काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले परिवर्तनका लागि महात्मा गान्धीको अहिंसा र शान्तिको बाटोको अरु विकल्प नरहेको बताएका छन् ।
गान्धी जयन्ती एवं अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आज महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको लोकतन्त्रको स्थायित्वका लागि शान्ति विषयक कार्यक्रममा उनले विसं २०६२/६३ को आन्दोलन पनि अहिंसा र शान्तिकै बाटोबाट सफल भई देशमा अहिलेको परिवर्तन सम्भव भएको बताए ।
विसं २०७४ को निर्वाचनमा अहिलेको व्यवस्थाप्रति प्रतिबद्ध नभएका दलले बहुमत पाएकैले देश अहिलेको अवस्थामा पुगेको उल्लेख गर्दै उपसभापति निधिले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी पार्टीको नीति र कार्यक्रम तय हुने जानकारी दिए ।
“सरकार गठन भएको ८१ दिनसम्म पनि मन्त्रिमण्डलले पूर्णता नपाउनु कांग्रेस, गठबन्धन दल र देशकै लागि चिन्ताको विषय हो, ढिला भयो, अब मन्त्रिमण्डलले छिटो गरी पूर्णता पाउनुपर्छ”, उनले भने । अहिंसा एवं शान्तिका माध्यमबाट भारतमा स्वतन्त्रता, भारतीय सुरक्षा प्रणाली बलियो बनाउन र आर्थिक विकास गर्नसमेत नेपालको सहयोग रहेको उल्लेख गर्नुहुँदै नेता निधिले भारतबाट पनि त्यस्तै सहयोगको अपेक्षा राखेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया