माओवादीहरु एक हुनुपर्छ भन्ने प्रचण्डको तर्कमा बाबुरामको आपत्ति

लोकपथ
611
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वमाओवादीहरु एकै ठाउँमा आउनेकुरा भावनात्मक कुरा मात्रै भएको टिप्पणी गर्नुभयो ।

शुक्रबार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह विमोचन कार्यक्रममा बोल्दै बाबुरामले पूर्वमाओवादी एकठाउँमा आउने भन्दापनि नयाँ विचार र संगठनको आवश्यकता रहेको औँल्याए । पूर्व माओवादीहरु एकै ठाउँमा नभई नयाँ ठाउँमा आवद्ध हुनुपर्ने उनको भनाई छ ।

सोही कार्यक्रममा उपस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छरिएर रहेका माओवादीहरु एकै समूहमा हुनुपर्नेमा जोड दिएका थिए ।

उनले भने– ‘भावनाको हदसम्म साथीहरुले भनेको कुरा सहि छ । तर त्यो भावनाले ज्ञान र विज्ञानमा पनि त परिणत गर्नुप¥यो । विवेकसँग ज्ञानमा पनि बदल्नुप-यो । त्यो भनेको नयाँ विचार हो । नयाँ विचार सँगसँगै पार्टीको पनि नयाँ संगठन, नयाँ ढाँचा हो । त्यसैले त्यसमा पहिले बहस छलफल गरौँ । अनि त्यसको आधारमा हामी मात्रै भएर मात्रै पनि त पुग्दैन । नयाँ जनसंख्या आयो, तिनलाई समेट्नु परेन ? हामीले हिजोका मात्रै गला मिलाएर बस्छौ भनेर हुन्छ ? सही विचार, नीति, कार्यक्रम र योजनाको आधारमा फेरी नयाँ ढंगले चाहीँ हामी अगाडी बढौँ । सबै पूर्वमाओवादी एकै ठाउँ आँउ भन्ने होईन, सबै पूर्वमाओवादीहरु नयाँ ठाउँमा जाँऊ भन्नुप¥यो क्या । नयाँ ठाउँमा गएपछि त्यसले चाहीँ यो देशको मात्रै होईन विश्व मानव जातिकै निम्ति योगदान गर्न सक्छ ।’

अध्यक्ष भट्टराईले केपी ओलीले गरेको प्रतिगमन परास्त भएपनि प्रतिगमनको नयाँ संस्करण आउनसक्ने बताए । अर्लि इलेक्शनको नाममा पुनः कांग्रेस र एमालेलाई अगाडी ल्याउने र माओवादीलगायतका मधेश जनजाति आन्दोलनबाट आएको उपलब्धीलाई उल्ट्याउने प्रयत्न भइरहेको उनले बताए । उनले भने– ‘प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु । दोस्रो संस्करण नयाँ ढंगले आउँदैछ । अर्लि इलेक्शनको नाममा फेरी उही पुरानै कांग्रेस र ओलीको एमालेलाई अगाडी ल्याउने र बाँकी माओवादी, मधेश आन्दोलन, जनजाति आन्दोलन लगायतको जुन पछिल्ला आन्दोलनको जगमा यो संविधान बन्यो त्यसलाई संवैधानिक ढंगले संसद भित्रैबाट त्यसलाई उल्ट्याइदिने प्रयत्न फेरीपनि दोस्रो संस्करणको रुपमा आउँदैछ । अग्रगामी शक्तिहरु प्रतिगमनका विरुद्ध एक हुने, सहकार्य गर्ने, आवश्यक परे चुनावी तालमेल पनि गर्ने र भोली गएर बहस, छलफल गरेर फेरी एकै ठाउँमा आउने यो सम्भव छ ।’

अध्यक्ष भट्टराईले अग्रगामी शक्तिहरु प्रतिगमनको विरुद्ध एक हुनुपर्ने र आवश्यकता अनुसार चुनावी तालमेलसम्म गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?