दाइजोको कथामा बनेको ‘भोर’ फिल्म हेरेर नेताहरुले भने, ‘हेर्नैपर्ने फिल्म’

काठमाडौं । 'झोला' निर्देशक यादव भट्टराईको दोस्रो निर्देशकीय सिनेमा 'भोर' आगामी बैशाख २१ गते देखि अल नेपाल रिलिज हुदैछ । 'भोर' तराई मधेसमा ठुलो समस्याको रुपमा जरा गाडेर बसेको दाइजो प्रथाको कथा हो । निर्देशक भट्टराईले यसलाई जस्ताको त्यस्तै सिनेमाको पर्दामा उतारेको बताउँछन् ।

यहि सिनेमाको मंगलबार काठमाडौंस्थित जय नेपाल हलमा राजनितिकर्मी, मानव अधिकारकर्मी, सिनेमाकर्मी र सञ्चारकर्मीमाझ विशेष शोको आयोजना गरियो । 'भोर' हेर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राजेन्द्र महत्तो, राजकिशोर यादव, लिलामणी पौडेल, हिसिला यमी, बृन्दा पाण्डे लगायतका नेताहरु हल पुगेका थिए । सिनेमा हेरेर हलबाट निस्कदै गर्दा अधिकांश दर्शक तथा मानव अधिकारकर्मी आँखा रसाएका थिए ।

हलबाट निस्कँदै गर्दा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले 'भोर' एकदमै राम्रो बनेको र यसले तराईको विद्यमान दाइजो प्रथा प्रति चोटिलो तर्क प्रस्तुत गरेकोले पनि यो सिनेमा एकपटक सवैले हेर्नै पर्ने बताए । साथै अब सवै जना मिलेर दाइजो प्रथा उन्मुलन तर्फ लाग्नु पर्ने बताए ।

यस्तै मधेशी नेता राजेन्द्र महत्तोले भने सिनेमा राम्रो बनेको छ । अहिलेको अवस्थामा तराई केही मात्रामा दाईजो प्रथा कम भएको भए पनि पूर्ण रुपमा हटिनसकेको बताए । अब सरकार, मानवअधिकारकर्मी, समाजीक अभियान्ता सबै जना मिलेर दाइजो लिने र दिने दुवैलाई कानुनी दायरामा ल्याउनु पर्ने बताए ।

'भोर' हेरेपछि निर्देशक यादव भट्टराई, कलाकार डली सरकार, राम नारायण ठाकुर र पूजा कर्ण बधाईका पात्र बने । राज तिमिल्सिना र राम गोपाल थापाले निर्माण गरेको सिनेमाका कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुवेदी छन् । कृष्ण धरावासीको कथामा तयार सिनेमालाई उज्जल ढकालले सम्पादन गरेका छन् । राम नारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झा लगायतका फिल्ममा मुख्य भुमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?