काठमाडौँ- नेपालको राजकीय भ्रमणमा आउने दिन नजिकिँदै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अर्को छिमेकी राष्ट्र चीन भ्रमणमा निस्किएका छन् । चीनको हुपै प्रान्तको उ हान सहरमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शुक्रबार उनको औपचारिक भेटवार्ता हुँदै छ । मोदी र सीबीच नवौंपटक भेटवार्ता हुन लागेको हो ।
सन् २०१५ मे १५ मा चीन र भारतले सहमतिबिनै लिपु भञ्ज्याङ भएर नाका खोल्ने सम्झौता गरेपछि झस्किएको नेपालले मोदी–सी भेटलाई चासोका साथ हेरिरहेको छ । दुईदिने चीन भ्रमणबाट फर्केको ११ दिनपछि मोदी काठमाडौं आउँदै छन् । तिब्बती शरणार्थीका विषयमा भारत चीनका पक्षमा देखिँदै गर्दा मोदीको भ्रमण भएको हो । नेपालमा रहने र हुने गरेको तिब्बती गतिविधिको विषय त्यहाँ उठ्न सक्ने आकलन नेपाली कूटनीतिज्ञले गरेका छन् |
कान्तिपुर दैनिक अगाडी लेख्छ- चीन हेर्ने उत्तरपूर्वी महाशाखा र भारत हेर्ने दक्षिण एसिया महाशाखा दुवैले मोदीको भ्रमणलाई चासोका साथ हेरिरहेका छन् । परराष्ट्रले दिल्ली र बेइजिङमा रहेको दूतावासलाई पनि यसमा चनाखो हुन आग्रह गरेको छ । नेपालले मोदी र सी चीनफिङको वार्तालाई नजिकबाट नियालिरहेको एक अधिकारीले बताए । दुवै नेता सत्तामा आएपछि सन् २०१४ यता पटक पटक भएका भेटवार्तामा नेपाल छलफलको बुँदा बन्ने गरेकाले पनि नेपाली पक्ष चनाखो बनेको हो । सन् २०१४ जुलाई १४ मा उनीहरूबीच ब्राजिलमा पहिलो भेट हुँदा समेत नेपालको राजनीतिक विषयमाथि छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया