‘ब्ल्याक’: भिएफएक्समै फिल्मको आधा बजेट खर्च

पछिल्लो समय नेपाली फिल्मको स्तर फेरिँदो छ । दर्शकको आकर्षण बढ्दो छ । २१ औँ सताब्दीमा आइपुग्दा विश्व बजारमा प्रविधिले मारेको फड्कोबाट नेपाली फिल्म क्षेत्रपनि अछुतो छैन् । त्यसैले त वलिउड हलिउडमा जस्तै विभिन्न नयाँ नयाँ प्रयोगहरु नेपाली फिल्ममा पनि हुँदै आएका छन् । जसको पछिल्लो उदाहरण फिल्म ‘ब्ल्याक’ बन्दैछ ।

जेठ ११ बाट दर्शकमाझ आउँदै गरेको फिल्म निर्माण चरणको अनुभव सुनाउँदै निर्देशक प्रदिप श्रेष्ठ भन्छन्, ‘फ्लोरमा जति खर्च र मेहनत गरियो, त्यो भन्दा बढि त प्रविधिसँग जुध्नुपर्यो, फिल्ममा समावेश विभिन्न दृश्यलाई भिएफएक्स गर्न मात्रै करिब १ बर्ष लाग्यो ।’ उनका अनुसार फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा जाँदै गर्दा पनि नेपाली फिल्मको स्तर यहाँसम्म पुग्यो भन्ने परिचय दिनेगरी बीना कुनै कन्जुस्याइँ भिएफएक्समा लगानी र समय खर्चिएको छ ।

निर्देशक श्रेष्ठको कुरालाई पछिल्लो पटक रिलिज उक्त फिल्मको एक गीत ‘पल पल हरपल’मा समावेश भिएफएक्सको पाटोले पनि थप  पुष्टि गर्छ । उक्त गीतमा दर्शकले प्राकृतिक मान्ने गरी दुरुस्तै देखिने प्रकारले थुप्रै दृश्य भिएफएक्सको माध्यमबाट ‘नेचुरल’ देखाइएको छ ।

जुनजुन कुरा पछिल्लो समय विदेशि फिल्महरुमा हामी देख्दै आएका छौँ, छायाँकनलाई असम्भव तर पर्दामा प्राकृतिक देखिने दृश्य नेपाली फिल्ममा पनि प्रयोग गर्न र देखाउन सकिन्छ भनेरै केहि नविनतम प्रयोगलाई उच्च प्राथमिकतामा साथ ‘ब्ल्याक’मा जोड्न लागेका हौँ, श्रेष्ठले भने, ‘भिएफएक्सकै कारण छायाँकनदेखि पोष्ट प्रोडक्सनसम्मको समय लम्बियो फिल्मको आधाजस्तो बजेटको हिस्सा यसले मात्रै रिजर्भ गरेको छ ।’ समिर मियाले गरेको भिएफएक्समा दर्शकले प्राकृतिक लाग्ने सौन्दर्य देख्न पाउने श्रेष्ठको दाबी छ ।

 निर्देशक श्रेष्ठको कुरालाई सत्य मान्दा फिल्मबाट दर्शकले धेरै कुरा नयाँ देख्न पाउनेछन् । मौनता श्रेष्ठको कथामा तयार भएको‘ ब्ल्याक’मा कोरियोग्राफी रामजी लामिछानेको छ भने छायाँकन रामशरण उप्रेतीले गरेका छन् । आश्मा पाण्डेको निर्माणमा बनेको फिल्ममा आकाश श्रेष्ठ आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लिड अभिनयमा छन् । 

द्वन्द्व चन्द्र पन्तको रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । उपत्यकामा गोविन्द शाही र मोफसलमा उज्जल पौडेल, मनोज राठीले  ‘ब्ल्याक’लाई वितरणको जिम्मा लिएका छन् । भिएफएक्समा समिरसँग श्रीकृष्ण श्रेष्ठले साझेदारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?