दक्षिण र उत्तर कोरियाबीच शिखर वार्ता शुरू

सन १९५३ को युद्धपछि विभाजित दक्षिण र उत्तर कोरियाबीच ऐतिहासिक शिखर वार्ता शुरू भएको छ । दुर्इ कोरियाको गैरसैनिक क्षेत्रमा भर्इरहेको वार्ताबाट प्रायदीपका यी मुलुकबीच युद्ध अन्त्य भएको औपचारिक घोषणालगायतका विषयमा ऐतिहासिक निर्णय हुने अपेक्षा गरिएको छ ।

समाचार संस्था रोयटर्ससँग कुरा गर्दै उत्तर कोरियाली नेता किम जोङ्ग अनुले शान्तीको अपेक्षा गरिरहेकाहरूको भावनालार्इ सम्मान गर्न आजै एक सम्झौता हुनसक्ने बताएका छन् । 
वार्ताका लागि उत्तर कोरियाका नेता किम शुक्रबार बिहान दक्षिण कोरिया पुगेका छन् । दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम पहिलो उत्तर कोरियाली नेता बनेका छन् । सन् १९५३ मा कोरियाली युद्धपछि उत्तर कोरियाको नेताले दक्षिण कोरियामा पाइला टेकेको यो पहिलो पटक हो ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जे(इनले वार्ता शुरू हुनुअघि दुई देशबीचको सीमामा किमलाई स्वागत गरेका थिए । सो क्रममा दुवै नेताले एकअर्कासँग हात मिलाएका थिए । एएफपीका अनुसार मुनले किमसँग ‘तपाईंलाई भेट्न पाउँदा म खुसी छु,’ भनेका थिए । यसैगरी, सिमा क्षेत्रमा परम्परागत कोरियाली सम्मान गारद अर्पण र दुई देशको राष्ट्रिय गान घन्कार्इएको थियो ।

सन् १९५३ मा कोरिया युद्धपछि दक्षिण र उत्तरको रुपमा कोरिया बिभाजित भएको थियो । सो युद्ध अन्त्य भए पनि दुई देशबीच कटुतापूर्ण सम्बन्ध थियो । दक्षिण कोरियालार्इ अमेरिका र युरोपेली लगायत पश्चिमा मुलुकहरूले सघाइरहेका छन् भने उत्तर कोरियालार्इ रूस, चीन र इरान लगायतका मुलुकले साथ दिर्इरहेका छन् ।

 यो ऐतिहासिक भेटवार्ताप्रति विश्वको चासो उत्तर कोरियामाथि छ । यसलाई ऐतिहासिक भेट भनिदैछ र, यसले ६ दशकदेखि विभाजित कोरियाली प्रायदीपमा शान्ति ल्याउन सक्ने विश्वास गरिएको छ । 
यो वार्ताको परिणामले यो पुस्ताको सबैभन्दा महत्वपूर्ण वार्ताको रुपमा बताइएको किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेट निर्धारण हुनेछ । उनीहरु बीचमा मे वा जुनको शुरुमा भेट हुनेछ ।

वार्ताको भव्य तयारी

किमले दुई देशलाई छुट्याउने रङ्गाइएको ‘मिलिटरी डेमार्केशन लाइन’ पार गरिसकेका छन्। उनी स्थानीय समयको विहान ९:३० (नेपाली समय ५:१५ विहान) मा गैरसैनिक क्षेत्रको दक्षिण भागमा जाँदैछन् । त्यसलाई करोडौँले प्रत्यक्ष प्रशारण मार्फत हेर्नेछन् ।

त्यहाँ उनले राष्ट्रपति मूनलाई भेट्नेछन् । त्यसपछि दुईले गैर सैनिक क्षेत्रमा रहेका ‘सम्झौता गाँउ’मा रहेको ‘पिस हाउस’ भनिने सभा हलमा छोटो यात्रा गर्नेछन् । 

दक्षिण कोरियाले धेरैको नजर हुने यो वार्ताको तयारीमा कुनै कसर छाडेको छैन । उनीहरु भेट्ने कोठालाई दुई देशको सम्बन्धका धेरै संकेतहरु राखेर डिजाइन गरिएको छ ।
खाजाको लागि ब्रेक पछि किम र मूनले एक धुपीको बिरुवालाई दक्षिण कोरियाको माउण्ट हल्ला र उत्तर कोरियाको माउण्ट बेइक्दुबाट ल्याइएको माटो प्रयोग गरेर रोप्नेछन् । दिनभर विभिन्न चरणमा दुई देशको गुण भएका उपहार आदानप्रदान हुनेछ ।

वार्तामार्फत अपेक्षा

वार्ताका मुख्य तीन विषय छन् स् कोरियाली प्रायद्विपको आणविक निसशस्त्रीकरण, द्विपक्षिय सम्बन्धमा सुधार र आधिकारिक शान्ति सम्झौता । कोरियाली प्रायद्विपमा सन् १९५० देखि १९५३ भएको युद्ध सन् १९५३ मा भएको शान्तिवार्ता पछि रोकिएको थियो । तर कुनै सम्झौता नभएकाले प्राविधिकरुपमा हाल पनि दुबै देश युद्धमा रहेको मानिन्छ ।

यस वार्ताको सबैभन्दा जटिल मुद्धा भनेको उत्तर कोरियाको आणविक कार्यक्रम हुनेछ । किमले उनको बुवा वा हजुरबुवाले भन्दा धेरै मिसाइल परिक्षण सञ्चालन गरिसकेका छन् । उनले आफुसँग अमेरिकाको मुलभूमीसम्म मार हान्न सक्ने लामो दुरी मिसाइल भएको दावी गरिरहेका छन् ।

अघिल्लो हप्ता राष्ट्रपति मूनले उत्तर कोरियाले आणविक निशस्त्रिकरणको लागि दक्षिण कोरियामा तैनाथ रहेका अमेरिकी सेना हटाउनु पर्ने धेरै पहिलेदेखिको सर्त त्यागेको भनेका छन् । र, शनिबार किमले आफूले आणविक क्षमता परिक्षण रोक्ने बताए ।

तर विश्लेषकहरुले यी नरमतालाई शंकाको नजरले हेरेका छन् । उनीहरुले आणविक निसशस्त्रीकरण वार्ताको सबैभन्दा जटिल मुद्दा हुने बताउदै किम आफ्नो आणविक हतियार त्याग्न साँच्चै तयार नदेखिएको बताएका छन् ।

र, यदी उत्तर कोरियाले आणविक निसशस्त्रिकरण गर्न मान्यो भने पनि पश्चिमलाई उसँग कतिवटा आणविक हतियार छ र ति कहाँ छ भन्ने थाहा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?