काठमाडौं । साहित्यकार डा.नवराज लम्सालद्वारा लिखित ‘अग्नि’ महाकाव्य लोकार्पण गरिएको छ ।
शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा आहुति, डा. रामप्रसाद ज्ञवाली र डा. गीता त्रिपाठीले संयुक्त रुपमा महाकाव्यको लोकार्पण गरेका हुन् ।
कार्यक्रममा बोल्दै आहुतीले डा. लम्सालद्वारा लिखित महाकाव्यले नेपाली समाजमा रहेको विकृति, विसङ्गति र जातीय व्यवस्था परिवर्तनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले दलित समुदाय नेपाली इतिहासको प्रथम प्राविधिक वा वैज्ञानिक रहे पनि जात व्यवस्थाले त्यसको सही मूल्याङ्कन हुन नसकेको बताए ।
पुस्तकबारे बोल्दै डा. रामप्रसाद ज्ञवालीले वि.सं. २०५० को दशकयता नेपाली साहित्यमा लेखिएका तीन सयभन्दा बढी महाकाव्यमध्ये ‘अग्नि’ सबैले पढ्नै पर्ने विषय र पात्रमाथि लेखिएको उल्लेखनीय महाकाव्य भएको बताए । त्यस्तै डा. गीता त्रिपाठीले अग्नि महाकाव्यमार्फत नेपाली समाजको चरित्र, उत्पीडन र विभेदको कथा मौलिक ढङ्गले प्रस्तुत गरिएको भन्दै लेखकको प्रशंसा गरिन् ।
साहित्यकार डा. लम्सालले अग्नि यसअघि लेखिएका दुई वटा महाकाव्य कर्ण र धराभन्दा भिन्न विषयवस्तुमा रहेको बताए । उनले अग्नि महाकाव्यमार्फत् विशेष गरी जातको आधारमा हुने छुवाछुत र सनातन उत्पीडनको लामो कथालाई उजागर गरेको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया