मारिनुअघि केहि दिनयता तनावमा थिए शरद गौचन

काठमाडौँ, २४ असोज- एक वर्षअघि महानगरीय प्रहरी अपराध महाशाखामा पुग्दा शरदकुमार गौचन ठेक्कापट्टामा गुन्डागर्दीको प्रयोग हुनेबारे चिन्तित देखिन्थे । ठेक्कामा दलीय संरक्षणमा हुर्किएका गुन्डाले भाग (पैसा) मागेर हैरान गर्ने गरेको गुनासो गर्थे गौचन । ठेक्कापट्टा गर्नेहरूबीच प्रभुत्व जमाउन खोज्नेले आफूलाई दुःख दिने गरेको गुनासो गौचनको थियो ।त्यतिबेलै प्रहरीले सहजै अनुमान लगाएको थियो, गौचन ठेक्कामा लाग्ने गुन्डा समूहबाट ‘थ्रेट’ मा थिए । उनी त्यसपछि प्रहरीमा अक्सर पुगेनन् । काठमाडौं जिल्ला अदालतको नयाँ भवन र राष्ट्रिय नाचघर गौचन संस्थापक रहेको डाँफे कन्स्ट्रक्सनले निर्माण गरेको थियो । करोडौं कारोबार गर्दै आएका गौचनसँग ठेक्कापट्टाकै एउटा समूहले ठूलै आर्थिक ‘डिल’ गरेको र नदिएपछि हत्या गरेको आशंका प्रहरीको छ ।व्यस्त सडकमा दिनदहाडै गोली प्रहार गरी हत्या गरिएका गौचनको पारिवारिक पृष्ठभूमि केलाउन प्रहरीले सुरु गरेको छ । गौचनको योजनाबद्ध ढंगले हत्या गरिएको दाबीसहित प्रहरीले उनले प्रयोग गर्ने फोनको कलडिटेलमाथि समेत अनुसन्धान गर्ने भएको छ । ‘गौचन सवार गाडी, अगाडिको सिटमै बसेको जानकारी लिन आपराधिक समूहले गौचनको लामो समयदेखि रेकी गरेर योजनाबद्ध ढंगले गोली प्रहार गरेको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘पारिवारिक स्रोतले जानकारी दिएअनुसार गौचन केही दिनदेखि तनावमा देखिन्थे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?