हामी अझ परिष्कृत लोकपथ लिएर आयौं

लोकतन्त्र दिवस (वैशाख ११) को अवसर पारेर  नेपाली भाषाको अनलाइन समाचार पोर्टल लोकपथ डटकम (http://www.lokpath.com)  थप परिष्कृत र  परिमार्जन गर्दै नयाँ लेआउटका साथ पाठकमाझ आएको छ ।

गत भदौबाट निरन्तर सञ्चालनमा आएको लोकपथलाई छोटो समयमै पाठक वर्गले देखाएको विश्वास र मायाबाट हौसिएर हामी थप जिम्मेवार बोध गर्दै परिष्कृत र नयाँ साजसज्जाका साथ आएका हौं ।

लोकतान्त्रिक व्यवस्था र लोकतान्त्रिक राज्यमा लोक अर्थात् जनता सबैभन्दा माथि हुन्छन् । सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक लगायत जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने यावत् पक्ष लोकपथका प्राथमिकताका विषय हुन् ।  शुरुदेखि नै हामीले पाठकको चासो, गुनासो, इच्छा र सरोकारलाई समेट्दै पाठककै निकट रहेर सम्बोधन गर्ने प्रयास गर्‍यौं ।

पाठकसँगै निकट रहेर समाजमा रहेका विकृति र विसङ्गतिको चिरफार गर्दै सभ्य, सुसंस्कृत तथा समतामूलक समाज निर्माण गरी समग्र देशलाई नै आर्थिक समृद्धिको दिशामा अग्रसर गराउन एउटा गतिशील पुल बन्ने उद्देश्यले इंन्की क्वील इन्टरनेसनल प्रा.लि. मार्फत लोकपथ डटकम प्रकाशनमा आएको हो ।

संविधानसभाबाट संविधान निर्माण भई देशले नयाँ सरकार पाएको तर एउटा स्पष्ट  दिशा नपाइसकेको अवस्थामा जनताको समृद्धिको चाहनामा हातेमालो गर्दै लोकपथ समृद्धि, विकास र स्थायित्वको पक्षमा थप दृढ भएर उभिनेछ । सँगसँगै वामपन्थी सरकारले आर्थिक समृद्धि, सुशासन र पारदर्शितामा जोड दिने प्रतिबद्धता जनाउनु सकारात्मक हुँदाहुँदै पनि यसको कार्यान्वयन कसरी हुन्छ भन्नेमा जनतामा तीव्र चासो छ । समग्र राज्यप्रणाली परिवर्तनमा भ्रष्टाचार, कमिसन, सिन्डिकेट र घुसखोरी बाधक भएको कहीँकतै छिपेको छैन । यस्तो बेला चुनौतीलाई पर्गेल्दै सुशासन कायम गर्नु राज्यको दायित्व हो नै । साथै लोकपथले ‘वाच डग’ को भूमिकामा सुशासन र समृद्धिको लागि  आफ्नो कलम तिखो बनाइराख्नेछ । 

जनताकै पदचाप पछ्याउँदै जनतासँगै निकट रहेर पत्रकारिता गर्ने एकमात्र मिसन भएको लोकपथको आगामी यात्रा उति सहज छैन भन्नेमा हामी प्रष्ट छौं । बजारमा अनगिन्ती अनलाइन सञ्चारमाध्यम रहेको अवस्थामा हामीसामु धेरै चुनौती हुनु स्वभाविक हो । तर, उडान भर्न ‘इन्जिन स्टार्ट’ गरिसकेका हामी गन्तव्यमा पुगेर छाड्ने आत्मविस्वासका साथ आएका हौं र अविचलित भएर लागिरहने छौं ।

हामी संख्यात्मक वृद्धिका लागि मात्रै होइन, समाज र जनताप्रति जिम्मेवारी बोध गर्दै अगाडि बढ्ने प्रणका साथ मालिकको नभई पत्रकारकै कलम र मसीले निर्देशित समाचार जन्माउने  अठोटका साथ अगाडि बढ्नेछौं । लोकतन्त्रमा जनता सर्वेसर्वा भएजस्तै लोकपथमा पनि लोकका चाहना र आकांक्षालाई प्राथमिकतामा पारी पाठकले औंला नउठाउने गरी जिम्मेवारीपूर्वक पत्रकारिताको यात्रामा सहभागी हुने प्रतिबद्धता दोहार्‍याउन चाहन्छौं । लोकपथको आजसम्मको यात्रामा जस्तै भविष्यमा पनि स्वतन्त्र समाचारको उत्पादनका साथै आम, पाठक, दर्शक, स्रोतामा उत्पादित समाचार नै सम्प्रेषण गर्नु प्रमुख दायित्व रहने छ  ।

नेपाली मिडिया क्षेत्रमा प्राप्त गरेको ज्ञान र सीपको सदुपयोग गर्दै पत्रकारकै लगानीमा लोकपथ सञ्चालनमा आएको हो । मिडियामा पछिल्लो समय लगानीका विषयमा यदाकदा प्रश्न उठ्ने गरेको सन्दर्भमा हामीले यो पनि प्रष्ट पार्न चाहेका हौं ।

सत्य, तथ्य र निष्पक्ष समाचारको खेतीमा जुटेका हामीलाई छोटो समयमा पाठक तथा शुचेच्छुकबाट जुन माया प्राप्त भइरहेको छ, आगामी दिनमा थप मायासँगै उचित सल्लाह तथा सुझावको पनि अपेक्षा गरेका छौं । सत्य समाचारको पक्षधरता र स्वतन्त्र पत्रकारिता गर्ने हाम्रो अठोटमा  पाठक, विज्ञापनदाता र शुभेच्छुकले निरन्तर साथ दिनुहुनेछ भन्नेमा हामी  ढुक्क छौं ।

रमेश जम्कटेल
अध्यक्ष, इंकी क्वील इन्टरनेशनल
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?