एक्लिँदै यातायात व्यवसायी, मजदुरले पनि साथ छोडे

काठमाडौँ, ६ बैशाख- सरकारले संशोधन गरी ल्याएको यातायात व्यवस्थापन निर्देशिका कार्यविधि खारेजीको माग गर्दै आन्दोलन थालेका यातायात व्यवसायीलाई मजदुरहरूले पनि साथ नदिने भएका छन् । यातायात मजदुरहरूले २०५१ देखि उठाउँदै आएको नियुक्तिपत्रदेखि सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने माग व्यवसायीले बेवास्ता गरेको तर सरकारको निर्देशिकाले सुनिश्चित गरेपछि मजदुररू उत्साहित बनेका हुन् । उनीहरूले हालै यातायात व्यवस्था विभागले ल्याएको संशोधित कार्यविधि निर्देशिका कार्यान्वयन हुनुपर्ने बताए ।“हामीले यातायात व्यवसायीहरूलाई धेरै लामो समयदेखि मजदुरको हितका लागि नियुक्ति पत्र र सामाजिक सुरक्षाको व्यवस्था गर्न भनेका थियौं,” नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भने, “व्यवसायीले हाम्रो माग सुनेनन् त्यसैले यातायात व्यवस्था विभागले हालै ल्याएको संशोधित यातायात व्यवस्था निर्देशिका कार्यविधि कार्यान्वयन हुनुपर्छ ।” यातायात व्यवसायीहरूले आन्दोलनका कार्याक्रम ल्याउनुपूर्व आफूहरूसँग कुनै छलफल नै नगरेको उनको भनाइ छ । “हामीले मिडिया तथा सामाजिक सञ्जालबाट आन्दोलन हुँदैछ भन्ने थाहा पायौं,” राईले भने, “सरकारी नियम कार्यान्वयन गरेर मजदुरको हित हुनेगरी व्यवसाय गर्ने वातावरण बनाउन सबैले पहल गर्नुपर्छ ।”नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैशाख २७ गतेदेखि सार्वजनिक यातायातका साधन बन्द गर्ने घोषणा गरेको छ । ५ वटा व्यवसायीहरूको संगठनका प्रतिनिधि राखेर महासंघले सरकारलाई यस्तो चेतावनी दिएका हुन् । नेपाल यातायत व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएन र ढुवानी यातायात महासंघले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका हुन्, कारोबार दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?