यसकारण प्रचण्ड लड्ने कि आत्महत्या गर्ने विकल्पमा पुगे

अवसरवादी पतन भए

लोकपथ
338
Shares

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दा आफू तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्पमा पुगेको स्मरण गरेका छन् ।

पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै दाहालले आफूले लड्ने विकल्प रोजेको र त्यसमा विजयी भएको बताए । सत्ताबाट सडकमा पुग्दा कार्यकर्ताले सहयोग गर्ने हुन कि होइन भन्ने अवस्थामा आफूहरू पुसको चिसोमा पनि सडकमा गएको दाहालले बताए । निकै भाबुक रुपमा प्रस्तुत भएका दाहालले पार्टीका सबै नेताहरुको सहयोगबाट फेरि लड्ने संकल्प गरेको र जेल जानुपर्छ भने जाने, मारिनुपर्छ भने पनि तयार हुने संकल्पबाट त्यतिबेला सडक आन्दोलन शुरु गरेको बताए । आफूहरुले निर्माण गरेको पार्टीका अध्यक्ष एवं तत्कालनि प्रधानमन्त्री ओलीले प्रतिगमनको काम गरेरका दाहालको भनाई थियो ।

पछिल्लो समय माओवादी नेताहरू बिग्रिन लागेको समेत दाहालको टिप्पणी थियो । उनले माओवादीमा बिस्तारै क्रान्तिकारी चरित्रमा ह्रास आएका बताए । उनले अवसरबादी र पटक पटक मन्त्री बनाएकाहरु पतन हुँदै गएका समेत बताए ।

पार्टीका कार्यकर्ता नबिग्रिएको तर शीर्ष स्थानमा रहेका नेतामा नै समस्या रहेको भन्दै अध्यक्ष दाहालले अब नयाँ सङ्कल्पसहित विगतको गलत अभ्यासबाट मुक्त भएर अगाडि बढ्ने सङ्कल्प आफूहरुले गरेको बताए ।

शहीद तथा बेपत्ता परिवारलाई थप एकीकृत बनाएर लैजाने तयारीमा आफू रहेको उल्लेख गर्दै उनले विगतको शहादतको उचित मूल्याङ्कन हुने स्पष्ट पारे। नेपाली जनताको अधिकारका लागि गरेको त्यागका आधारमा राजनीतिक अधिकार प्राप्त भए पनि शहीदको सपना भने पूर्णरूपमा प्राप्त हुन भने नसकेको उनले उल्लेख गरे।

माओवादी पनि अन्य राजनीतिक दल जस्तै भएको हो कि भने जस्तो भएको भन्दै अध्यक्ष दाहालले आफूले जो जसलाई मन्त्री बनाए उनीहरु नै गलत बाटोमा लाग्नु जस्तो विचित्र अरु केही नभएको बताए। विगतमा सङ्घर्षका लागि अग्रमोर्चामा जाने प्रतिस्पर्धा हुनेगरेको तर अहिले मन्त्री पाइएन, पद पाइएन भनेर रुवाबासी गर्ने प्रतिस्पर्धा चलेकामा उनले गुनासो गरे।

अध्यक्ष दाहालले अहिलेको गलत निर्वाचन प्रणालीका कारण जनताका प्रतिनिधिले कहिल्यै निर्वाचन जित्न नसक्ने अवस्था आएको भन्दै यसको परिवर्तन जरुरी भएको उल्लेख गरे । उनले अब पूर्ण समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको भन्दै त्यसका पक्षमा आफूहरु लाग्नेबित्तिकै गलत प्रणाली उल्ट्याउन सकिने विश्वास व्यक्त गरे।

अखिल (क्रान्तिकारी) का नेतालाई पार्टीको स्थायी समितिमा राख्ने प्रस्ताव आफैँ बुधबारको स्थायी समितिको बैठकमा राखेको र कम्युनिष्ट पार्टीको उत्तराधिकारीसमेत तयार भएको उनले बताए। उनले अब पार्टीको केन्द्रीय समितिमा २० प्रतिशत युवालाई सहभागी गराएरै छाड्ने दृढता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?