कांग्रेस १४औँ महाधिवेशन : निधि, शशांक र प्रकाशमानले जोगाउलान् त विरासत ?

कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा आन्तरिक सरगर्मी पनि बढ्दै छ ।

यद्यपि बडा दशैँले छोप्नै लागेकाले दशैँअघि नै भने कांग्रेसको सबै तल्ला तहका अधिवेशन नहुने भएको छ । कतिपय जिल्लामा जिल्ला अधिवेशन सकिएर नेतृत्व समेत चयन भइसकेको छ भने केही जिल्लामा वडा अधिवेशन समेत हुन सकेको छैन । दशैँअघि हिमाली २१ वटा जिल्लामध्ये १९ वटा जिल्लामा जिल्ला अधिवेशन सक्ने कांग्रेसको तयारी छ ।

कांग्रेस केन्द्रीय महाधिवेश आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनमा हालका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच नै प्रतिस्पर्धा हुनेछ ।

महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा ऐतिहासिक, पारिवारिक विरासत बोकेका कांग्रेस संस्थापक नेताहरू वीपी कोइरालापुत्र डा. शशांक कोइराला, गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधिपुत्र बिमलेन्द्र निधि पनि पार्टी सभापतिमा उम्मेदवार बन्ने बताउँदै आएका छन् । तर उनीहरूबीच पटक–पटक छलफल भए पनि एउटै साझा उम्मेदवारबारे सहमति हुन सकेको छैन ।

डा. शशांक र प्रकाशमान वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । स्वयम् पौडेल पनि सभापतिका आकांक्षी हुन् । विमलेन्द्रले भने लामो समय देउवालाई साथ दिएर अहिले सभापतिमा उम्मेदवारीको घोषणा गरेर देउवाबाट टाढिइसकेका छन् । कांग्रेसमा नेतृत्व पुस्तान्तरणको कुरा उठे पनि डा. शशांक, प्रकाशमान र विमलेन्द्र निधि यी तीन नेताबीचको सभापति बन्ने, कसले कसलाई छोड्ने भन्ने सहमति बन्न सकेको छैन् । आज यी तीन जना नेताबीच छलफल भए पनि को उम्मेदवार बन्ने भन्ने टुंगो लगाउन सकेनन् । यी तीनै जना नेता पार्टी नेतृत्वमा देउवालाई रोक्ने प्रयासमा छन् । तर देउवालाई रोक्ने कसरी भन्ने कुरा टुंगो लागेको छैन । उनीहरूले रणनीति पनि बनाएका छैनन् ।

देउवा, पौडेल, डा. शशांक, प्रकाशमान विमलेन्द्रलगायतले सभापतिमा आकांक्षा देखाउँदा कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङ र गोपालमान श्रेष्ठले पनि सभापतिमा निर्वाचन लड्ने बताउँदै आएका छन् ।

कांग्रेस नेताहरू कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा धेरै जनाले प्रतिस्पर्धा गर्न खोज्नु सुन्दर पक्ष भएको र त्यसले कांग्रेसको आन्तरिक राजनीतिलाई झन् बलियो बनाउने बताउँछन् ।

भेटघाटले देउवा र पौडेल सशंकित

विमलेन्द्र, शशांक र प्रकाशमानबीचको भेटले देउवा र पौडेललाई भने सशंकित बनाएको छ । निधिले आफ्नो उम्मेदवारी अन्तिमसम्म कायम राखे त्यसले देउवालाई घाटा लाग्छ भने शशांक र प्रकाशमानबीच सहमति भएर दुईमध्ये एक जना सभापतिमा उठ्ने भए भने त्यसले पौडेललाई झन् ठूलो घाटा लाग्नेछ । किनकि विमलेन्द्र विगतमा देउवानिकट भएकाले उनले देउवाको भोट काट्न सक्नेछन् ।

त्यस्तै शशांक र प्रकाशमानबीच सहमति भएर एक जना उम्मेदवार बनेमा पौडेल संकटमा पर्नेछन् । प्रतिस्पर्धाका हिसाबले त फरक नपर्ला तर आफूपक्षका नेता नै उम्मेदवार बन्दा पौडेको मत प्रभावित हुनेछ ।

विमलेन्द्र, शशांक र प्रकाशमान पारिवारिक विरासत जोगाउन लाग्छन् या अरुलाई सघाउँछन् भन्ने अझै उनीहरूले स्पष्ट पारेका छैनन् । एक कांग्रेस नेताका अनुसार सबैजना आफूअनुकूलको परिस्थिति हेरेर उम्मेदवारी दिने दाउमा छन् । विमलेन्द्र, शशांक र प्रकाशमानको निरन्तरको भेटघाटलाई कांग्रेसमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?