काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजारले आज भने उकालो लागेको छ । सेयर बजार बढ्दा लगानीकर्ताहरुलाई केही राहत मिलेको छ ।
सेयर बजार बढे पनि कारोबार रकममा भने भारी गिरावट आएको छ । लगानीकर्ताहरु होल्डमा बस्दा कारोबार रकममा भारी गिरावट आएको हो ।
आज सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ४१.८४ अंकले बढेर २६१२.६५ बिन्दुमा पुगेको छ । आज नेप्से १.६३ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ७.०४ अंकले बढेर ४९२.०२ बिन्दुमा पुगेको छ ।

आज कुल २२३ कम्पनीको जम्मा ५८ लाख ४२ हजार १३५ कित्ता सेयर खरिदबिक्री भएको छ । कम सेयर खरिदबिक्री हुँदा २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ रुपैयाँको मात्र कारोबार भएको छ ।
आज कुल १३ उपसमूहमध्ये १२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी एउटा समूहको सेयर मूल्य घटेको छ । आज व्यापार समूहको सेयर मूल्य घटेको हो ।
आज फाइनान्स समूहको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
यता एनआईसी एसिया लघुवित्तको सेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्यमा लाभांशको प्रभाव देखिएको हो । कम्पनीले आज मात्र गत आर्थिक वर्ष २०७७/७८ को लागि ५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । अपेक्षा गरिएभन्दा धेरै कम लाभांश प्रस्ताव गरेपछि कम्पनीको सेयर मूल्यमा नकारात्मक प्रभाव परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया