कांग्रेस जिल्ला सभापतिमा क-कसले मारे बाजी ?

८ जिल्ला नेतृत्व चयन हुँदा देउवा र पौडेल पक्ष बराबरी

काठमाडौं– नेपाली कांग्रेसको जिल्ला अधिवेशनको परिणाम धमाधम आउन थालेका छन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन भइरहेको हो ।

हालसम्म रामेछाप, संखुवासभा, मनाङ, मुस्ताङ, रुकुम–पूर्व, हुम्ला, ताप्लेजुङ र कालिकोट गरी ८ जिल्लाको परिणाम प्राप्त भएको छ ।

जसमा संखुवासभा, मुस्ताङ, रुकुम–पूर्व र कालिकोट गरी ४ जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल निकट सभापति उम्मेदवार विजयी भएका छन् । त्यसैगरी मनाङ, ताप्लेजङ, हुम्ला र रामेछापमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पक्षले जितेको छ ।

कांग्रेस संखुवासभाको सभापतिमा दिपक खड्का निर्वाचित भएका छन् । पूर्वमन्त्री समेत रहेका खड्काले देउवा पक्षका राइमान राईलाई पराजित गरेका हुन् ।

त्यसैगरी मुस्ताङमा पौडेल पक्षकै रोमी गौचन थकाली सर्वसम्मत भएका छन् । उनी पनि पूर्वमन्त्री हुन् । कालिकोटको जिल्ला सभापतिमा पौडेल पक्षकै अम्मबहादुर शाही सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी कांग्रेस रुकुम–पूर्वको सभापतिमा पौडेल पक्षका केशरमान रोका आएका छन् । उनी यसअघि पनि सभापति नै थिए ।

उता देउवा पक्षबाट मनाङको सभापतिमा शंकर गुरुङ सर्वसममत निर्वाचित भएका छन् ।
त्यस्तै ताप्लेजुङको सभापतिमा देउवा निकट गजेन्द्रप्रसाद तुम्याहाङ निर्वाचित भएका छन् । तुम्याहाङले पार्टीका पूर्वसचिवसमेत रहेका छविलाल गुरुङलाई पराजित गरेका हुन् ।

हुम्लामा देउवा पक्षकै मोहनविक्रम सिंह जिल्ला सभापति चयन भएका छन् । रामेछापको सभापतिमा देउवा पक्षकै पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । कांग्रेसको १४औं महाधिवेशन आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुँदैछ  ।

त्यसमा हिमाली २१ वटा जिल्लामध्ये १९ वटा जिल्लामा दशैँअघि नै जिल्ला अधिवेशन सक्ने कांग्रेसको तयारी छ । त्यसैअनुसार ८ जिल्लामा नयाँ नेतृत्व चयनको काम सकिएको छ । जसमा ४ जिल्लामा पौडेल र ४ जना देउवा पक्षकाले जिल्ला सभापतिमा बाजी मारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?