सेयर धितो कर्जाको सीमा र सीडी रेसियोको व्यवस्था तत्काल फिर्ता लिन लगानीकर्ताको माग

लोकपथ
42
Shares

काठमाडौं । सेयर लगानीकर्ता संघ नेपालले सेयर धितो कर्जाको सीमा र कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरेको छ।

संघले बुधबार एक विज्ञप्ति जारी गर्दै मौद्रिक नीतिमार्फत ल्याइएको सेयर धितो कर्जाको सीमा र सीडी रेसियो पनि फिर्ता लिन आग्रह गरेको हो।

देशको राजश्वमा महत्वपूर्ण योगदान गर्न सफल र करिब ४५ लाख हितग्राही खातासहित देशको जनसंख्याको ४० प्रतिशत हिस्सासँगै प्रत्यक्ष सरोकार राख्ने एकमात्र क्षेत्र सेयर बजारमा राष्ट्र बैंकको पछिल्लो मौद्रिक नीतिले पारेको नकारात्मक प्रभावप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघका अध्यक्ष उत्तम अर्यालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा विगतका गल्तीहरु नियामक निकायहरुबाट दोहोरिरहेमा नेपालको पुँजीबजारले नराम्रो क्षति व्यहोर्नुपर्ने स्पष्ट पारिएको छ।

साथै आमलगानीकर्तालाई हतोत्साहित नभई उच्च आत्मबलका साथ आफ्नो अमूल्य सेयर खरिदबिक्रीको निर्णय गर्दा अत्यन्त सोचविचार पुर्याउन पनि आग्रह गरिएको छ । संघले सेयर बजारलाई आफ्नै गतिमा चल्न दिन पनि आग्रह गरेको छ।

राष्ट्र बैकले साउन २९ गते मौद्रिक नीति जारी गर्दै सेयर धितो कर्जामा ४ करोड र १२ करोडकाे सीमाका लगाएको थियो । त्यसयता नेपाली सेयर बजारले गति लिन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?