किन बन्न छोडे एक्सन जानराका फिल्म ?

काठमाडौं । केही दशक यता हेर्ने हो भने कमेडी फिल्मको ओइरो लागेको छ । तर, कमेडीमध्येका पनि केही फिल्मबाहेक अरु फिल्मले साह्रै अत्यास लाग्दो व्यापार गरे । त्यसो त पछिल्ला केही वर्ष कमेडी फिल्मको साउने बाढी नै आएको छ । भटाभट कमेडी फिल्म बनिरहे पनि ती चलचित्र खासै सफल हुन सकेका छैनन् ।

कमेडीमय फिल्म बजार बनिरहेका बेला गत वर्ष ठूलो बजेटमा ‘ग्याङस्टार ब्लुज’, ‘कृ’ जस्ता फिल्म निर्माण भए तर यी फिल्मलाई पनि दर्शकले खासै साथ दिएनन् । बरु केही वर्षयताको फिल्म बजार हेर्ने हो भने, मौलिक फिल्म दर्शकको रोजाईमा परेजस्तो देखियो ।

विश्वभर नै एक्सन फिल्मले एउटा छुट्टै क्रेज सिर्जना गरिरहेको छ । छिमेकी देश भारतमा बन्ने स्टारका फिल्ममा पनि एक्सन फिल्मले नै आक्रामक व्यापार गरिरहेका हुन्छन् । पछिल्लो समय भारतीय फिल्म ‘बागी २’ ले पनि धमाकेदार कलेक्सन गरेको थियो । अझ दक्षिण भारतीय फिल्म उद्योग त एक्सनकै भरमा माथि उठिरहेको छ ।
नेपालमा भने एक्सन फिल्मले बजार बिस्तार गर्न सकेको छैनन् ।

युवा स्टार अनमोल केसी अभिनित चलचित्र ‘कृ’ लाई प्रतिक्षित फिल्मका रुपमा हेरिएको थियो । यसको एक्सन पक्षलाई त दर्शकले ठीकै नोटिस गरे तर फिल्मको कथावस्तु नै राम्रो नभएको प्रतिक्रिया आएपछि फिल्म खासै चलेन ।

फिल्मले न अनमोलको क्रेजको सीमालाई पूरा गर्न सक्यो, न त दर्शकबाट राम्रो प्रतिक्रिया पाउन नै सक्यो । उता एक्सन स्टार भनेर चिनिएका अभिनेता निखिल उप्रेतीका फिल्म पनि एकपछि अर्को गर्दै फ्लप छन् । सिंगल थिएटरका केही दर्शकले त अझै पनि उनका फिल्म हेरिरहेका छन् तर जुन मात्रामा पहिले उनको क्रेज थियो, त्यो अहिले देखिँदैन ।

लामो समयदेखि चलचित्रको समीक्षा र स्क्रिप्ट लेख्दै आइरहेका समीक्षक सामीप्यराज तिमल्सेनाले नेपाली फिल्मले एक्सन फिल्मको सवालमा दर्शकको रुचि पूरा गर्न नसकेको धारणा राख्छन् । ‘चार÷पाँच वर्षमा फिल्मको ट्रेन्ड जहाँ पनि चेन्ज भएको हुन्छ, नेपालमा केही वर्षयता कमेडी फिल्मको बजार छ, नेपालमा जुन किसिमको एक्सन हुन्थ्यो, त्यो एक्सनले अहिले दर्शकको चित्त बुझ्न छोड्यो’, उनी भन्छन्, ‘नेपाली दर्शकले टिभी तथा अन्य माध्यममा साउथ इन्डियन फिल्म, हलिउड फिल्मका धमाकेदार एक्सन हेरेका हुन्छन्, नेपालमा त्यो खालको एक्सन हुँदैन, त्यसैले पनि एक्सन फिल्मले बजार पाउन सकेका छैनन् ।’

निर्देशकले दर्शकले सोचेभन्दा बढ्ता एक्सन नेपाली फिल्ममा देखाउन सके भने फिल्मले सजिलै दर्शक पाउने उनी बताउँछन् । ‘जुन खालको एक्सन लेभल दर्शकले हेरिरहेका छन्, त्योभन्दा कमजोर एक्सनले दर्शकको ध्यान तान्न सकिन्न ।’, तिमल्सेना भन्छन् । 

यतिबेला फिल्म ‘चंगाचेट’ को शूटिङमा व्यस्त लेखक तथा निर्देशक दीपेन्द्र के. खनालले अहिले निर्माण भइरहेको समाजका कारणले एक्सन फिल्मभन्दा कमेडी फिल्म मन पराएको धारणा राख्छन् । उनी स्वयम् अहिले कमेडी फिल्म निर्देशन गरिरहेका छन् ।

‘दर्शकको फिल्मप्रतिको मनोविज्ञान पनि समाज अनुसार परिवर्तन हुँदोरहेछ, अहिले नेपाली राजनीतिमा स्थिर देखिन खोजेको र आशालाग्दो छ, शायद यही कारण दर्शक कमेडी फिल्ममा रमाउन खोज्नुभएको हो’, उनी भन्छन्, ‘एक्सन फिल्म भन्नबित्तिकै अलिकति सेन्टीमेन्टमा जान्छ, जुन कुरा दर्शकलाई अहिले खासै रुचिको विषय लागेको छैन ।’

लामो समयदेखि द्वन्द्व निर्देशन गरेका द्वन्द्व निर्देशक हिमाल केसीले फिल्मको धार बिस्तारै परिवर्तन हुने बताउँछन् । कुनै जमानामा एक्सनले नै फिल्म धान्ने गरेको तर अहिले नयाँ आउने कलाकार नै कमेडी र लभ स्टोरी सुहाउँदा भएकाले एक्सन त्यति नफाकेको उनी बताउँछन् । 

‘फिल्म ‘कृ’ मा अनमोल केसीले केही नयाँपन दिन खोजेका थिए, दर्शकले औसत प्रतिक्रिया दिनुभयो, यतिबेला एक्सन फिल्मको बजार घटेको छ’, केसी भन्छन्, ‘फिल्ममा एक्सन भनेको नेपालमा मात्र हैन, विश्वभर नै मुख्य हो, यस्ता फिल्मको बजार विश्वव्यापी छ, अहिले नयाँ कलाकार नै एक्सन फिल्मका लागि सुहाउँदा नआएको र फिल्मको कथा पनि त्यही अनुसार तयार भएकाले एक्सन ओझेलमा परेजस्तो देखिएको हो ।’

हिजोको समयमा विराज भट्ट, निखिल उप्रेती, राजेश हमाल, शिव श्रेष्ठ लगायतका स्टारले जुन किसिमले दर्शकलाई एक्सनमा होल्ड गर्ने गरेका थिए, नयाँ कलाकारमा त्यो नपाइएको केसी बताउँछन् । ‘यो अहिलेको ट्रेन्ड हो, केही समयपछि एक्सन फिल्म पनि दर्शकको रोजाईमा पर्छन्, यो चक्रजस्तै हो ।’, केसी भन्छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?