सर्वदलीय बैठक : संसद् चलाउने, एमाले फकाउने

लोकपथ
322
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपस्थितिबिना नै बिहीबार सर्वदलीय बैठक बसेको छ ।

आजको बैठकमा कुनै जानकारी बिनानै एमाले अनुपस्थित भएको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकमा एमाले वार्ता र संवादबाट पर भान्न खोजेको निष्कर्ष निकालेको प्रवक्ता कार्कीले बताए ।

‘उहाँहरु वार्ता र संवादबाट पर भाग्न खोजेको देखिन्छ । जुन कुरा अहिले मुलुकको आवश्यक्ताभन्दा भिन्न छ’, प्रवक्ता कार्कीले भने ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बैठकहरुमा एमालेलाई आग्रह गरेर आमन्त्रण गर्ने र संसद् अवरोध गरिरहेको एमालेले पनि आफ्ना कुरा राख्ने वातावरण बनाउने धारणा व्यक्त गरेको बताए ।

प्रधानमन्त्रीको भनाइलाई उद्रृत गर्दै उनले भने, ‘आजको बैठकमा प्रमुख प्रतिपक्षी दल अनुपस्थित भए पनि प्रधानमन्त्री ज्यूले आगामी बैठकमा आमन्त्रण गर्ने र उहाँहरु आइ आफ्नो कुरा राख्ने वातावरण बनाउछु भन्नुभएको छ ।’

केही दिनयता सरकारले संसद् अधिवेशन अन्त्य गर्न लागेको भन्ने हल्ला चलेपनि सरकार त्यस बाटोमा नरहेको प्रवक्ता कार्कीले स्पष्ट पारेका छन् । उनले अहिलेको समयमा संसद् आवश्यक रहेकोले सरकार त्यस्तो मनस्थितिमा नरहेको बताए । त्यसैगरी सदनलाई निर्बाध रुपमा सञ्चालन गर्नका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि अग्रसरता देखाउनुपर्नेमा जोड दिइएको उनको धारणा रहेको छ ।

 

‘संघीय संसदलाई निर्वाध र मर्यादित हिसावले अगाडी बढाउनका निमित्त प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र खास गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक भूमिका निर्वाह गर्नुहुन्छ भन्ने आजको बैठकको आवश्यक्ता रहेको छ’, कार्कीले भने ।

बैठकमा नेपाली कांग्रेसको तर्फबाट कांग्रेस सभापति र प्रधानमन्त्री शेरबहादुर देउवा, कानुनमन्त्री ज्ञानेन्द्र कार्की रहेका छन् । त्यस्तै माओवादी केन्द्रका तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ सहभागी भएका छन् ।

एकीकृत समाजवादीको तर्फबाट पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव बेदुराम भुसालको उपस्थिती रहेको छ । तर स्वास्थ्य समस्याका कारण अध्यक्ष माधवकुमार नेपाल भने अनुपस्थित रहेका थिए ।

त्यस्तै जनता समाजवादी पार्टीको तर्फबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी रहेका छन् भने लोकतान्त्रिक समाजवादीका तर्फबाट महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थिती रहेको छ । त्यस्तै जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र नेमकिपाका तर्फबाट प्रेम सुवालको उपस्थिती रहेको थियो ।

त्यसैगरी उक्त बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट समेत कुनै प्रतिनिधिको सहभागिता रहेको थिएन ।

हाल प्रतिनिधिसभामा ३३ वटा र राष्ट्रिय सभामा २७ वटा विधेयक रहेको छ । जनताको जीवनसँग जोडिएका विधेयकहरु एमालेको अवरोधका कारण छलफल हुन नसकेको उनको भनाइ रहेको छ ।

गत भदौ २३ गतेबाट प्रतिनिधिसभाको नवौँ अधिवेशन चलिरहेको छ । तर विभिन्न मागहरुसहित प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गरिहेको छ ।

संसद बैठकमा झमेला गरिरहेको एमालेसँग संवादका लागि सभामुखले अग्नि सापकोटाले बोलाएको बैठकमा समेत एमालेको अनुपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?