चाडवाडको मौका छोपेर सक्रिय हुँदै पकेटमार : यी हुन् कोडभाषा, यसरी जोगिनुहोस्

लोकपथ
8.7k
Shares

काठमाडौं – तपाईलाई थाहा छ ? सार्वजनिक सवारीमा लुटपाट गर्नेहरुले प्रहरीको जस्तै ‘कोड’ भाषामा कुरा गर्छन् । अरु मानिसहरुले आफ्नो चोरीको दाउ थाहा नपाउन् भनेर उनीहरुले ‘कोड ल्याङ्ग्वेज’ प्रयोग गरेकोबारे पक्कै पनि तपाईले सुन्नुभएको होला । सार्वजनिक सवारीमा, सार्वजनिक स्थानमा वा धेरै मानिस भएको भिडभाडयुक्त ठाउँमा लुटपाट गर्नेहरुले प्रहरीको जस्तै ‘कोड भाषा’ प्रयोग गरेर एकको कुरा दोस्रो वा समूहसम्म सञ्चार गर्छन् ।

पाकेटमारी घटनाबारे जानकारी दिँदै प्रहरी अधिकारी भन्छन्, ”सांकेतिक भाषा बुझ्न नसक्दा सार्वजनिक यातायातका साधानमा लुटपाट बढी हुने गरेको छ ।”

प्रहरीका अनुसार, यात्रुको भीडभाड भएको मौका छोपी तीन चारजनाको समूहमा रहेका लुटेराले योजनाबद्ध ढंगले लुटपाट गर्ने गर्छन् ।

सार्वजनिक सवारी बसभित्र वा माईक्रोमा एकजनाले धकेल्ने, अर्कोले अर्कोलाई ठेल्ने, अनि एकले अर्कोलाई नठेलम न हो भन्दै हात फुत्त झिकेर खल्तीबाट नगद र वालेट झिक्ने गर्छन् ।

प्रहरीका अनुसार, ”यात्रुको भीडभाड भएको मौका छोपी तीन चारजनाको समूहमा रहेका लुटेराले योजनाबद्ध ढंगले लुटपाट गर्ने गर्छन् । उनीहरु एउटा स्थानमा उभिएका हुन्छन् तर आँखा र हात भने सर्वसाधारणको झोला, गर्धनको सिक्री र पर्स थुत्न पुगेको हुन् । कतिपय पाकेटमारहरु पाकेट मार्न असफल भएपछि पैसा हराएको वा लुटिएको नाटक गर्छन् । ला ! मेरो त पैसा नै चोरी भो’ पाकेटमारले यसो भन्दै गर्दा सर्वसाधारणको ध्यान खल्ती हेर्न र छाम्न तिर जान्छ, त्यसपछि कोसँग कति पैसा छ भन्ने कुरा पाकेटमारले सजिलै चाल पाउँछन् ।”

उपत्यकामा सक्रिय पाकेटमार तथा लुटेराहरुले सर्वसाधारणको आँखा छल्न र प्रहरीबाट जोगिन कोड भाषा प्रयोग गर्ने गरेका हुन् ।

लुटेराका कतिपय भाषाप्रति प्रहरी समेत जानकार छैनन् । किनकी पकेटमारहरु भाषा बदलिरहन्छन् । कोड फेरिरहन्छन् ।

उनीहरुले अफिसमा कुरा गर्दा अरुहरुले सुन्ने गरी कोड भाषा प्रयोग गर्छन् । तर, सर्वसाधारणले बुझ्दैनन् । बुझ्ने चासो पनि दिँदैनन् ।

ठाँउ अनुसार भाषा फेर्छन् अपराधीहरु प्रहरी भन्छन्, ‘भाषाले नभएपनि उनीहरुको हाउभाउ र हेराइले पाकेटमार र लुटेरा ठ्याक्कै छुट्याउन सकिन्छ ।’

पाकेटमार समूहहरुबीच कुरा हुँदा यस्ता शब्दहरु प्रयोग हुन्छन् । सुन्नुभयो भने होशियार हुनुहोस् । पाकेटमारहरु तपाईकै वरपर हुन्छन् । लुटेराको भाषा नबुझेपनि लुटिनबाट जोगिन सकिन्छ ।

पाकेटमार तथा लुटेराहरुको ‘कोड भाषा र अर्थ’ यस्तो छ ।
मकै – पैसा भएको पर्स (वालेट)
टोक्नु – झिक्नु वा निकाल्नु
टिनुवा – पाकेटमार
खडी – लुटपाट गर्नु
घोप्टे – खुकुरी
चिसो – छुरी वा चक्कु
धु्रवदाई – पैसावाला मानिस
कान – मोबाइल
दस्ती तोड – पर्सबाट पैसा निकाल
दह – रुपैयाँ झिक वा निकाल
थान – एकहजारको नोट
गज – सयको नोट
सेतो आधा – पाँचसयको नोट
टिप्ली मास्टर– पाकेटमारको मुख्य नाइके
ढेक – पाकेटमार्दा छेकछाक गर्ने वा ठेलमठेल गर्ने
मामा –पुलिस
ठुले – सादा पोशाकको प्रहरी
लाटा – युनिफर्म लगाएको प्रहरी
मानबेचे – प्रहरी भ्यान
डे – केरकारको प्रहरी (सिआइडी)
टिप्स – मुद्रा (आफ्नो खल्तीको पैसा खसाली टिप्न भनी अरुको खल्तीबाट पैसा निकाल्ने)
निलचरी – आर्मी र सशस्त्र प्रहरी
बिरालो – सेतो भ्यान
पैसा – द
मोबाईल – कान
पकेटमारीपीडित – रामे
मुख्य पाकेटमार – काशी
पैसा धेरै – टानको दर
पैसा थोरै छ – जुटको दर
गाडी – काँचा
केटा – छापा
केटी – भद्री
पुलिस आयो – ठुल्दाई आयो
ड्राईभर – माम
खलासी – मले
गाडीबाट झरेर भाग (टप्की)
गाडीभित्र अगाडि सर – अकल जा
गाडीभित्र पछाडी सर – चिछल जा

प्रहरीलाई प्राप्त सूचना अनुसार काठमाडौंका ३ सय भन्दाबढी पकेटमार रहेका छन्। यिनीहरुमध्ये केही महिला पकेटमारहरु पनि छन्। विभिन्न र परिवर्तिट भेष र लुक्समा उनीहरुले पकेटमारी गर्ने गरेको प्रहरीको भनाई छ । यिमध्ये अधिकांशले बिहान ९ बजेदेखि ५ बजेसम्म मात्र पकेटमार गर्ने गरेको प्रहरीसामू बयान दिएका छन्। यो समय अफिस टाइम र मानिसहरु किनमेल गर्न निस्कने समय भएको कारण मानिसको चाप हुने र चोरी गर्दा थाहा नहुने भएका कारण यो समयमा सार्वजनिक यातायातमा सबैभन्दा धेरै पकेटमारीका घटना हुने गरेको छ । अझ नमज्जा लाग्ने तथ्य त के छ भने, यसरी प्रहरीको फन्दामा परेका पकेटमारमध्ये अधिकांश पकेटमार प्रहरीबाट छुटेपछि पुनः पकेटमारी नै गर्ने गरेका कारण यो समस्या विकराल बन्दै गईरहेको छ ।

सय जना भन्दा बढी पकेटमार पक्राउ
प्रहरीका अनुसार चाडवाड नजिकिएसँगै बढेको भीडभाडमा नगद र गरगहना लुटपाट हुने क्रम बढ्दो छ । केही दिनयता काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १ सय जना भन्दा धेरै पकेटमार प्रहरीको नियन्त्रणमा छन् । महानगरीय प्रहरी परिसर काठमाडौं र विभिन्न वृत्तबाट खटिएको टोलीले एक सय जनाभन्दा धेरै पकेटमार नियन्त्रणमा लिएको जानकारी दिँदै आम नागरिकलाई थप सतर्कता अपनाउन परिसरका एसपी रमेश बस्नेतले अनुरोध गरे।

प्रहरीले बढायो निगरानी
दशैँ नजिकिएसँगै बढेको भिडभाडका कारण विशेष निगरानीमा राखेर प्रहरीले संक्रियता बढाएको छ भने कतिपय स्थानलाई विशेष मार्क गर्नेगरी तयारी गरेको छ ।
उनी थप्छन्, एक सय जना भन्दाबढी पकेटमारलाई पक्राउ गरिसकेको छौँ। केही निगरानीमा छन् । प्रहरीले यस्तो भिडभाड, आर्थिक कारोबार हुने स्थान, सार्वजनिक सवारीमा सादा पोशाकमा प्रहरी समेत परिचालन गरिसकेको छ। बसपार्क, किनमेल हुने ठाउँ, सार्वजनिक सवारी साधनमा धेरै पकेटमार हुने गरेको कारण प्रहरीले त्यस्ता क्षेत्रमा सक्रियता बढाएको छ ।

कसरी जोगिने त ? प्रहरीको सुझाव यस्तो छ ।

– बढी पैसा वा बहुमुल्य सामान लिएर हिँड्नु पर्ने अवस्था आएमा साथीसँग हिँड्नुहोस् । सकेसम्म सार्वजनिक सवारी प्रयोग नगर्नुहोस्। गर्नेपरे अत्यन्तै सजग हुनुहोस् ।

– भीडभाड हुने क्षेत्रमा जाँदा वा किनमेल गर्दा आफ्नो पर्स ९व्याग० पाकेट आदिको विशेष ख्याल राख्नुहोस् । ह्याण्डब्यागको चेन वा लक गर्नुहोस् ।

– सार्वजनिक गाडीहरुमा चढ्दा बढी पैसा बोक्नु पर्ने भएमा पैसा भए जस्तो भान नगराउनुहोस् ।

– बढी भीडभाड भएको गाडीभित्र शंकास्पद व्यक्तिहरु तथा गाडीमा बढी हलचल गर्ने, कोड भाषा प्रयोग गर्ने समूहसँग सुरक्षित हुनुहोस् र उनीहरुलाई आफूले नै बढी निगरानीमा राख्नुहोस् ।

– हिँडडुल गर्न सहज र आफ्ना सामान सुरक्षित हुने पकेट भएको वस्त्र लगाउनुहोस् । मोबाईललाई पछाडि बोक्ने ब्यागको बाहिरि पकेटमा नराख्नुहोस् ।

एकातिर कोरोना महामारी अर्कोतिर पकेटमारीको डर, सकभर भिडभाडमा जाँदै नजानुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?