बलात्कृत बालिका न्यायको प्रतीक्षामा, आफन्त भन्छन् – ‘पीडक सुखी, हामी कति पीडामाथि पीडा खेप्ने ?’

धनगढी । कैलालीकी एक १३ वर्षीया बालिका गत वर्ष माघमा बलात्कृत भइन् ।

बलात्कृत भए पनि उनले डरका कारण कसैलाई पनि केही पनि भनिनन् । केही सातापछि उनको पेट दुख्न थाल्यो । अभिभावकले उनलाई उपचारका लागि नजिकैको क्लिनिकमा लगे । चेकजाँचबाट उनको पेटमा गर्भ रहेको पाइयो । अभिभावकले धेरै सोधपुछ गरेपछि बल्ल बालिकाले आफूमाथि छिमेकी कालुराम थारुले जबरजस्ती करणी गरेको खुलासा गरिन् ।

प्रहरीले बालिकामाथि बलात्कार गरेको आरोपमा बिसराम भनिने कालुराम थारुलाई पक्राउ गर्यो ।

कालुराम अहिले कैलाली जिल्ला अदालतको आदेशमा पूर्पक्षका लागि कैलाली कारागारमा बन्दी छन् । बालिकाका अभिभावकहरू चाड मनाउन बाहिर गएको बेला थारुले उनीमाथि बलात्कार गरेका थिए ।

बालिका बलात्कृत भएको नौ महिना पुग्न लागेको छ । बलात्कारसम्बन्धी मुद्दा फागुन ३ गते अदालतमा दायर भएको थियो । पीडित बालिकाको परिवार अदालतको फैसलाको प्रतिक्षामा छ । पीडित बालिकाका बुबाले भने, ‘हामीमाथि यत्रो पीडा दिने मान्छे मजासँग कारागारमा बसेको छ । हामीले अदालतमा बयान दिन बारम्बार धाउनु परिराखेको छ ।’

बालिकामाथि बलात्कारको मुद्दा अदालतमा दायर भएको आठ महिना भइसक्दा पनि फैसला नभएकोले उनको परिवार निकै खिन्न देखिन्छन् ।

कैलाली जिल्ला अदालतका अनुसार सो मुद्दाको पहिलो पेसी बैशाख ७ गते तोकिएको थियो । सो समयमा अदालतले विशेषज्ञसँग बुझन आदेश दिएको थियो । त्यसयता सो मुद्दाको पेसी तीन पटक सरिसकेको छ । गत असार २९ गते तोकिएको मुद्दाको पेसी कानुन व्यवसायी आउन नसक्ने भएपछि स्थगित गरेर साउन २७ गते तोकिएको थियो ।

तर, सो मितिमा बार एकाइको पत्रका कारण मुद्दाको पेसी फेरि साउन १६ गते तोकिएको थियो । त्यो दिन पनि इजलास नबसेका कारण पुनः असोज १९ गते तोकिएको छ । दोषीलाई छिटो कानुनअनुसार सजाय दिनुपर्ने पीडित परिवारको भनाइ छ ।

डीएनए परीक्षण भएन

ती बालिकामाथि बलात्कारको आरोपमा पक्राउ परेपछि पीडित परिवारले डीएनए परीक्षणको माग गरे । तर, अहिलेसम्म डीएनए परीक्षण भएको छैन । पीडक पक्षले सहमति नगरेका कारण अहिलेसम्म डीएनए परीक्षण हुन नसकेको बताइन्छ ।

पीडितकी आमाले भनिन्, ‘छोरीले बच्चा पनि जन्माइसकेकी छे । बच्चा र अभियुक्त कालुरामको डीएनए परक्षण गराउनु पर्यो भनेर बारम्बार माग गर्यौँ, तर कसैले पनि सुन्दैन ।’ अभियुक्तलाई उम्काउने प्रयास त भइराखेको छैन भन्ने उनको आशंका छ ।

नवजात शिशुको स्वास्थ्य अवस्था नाजुक बन्दै

बलात्कृत बालिकाले गत साउन २६ गते धनगढीस्थित एउटा नीजि अस्पतालमा छोरी जन्माएकी थिइन् ।

उनका आफन्तहरूका अनुसार नवजात शिशुको स्वास्थ्य दिनप्रतिदिन बिग्रिँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?