– तीनै पूर्वराजदूत । काठमाडौंमा रहँदा उनीहरूले नेपालको सौन्दर्यको प्रशंसा गरिरहन्थे । नेपालको विकास पर्यटन र ऊर्जा नै हो भन्दै आएका उनीहरू अहिले आफैं पर्यटकका रूपमा नेपाल आएका हुन् । दुनेबाट फोक्सुन्डो ताल हुँदै पुन: दुने नै फर्केका उनीहरू अधिकांश समय हिँडे । ‘लोअर डोल्पो सर्किट’ मा उनीहरूले ट्रेक गरेका हुन् । अप्रिल ९ मा काठमाडौं आएका उनीहरू दुई दिनपछि यात्रा सुरु गरेका थिए । नेपाल आएको जानकारी परराष्ट्र मन्त्रालयलाई रहेको भए पनि उनीहरूको चाहनाअनुसार गोप्य राखिदिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया