काठमाडौं । दशैँ नजिकिँदै गर्दा अधिकांश दिनका लागि हवाई टिकट बुकिङ भइसकेका छन् ।
दशैँको यात्राका लागि अधिकांश सस्ता टिकटहरू बुकिङ भइसकेका हुन् । हवाई कम्पनीका अनुसार दशैँका लागि ७० प्रतिशतभन्दा बढी टिकट बुकिङ भइसकेका छन् । एक-दुई दिनभित्र सबै टिकट बुकिङ हुने अवस्था छ ।
नियमित उडानका टिकट सकिन थालेपछि हवाई कम्पनीहरूले थप उडान भर्ने तयारी गरेका छन् । सामान्यतया चाडबाडका बेला सामान्य अवस्थाका तुलनामा बढी भीडभाड र टिकटको माग बढी हुने गर्छ । तर यो वर्ष भने अघिल्ला वर्षहरूमा जस्तो चाप नभएको एयरलाइन्स कम्पनीहरूले जनाएका छन् ।
बुद्ध एयरलाइन्स
बुद्ध तथा एती एयरलाइन्सले टिकट बुकिङ सकिन थालेपछि थप उडान भर्ने तयारी गरेका हुन् ।
‘दशैँका लागि ७० प्रतिशत टिकट बुकिङ भइसकेका छन्’, बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने, ‘एक-दुई दिनमा बाँकी सबै टिकटको बुकिङ समेत सकिँदै छ ।’
सबै टिकटको बुकिङ सकिएपछि थप उडान गर्ने विषयमा समेत छलफल भइरहेको उनले बताए । ‘नागरिक उड्डयन प्राधिकरणसँग छलफल भइरहेको छ’, कर्णले भने ।

बुद्ध एयरले अहिले दैनिक १ सय ४० उडान भर्दै आएको छ । जसमा ७ हजारदेखि ८ हजारको हाराहारीमा मानिसहरू यात्रा गरिहेका छन् ।
त्यस्तै, ६ महिनादेखि नेपालमै बसोबास गर्दै आएका विदेशीहरूको हकमा बुद्ध एयरले रेसिडेन्सियल (आवासीय) हवाई भाडादर सस्तो बनाएको छ ।
यसअघि रेसिडेन्सियल भाडादर नेपाली भाडादरको १.७५ गुणा बढी थियो । अब नेपाली भाडादर वाइ क्लास बराबरको भाडा तिरी बुद्ध एयरका हरेक गन्तव्यमा यात्रा गर्नसक्ने बुद्ध एयरलाइन्सले जनाएको छ ।
यती एयरलाइन्स
त्यसैगरी, यति एयरका पनि अधिकांश टिकटहरू बुकिङ भइसकेका छन् । दशैँका लागि यतिका ६० प्रतिशतको हाराहारीमा टिक बुकिङ भइसकेको एयरलाइन्सले जनाएको छ ।
‘यतिका ६० प्रतिशतको हाराहारीमा टिकट बुकिङ भइसकेका छन्’, यति एयर लाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाले भने । लकडाउनका कारण अघिल्ला वर्षहरूको तुलनामा जस्तो टिकटका लागि मारामारको अवस्था नभएको उनले बताए ।

कोरोना संक्रमणका कारण उपत्यकाका केहीबाहेक अधिकांश स्कुलहरूले अनलाइनमार्फत नै अध्ययन अध्यापन गराइरहेकाले उपत्यकाबाहिर बसेर पनि आफ्ना छोराछोरीलाई अध्ययन अध्यापन गराइरहेका छन् । जसका कारण अघिल्ला वर्षहरूमा जस्तो भीडभाड नभएको हो ।
त्यति मात्रै होइन, अनलाइनबाट टिकट काट्ने व्यवस्था भएका कारण पनि बढी चाप नदेखिएको प्रवक्ता बर्ताैलाले बताए । त्यस्तै, एयरलाइन्स कम्पनीहरूले ठूला र बढी क्षमताका जहाजहरू सञ्चालनमा ल्याएका कारण पनि त्यति बढी चाप नभएको हो ।

समान्यतयाः अन्य समयको तुलनामा दशैँमा भीडभाड तथा माग बढी हुनु स्वभाविक नै हो । भीडभाड बढ्ने भएपछि दशैँलाई मध्यनजर गर्दै एयरलाइन्स कम्पनीहरूले उडान थपेका हुन् । यतीले दैनिक २१ उडान गर्दै आएकामा तीनवटा उडान थप गरी अहिले २४ पुर्याएको छ ।
श्री एयरलाइन्स
श्री एयरलाइन्सले यात्रुको चापलाई मध्यनजर गर्दै उडान थप गर्ने तयारी गरेको छ । श्रीले दैनिक रुपमा नेपालगञ्ज र धनगढीमा ३-३, विराटनगरमा ४, भैरहवा र भद्रपुरमा २-२ उडान तथा जनकपुर र सिमरामा १-१ गरेर १६ उडान भर्दै आएको छ ।

गुण एयरलाइन्स
गुण एयरलाइन्सले पनि दशैँ तथा तिहारलाई लक्षित गर्दै सेवा सुरु गरेको छ । गुणले असोज १ गतेदेखि नियमित उडान सुरु गरेको हो । यस एयरलाइन्स कम्पनीले ८ वर्षपछि पुनः आफ्नो उडान सुरु गरेको हो । गुणले भरतपुर, जनकपुर, पोखरा, विराटनगर, नेपालगञ्ज, सिमरा र सुर्खेतलगायतका स्थानमा उडान भर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया